‘युवाले नै राजनीतिलाई सही ट्र्याकमा ल्याउने हो’

शनिबार, ०९ बैशाख २०७४, १२ : १७ रामकुमार डिसी , Kathmandu
‘युवाले नै राजनीतिलाई सही ट्र्याकमा ल्याउने हो’

हिमाल शर्मा
नेता, नेकपा (माओवादी केन्द्र)
बाग्लुङको सामान्य किसान परिवारमा २०२८ सालमा मेरो जन्म भएको हो । एसएलसीसम्म बाग्लुङमै पढेँ । त्यसपछिको पढाइ कहिले जेलमा त कहिले क्याम्पसमा पूरा गरेँ ।
त्यतिबेला पञ्चायतको बिगबिगी थियो । त्यसविरुद्ध शिक्षकहरू पनि आन्दोलन गर्नुहुन्थ्यो । हामीले पनि पोस्टर, पम्प्लेट टाँसेर आन्दोलनमा साथ दिने गथ्र्यौं । म ९÷१० कक्षामा पढ्दा प्रहरीले धेरै पटक गिरफ्तार ग¥यो । उमेर सानो हुँदाहुँदै पनि हामीलाई जेलमा राखिन्थ्यो । ६० दिन जेलमा लगेर राख्ने, फेरि छोड्ने गथ्र्यो । त्यसले गर्दा यो व्यवस्था नै बदल्नुपर्छ भन्ने दिमागमा आयो । पछि २०४६ मा बहुदल आयो । बहुदल आएपछि जेलमुक्त पनि भइयो ।
तर, बहुदलमा पनि त्यति राम्रो राजनीतिक स्वतन्त्रता पाइएन । म बहुदलमा पनि २०४८ सालमा जेल परेँ । मलगायत पाँच सयभन्दा बढीलाई मुद्दा लगाइयो । सर्वस्वसहित जन्मकैदको फैसला पनि सुनाइयो । २०५१ सालमा क्याबिनेटबाटै माफी दिने निर्णय भएपछि हामी जेलबाट छुट्यौँ । यसले गर्दा बहुदलीय व्यवस्था पनि ठीक लागेन । अन्ततः बहुदल पनि राजतन्त्रात्मक व्यवस्थाको एउटा कडीका रूपमा मात्रै देखियो । अधिकारजति सबै दरबारभित्रै रह्यो ।

