कपालका लागि गुनकारी अदुवा

आइतबार, १० बैशाख २०७४, ०१ : ३१ शुक्रवार , Kathmandu
कपालका लागि गुनकारी अदुवा

कपाल झर्ने, कपालमा खोइरो आउने, टाउकोमा दाद आउनेलगायत समस्या समाधान गर्न अदुवाको रस प्रयोग गर्ने परम्परा छ । अदुवाबाट कपाललाई यस्ता लाभ मिल्छन्ः
कपाल छिटो बढाउँछ
पोलेको अदुवा पिसेर यसको रस कपालमा लगाउनाले कपाल चाँडो उम्रिन्छ । अदुवाको रसमा पाइने एन्टिफंगल गुणले कपाल चाँडो उमार्छ । साथै, सानैमा झर्ने कपाललाई बलियो बनाउँछ, जसले गर्दा कपाल बाक्लो हुन्छ ।
खोइरो हटाउँछ
चिकित्सा भाषामा एलोपेसिया एरियटा भन्नाले कपाल, दाह्री आदि ठाउँठाउँका कपाल झर्ने समस्या हो । अदुवाको रसमा लसुनको रस मिसाएर लगाउनाले खाली ठाउँमा कपाल आउँदै जान्छ । लसुन र लसुनको आधाजति अदुवालाई पिसेर रस निकाल्ने र कपाल झरेको ठाउँमा लगाउने । नरिवलको तेल, बदामको तेल आदिमा मिसाएर पनि यसलाई लगाउन सकिन्छ । रस राम्रोसँग सुकेपछि टाउको धुने गर्नाले खोइरो बिस्तारै हराउँदै जान्छ ।
नयाँ कपाल उमार्छ
अदुवा टाउकोमा लगाउँदा टाउकोमा रक्तसञ्चार तीव्र बन्न जान्छ । यसले गर्दा टाउकोका रोमछिद्र खुल्छन् र नयाँ कपाल पलाउने सम्भावना बढ्छ । यसका लागि बदामको तेलमा अदुवाको रस मिसाएर कपाल मसाज गर्ने र आधा घण्टापछि पानीले पखाल्ने गर्नुपर्छ ।
कन्डिसनरको काम गर्छ
अदुवालाई प्राकृतिक कन्डिसनर पनि भनिन्छ । नरिवलको तेलमा अदुवाको रस मिसाएर लगाउनाले कपालमा प्रोटिन कम हुन पाउँदैन । यसले कपाललाई बलियो र बाक्लो बनाउन मद्दत गर्छ । यसका लागि अदुवाको रसमा त्योभन्दा दोब्बर नरिवलको तेल मिसाई कपालमा लगाउने र आधा घण्टापछि पखाल्ने गर्नुपर्छ । कपाल चिलाउने समस्या पनि यसले कम गर्छ ।
चाया हटाउँछ
कपालमा ढुसी परेमा चाया देखा पर्छ । कपालमा कोषिकाहरूको मात्रा कम भएपछि चाया पर्छ । तोरीको तेल र कागतीको रसमा अदुवाको रस मिसाएर कपाल मसाज गर्ने र आधा घण्टामा पखाल्ने गर्नुपर्छ । सातामा तीनपटक यस्तो गरेमा चाया क्रमशः हराउँदै जान्छ ।
कपालको विकार हटाउँछ
कपालसम्बन्धी समस्या भएकाहरूको कपालमा एन्टिअक्सिडेन्टको मात्रा कम हुन्छ । एन्टिअक्सिडेन्टले कपालमा जम्मा भएका विकार हटाउने काम गर्छ । खोइरो लागेकाहरूको कपालमा यस्तो एन्टिअक्सिडेन्ट अझ कम हुन्छ, जसकारण कपाल पूरै झर्ने जोखिम रहन्छ । यस्तो समस्या कम गर्न गुलियो र अमिलो खानेकुरामा अदुवाको रस मिसाएर खाने गर्नुपर्छ । पानी, चिया, दूध र जुसमा अदुवाको रस हालेर पिउने गर्नाले कपालमा एन्टिअक्सिडेन्टको मात्रा बढ्छ र कपाल बलियो हुन्छ ।

 

Leave A Comment