पत्रिका बिक्रेताका दुःख

बुधबार, ०६ बैशाख २०७४, ०३ : ०५ शुक्रवार , Kathmandu
पत्रिका बिक्रेताका दुःख

पत्रिका बेच्ने काम सजिलो छैन । घाम–पानी, जाडो–गर्मी, धुलोधुवाँ सबै खेपेर पाठकसम्म पत्रिका पुर्याउने पत्रिका बिक्रेताले शुक्रवारसँग आफ्ना दुःख पोखेका छन्।

शिशिर बडाल
मेलै काँधमा पत्रिका बोकेर बेच्दै हिँड्न थालेको १८ वर्ष भयो । मेरो आयआर्जनको बाटो नै यही हो । एक दिनमा ३ सय ५० देखि चार सय जनालाई पत्रिका बिक्री गर्छु । कहिलेकाहीँ एक खेपमा पत्रिका बोकेर हिँड्नै सकिँदैन । त्यस्तो बेलामा दुई खेप गरेर पत्रिका बिक्री गर्छु । पाठकको हातहातमा पत्रिका पु¥याउने हामीहरूको दुःख हेरिदिने कोही छैन । पत्रिकाहरूले मूल्य वृद्धि गरे पनि हामीले पाउने कमिसन बढेको छैन । हिजोआज पत्रिका पढ्ने ग्राहक घटेका छन् । जसले गर्दा आम्दानी पनि घटेको छ । पत्रिका बेचेर जीवन धान्न निकै गाह्रो छ । हामीलाई पत्रिका प्रकाशन गर्नेहरूले कुनै सहयोग गरेका छैनन् ।
गंगा घिमिरे
२०४८ साल फागुन १८ गतेदेखि पत्रिका बिक्री गर्ने काम गरिरहेको छु । बिहान चार बजे उठेर न्युरोडस्थित भूगोलपार्क आएर वितरकसँग पत्रिका लिएर भोटेबहाल, खिचापोखरी, पाको, न्युरोड, टेबहाल, भुसिको टोल, प्युखा, बटु, महाबौद्ध, भोटाहिटी, असन घुम्दै जमल निस्केर त्यहाँबाट फेरि ज्याठा, ग्वाबहाल, क्षेत्रपाटी, ठमेल घुम्दै सञ्चयकोष भवनअगाडि पुग्छु । त्यसपछि असन हुँदै साढे १० बजे वीर अस्पताल अगाडि पुगेपछि पत्रिका बाँड्ने काम सकिन्छ । दैनिक ४ सय ५० देखि पाँच सय जनासँग कुरा गर्दै पत्रिका बेच्ने काम सजिलो छैन । यो पेशामा नयाँ मानिस आएका छैनन् । यो निकै गाह्रो काम छ । पत्रिकामा एक थोपा पानी पर्यो भने पनि त्यो कसैले किन्दैनन् । जाडोमा कठांग्रिदै पत्रिका बेच्ने काम सजिलो छैन । हामीलाई हौसला दिने कोही छैनन् । पत्रिका प्रकाशन गर्ने कम्पनीहरूको नजरमा हामी पर्न सकेका छैनौँ । हरेक दिन हेडलाइन भट्याउँदै पत्रिका बेच्ने हामीहरूको महत्व बुझ्ने कोही छैन । हामी सीधा पाठकसँग सम्पर्कमा जाने र उनीहरूको प्रतिक्रिया पनि सुन्ने मानिस हौँ । हामीलाई वर्षौंदेखि उही २० प्रतिशत कमिसन दिएर अन्याय गरिएको छ । म हिँड्ने रुटमा म नहुँदा अरूले पत्रिका बिक्री नै गर्न नसक्ने अवस्था छ । व्यक्तिगत सम्बन्धको आधारमा हामी जोडबलले पत्रिका बेचिरहेका छौँ । पत्रिकाका पाठक दिन प्रतिदिन घटिरहेका छन् । जसले गर्दा हाम्रो आम्दानी पनि कम भइरहेको छ ।
मुकुन्द ढकाल