त्यसपछि २०५२ सालमा जनयुद्ध सुरु भयो । म पनि सहभागी भएँ । विद्यार्थी मोर्चामा रहेर युद्धमा सामेल भइयो । भूमिगत पनि भइयो । त्यही बेला फेरि पक्राउ परियो । २७ महिनासम्म बेपत्ता पारे । पछि नख्खु जेलमा लगेर राखियो । २०६३ सालमा जेलमुक्त भएँ ।
मैले विद्यार्थी आन्दोलनमा झण्डै ३० वर्ष बिताएँ । सानो हुँदा नै वामपन्थी खेमाको अखिलमा लागेर पञ्चायतविरुद्ध संघर्ष गरियो । त्यो बेला विभिन्न तहमा रहेर नेतृत्व दिइयो । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति भएँ । अखिल (क्रान्तिकारी)को केन्द्रीय अध्यक्ष पनि भएँ । अहिले पार्टीको पोलिटब्युरो सदस्य छु ।
युवाहरू राजनीतिमा आउनैपर्छ । आफ्नो भविष्य अरूले बनाइदेला भनेर युवाहरूले सोच्नु हुन्न । आफ्नो भविष्य आफैँ बनाउन पनि युवा राजनीतिमा आउनुपर्छ । युवाहरूले नै छिटोभन्दा छिटो कुरा बुझ्न सक्छन् ।
राजनीति सफा भयो भने देश र राज्यव्यवस्था पनि सफा हुन्छ । देश सफल हुनु र असफल हुनुको कारण राजनीति नै हो । जति पनि सफल राष्ट्रहरू छन्, ती राजनीति सफल भएका कारणले सफल भएका छन् । असफल जति पनि भएका छन, ती पनि राजनीतिक कारणले भएका छन् । समृद्धि पनि राजनीतिसँग जोडिएको हुन्छ । गरिबी पनि राजनीतिसँग जोडिएको हुन्छ । त्यसैले राजनीतिलाई ठीक ट्र्याकमा ल्याउने दायित्व युवाहरूको हो ।
हामी अमेरिका, युरोपका कुरा गर्छौं । ती मुलुक पनि ठूलो राजनीतिक संघर्ष गरेर अहिलेको अवस्थामा आएका हुन् । राजनीतिलाई सही ट्र्याकमा ल्यायौँ भने हामी पनि नेपाललाई त्यस्तै देश बनाउन सक्छौँ ।
युवाहरू राजनीतिमा आइसकेपछि  हामी अघि बढ्नुपर्छ भन्ने बुझ्न जरुरी छ । अहिलेको परिर्वतन सजिलै आएको मान्छेहरूलाई लाग्न सक्छ । यसको ऐतिहासिक घटनाक्रमबारे पनि युवाहरूले बुझ्नुपर्छ । ठूलठूला राजनीतिक घटनाबाट गुज्रेर देश यो अवस्थामा आइपुगेको हो ।
राजनीतिक दलहरूले युवालाई ठाउँ दिँदैनन् । अलिकति खुलेर बोल्दा पछाडि परिन्छ कि ? कर्के नजरले नेताहरूले हेर्छन् कि भन्ने दब्बु मानसिकता युवाहरूमा कतिपय अवस्थामा आउँछ । यसबाट उनीहरू मुक्त हुनुपर्छ । प्रतिस्पर्धाको राजनीतिमा युवाहरूले दृढताका साथ अघि बढेर श्रेष्ठता हासिल गर्न सक्नुपर्छ ।
हाम्रा अग्रज नेताहरूले देशलाई यो अवस्थामा ल्याउनुभएको छ । यसलाई ‘फिनिसिङ’ गर्न उहाँहरूको पनि साथ चाहिन्छ । ‘तिमीहरूले छोड, हामी नेतृत्व गर्छांै’ भनिहाल्ने अवस्था छैन । मूल नेतृत्व हामी गर्छाैं भन्ने अवस्था अझै पनि छैन । तर, अग्रज नेतृत्वले युवाहरूलाई पनि साथमा लिएर जानुपर्छ । परम्परागत रूपमा मात्रै राजनीतिक दल, नेताहरू अघि बढ्न खोजेर हुन्न । उहाँहरूको सोच्ने तरिका अलिक पुरानो भइसकेको छ । उहाँहरूले आफ्नो सोच बदल्नुप¥यो । युवाहरूको चेतना, सोचलाई पनि सम्बोधन गर्नुप¥यो । अब यो कुरा अग्रज नेतृत्वले बुझ्न जरुरी छ ।
राजनीतिमा आउने युवा अध्ययनशील हुनुपर्छ । विषयवस्तुलाई ठीक ढंगले बुझ्ने पनि हुनुपर्छ । उनीहरूमा अलिकति सेवाभाव हुनुपर्छ । सामूहिक स्वार्थलाई ठूलो ठान्ने मानसिकता हुनुपर्छ ।
युवालाई नेतृत्वमा ल्याउनका लागि पाका नेताले कुन उमेरसम्म कार्यकारी भूमिकामा रहने भन्ने कुरा आउँछ । हाम्रो देशमा आफू बाँचुञ्जेल पद नछोड्ने संस्कार छ । यो रोगबाट नेपाली राजनीतिलाई मुक्त गर्नुपर्छ । बढीमा ६० वर्ष भइसकेपछि कार्यकारी भूमिकाबाट अलग भएर सहयोगी भूमिका निर्वाह गर्ने र अरूलाई नेतृत्वमा बढाउने गर्नुपर्छ ।
 

 

Leave A Comment