तित्राको मुखै बैरी

शनिबार, ०९ बैशाख २०७४, १२ : ०९ शुक्रवार , Kathmandu
तित्राको मुखै बैरी

फिल्ममा गरेको अभिनयका लागि करिश्मा मानन्धरले बिरलै चर्चा पाइन् तर फिल्म खेल्दा नपाएको चर्चा उनले नयाँ शक्ति पार्टीमा छिरेपछि पाएकी छिन् । उनको चर्चा त्यतिबेला चुलियो, जब उनले नयाँ शक्ति पार्टीको घोषणाको उद्घोषण गरिन् । घोषणासभामा उनको हाड नभएको जिब्रो यति लर्बरियो कि धेरै दिनसम्म उनको समाचार ट्रेन्डिङमा एक नम्बरमा रह्यो ।  

केही हप्ताअघि हिसिला यमीले प्रदर्शनका क्रममा ‘यो देश खारेज गर’ भन्ने नारा लगाइन् । मान्छेले यमीको खोइरो खने । उनले पत्रकार सम्मेलन गरेर आफूले अर्धचेत अवस्था र आवेशमा आएर उक्त नारा लगाएको सकारिन् । तर, करिश्मालाई चित्त बुझेन । यमीले आफैँ गलत बोलेको स्विकारिरहँदा पनि करिश्माले ‘दुश्मनले ट्रिक गरेर अभिव्यक्ति बंग्याइदिएको’ आरोप लगाइन् ।
हिन्दीमा भन्ने गरिएको ‘आदतका मारा’ झैँ हुँदाहुँदा करिश्मा हालसालै कुनै समयका उनका अभिन्न मित्र राजेश हमालसँग पनि भिड्न पुगिन् । हमालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई उचित सम्मान नदिएकोमा दुःख व्यक्त गर्दै लेखेको फेसबुक स्ट्याटसमा टिप्पणी गर्दै उनले देशको चिन्ता छ भने काठमाडौँको मेयर पदमा चुनाव लड्न राजेशलाई हाँक दिइन् । मेयरमा उठेर चुनाव नै जिते पनि भारतसँगको सम्बन्धमा के असर पर्छ ? करिश्मा नै जानून् । नत्र त बोल्नैनपर्ने ठाउँमा पनि करिश्माको टिप्पणी बुझिनसक्नु छ । तित्राको मुखै बैरी भनेझैँ जे बोले पनि विवाद हुने भएपछि करिश्मालाई किन बोलिरहनपर्ने होला ?

 

Leave A Comment