मैले पत्रिका बेच्ने काम गर्न थालेको २० वर्ष भइसक्यो । पत्रिकाको व्यापार दिन प्रतिदिन घटिरहेको छ । इन्टरनेटमा हेरेको समाचार पत्रिकाले छाप्छ भनेर पाठकहरूले गुनासो गर्छन् । पाठकसँग सीधा अन्तरक्रिया गर्न सक्ने हामीहरूलाई पत्रिका प्रकाशन गर्नेले थप सुविधा दिनुपर्छ । बिहान १० बजेभित्र पत्रिका पुर्याउन सकिएन भने कसैले पनि पत्रिका लिन मान्दैनन् । पत्रिका बेचेर आउने फाइदाले जीवन धान्न निकै कठिन भइरहेको छ ।
सीताराम खड्का
२० वर्षदेखि हातमा पत्रिका बोकेर बेच्दै हिँड्ने काम गरिरहेको छु । यो काम सजिलो छैन । पेट पाल्नलाई गर्नैपर्यो । १० रुपैयाँमा पत्रिका बेच्दा तीन रुपैँया बिक्रेतालाई आउने हुनुपर्यो । वर्षामा बर्सादी र जाडोमा न्यानो कपडा दिने व्यवस्था पत्रिकाहरूले मिलाउने हो भने हामीलाई निकै सजिलो हुने थियो ।
जुजुकाजी स्थापित
पत्रिका बेच्नै गाह्रो छ । सबैले मोबाइलमा हेरिसकेको समाचार छापेको भनेर पत्रिका किन्नै मान्दैनन् । पत्रिका नबिकेपछि कमाइ हुने कुरै भएन । पत्रिका बेचेर आउने कमिसन बढ्नुपर्यो । कहिले ग्राहकको हप्कीदप्की खेप्नुपर्छ त कहिले ठगिनुपर्छ । निःशुल्क पत्रिका पढेर एक हातले पछार्दैै हिँड्नेहरू हुन्छन् । सडकमा घाम, पानी, जाडो, गर्मी केही नभनी हिँडेर पत्रिका बेच्न निकै गाह्रो छ ।
बद्रीप्रसाद प्याकुरेल
मैले पत्रिका बेच्न थालेको ३५ वर्ष भयो । ‘नयाँ सन्देश’, ‘समीक्षा’जस्ता पत्रिका बेच्दै मैले यो काम सुरु गरेको हुँ । म सरकारी जागिरे हुँदा पनि पत्रिका बेच्थेँ । पहिला पत्रिका ल्याएर फोल्ड गर्नै भ्याइँदैनथ्यो । हातहातै पत्रिका बिक्थ्यो । अहिले पत्रिका बिक्दैन । पाका उमेरका मानिस मात्रै पत्रिका किन्न आउँछन् । मेरा पुराना ग्राहकले पत्रिका किनिदिने गरेकाले मात्रै सडकमा पत्रिका फिँजाएर बसिरहेको हुँ ।
दया निरौला
२३ वर्षदेखि चाबहिल चोकमा पत्रिका बिक्री गर्दै आइरहेको छु । अहिले पत्रिकाको व्यापार खस्केको छ । मोबाइलमा पढिसकेको समाचार पत्रिकामा कसले पढ्छ ? पत्रिका बेचेर आउने फाइदा पनि साह्रै कम भयो । दशौँ वर्षदेखि त्यही २० प्रतिशत कमिसनले कसरी यो पेशामा मानिस टिक्न सक्छन् ? पत्रिका प्रकाशन गर्नेहरूले यसतर्फ पनि विचार गर्नुपर्यो । पत्रिकामा पढ्ने सामग्री बढाउनुप¥यो ।
राम पौडेल
पत्रिका बेचेर धेरै दिन टिक्न सकिएला जस्तो छैन । बिक्री कम, नाफा पनि कम भएको पेशा गर्न गाह्रो छ । सडकपेटीमा घाम–पानी, जाडो–गर्मी, धुलोधुँवा केही नभनी पत्रिका बेच्ने हाम्रो समस्या सुनिदिने कोही छैन । हाम्रा कुरा पत्रिकाले कहिल्यै सुन्दैन ।
राजेश गजुरेल
युवाहरूले त पत्रिका किन्दै किन्दैनन् । पाका मानिसले अलि–अलि किन्ने गर्छन् । त्यही पनि दिनभर बसेर बेच्न पाइँदैन । सडकपेटीमा बसेको भनेर नगरपालिकाले उठाएर लाने गरेको छ । पत्रिका बेचेर आउने कमिसनले त केही गर्न पनि पुग्दैन । पत्रिकासँग किताब पनि बेच्ने गरेकाले गुजारा चलेको छ ।

Leave A Comment