तस्बिरको रहस्य

आइतबार, १० बैशाख २०७४, ०१ : २० शुक्रवार , Kathmandu
तस्बिरको रहस्य

माथि देखाइएको तस्बिर याद गर्नुभएको छ ? कतै देखे–देखे जस्तो पक्कै लागेको होला । यो त्यही तस्बिर हो जुन तपाईंले आफ्नो ल्यापटप वा डेक्सटपको मोनिटरमा पटक–पटक देख्नुभएको होला । विन्डोज एक्सपी चलाउने सबैको दिमागमा बस्ने तस्बिर हो, यो । किनकि, कम्प्युटर खुलेसँगै पहिला यही तस्बिर देख्न सकिन्छ । तर, यो तस्बिर वास्तविक हो वा काल्पनिक ? वास्तविक हो भने यो तस्बिर कसले खिचेको थियो ? यसको रहस्य यस्तो छः
सन् २००१ अगस्ट २४ गते माइक्रोसफ्टले विन्डोज एक्सपी अपरेटिङ सिस्टम सुरुवात गरेको थियो । माइक्रोसफ्टले यो तस्बिरलाई डिफल्ट तस्बिरका रूपमा राखेको थियो । जसले धेरै चर्चा पनि कमायो । आजकल प्रयोगकर्ताले डिस्प्ले आफू अनुकूल राखे पनि यो तस्बिर विश्वमै लोकप्रिय बनेको छ ।
यो तस्बिर अमेरिकाका प्रख्यात फोटोग्राफर चाल्र्स ओ रियरले खिचेका हुन् । सन् १९९६ जनवरी १ तारिखमा उनी काम विशेषले क्यालिफोर्निया हिँडेका थिए । यात्राकै क्रममा उनले सोनोमो कन्टीमा यो मनमोहक दृश्य देखेका थिए । त्यो बेला चाल्र्ससँग कुनै डीएसएलआर क्यामेरा थिएन । उनले सामान्य क्यामेराबाटै यो तस्बिर खिचे । चाल्र्सले यो दृश्यलाई चार पटक आफ्नो क्यामेरामा कैद गरे ।
सन् २००२ मा उनले एक टेलिभिजनसँगको कुराकानीमा यो तस्बिरको रहस्य खोलेका थिए । चाल्र्सको खुलासापछि धेरै मानिस सोनोमा कन्ट्री जान थाले । त्यहाँ गएर यस्तै प्रकारको तस्बिर खिच्ने प्रयास गर्थे पुग्नेहरू । तर, चाल्र्सले कैद गरेको दृश्य त्यसपछि कहिल्यै देखिएन ।
चाल्र्सले कहिले कल्पना पनि गरेका थिएनन् कि उनले खिचेको तस्बिर विश्वका अर्बभन्दा बढी मानिसले हेर्ने छन् । एक दिन उनले बिल गेट्सको इमेज लाइसेंसिङ सर्भिस कोर्बिसमा यही तस्बिर अपलोड गरेका थिए । यो तस्बिर बिल गेट्ससहित कम्पनीका अधिकारीले एकै पटकमा मन पराएका थिए । मन पराइसकेपछि तस्बिर किन्नका लागि चाल्र्ससँग सम्पर्क गरिएको थियो । यो तस्बिरको मूल्य चाल्र्सले धेरै राम्रो पाएको बताइएको छ । चाल्र्सले यसको रकमबारे भने केही बताएका छैनन् ।
–एजेन्सी

Leave A Comment