‘रिपोर्टिङ’ गर्ने कि ‘र्यापोर्टिङ’ ?

बुधबार, ०६ बैशाख २०७४, ०१ : १८ शुक्रवार , Kathmandu
‘रिपोर्टिङ’ गर्ने कि ‘र्यापोर्टिङ’ ?

–एकराज पाठक

यतिखेर राजधानी काठमाडौँमा निजी विद्यालय नामको आतंक चुलिएको छ । यिनको आतंक देख्दा लाग्छ– यिनलाई देशले होइन, यिनले नै देश चलाइरहेका छन् । तर, यो नियमित आकस्मिकता भने होइन, निरन्तरता नै भइसकेको छ । बर्सेनि यसै सिजनमा जन्मिने मानवनिर्मित यो आतंकले हरेक चैत महिनाको अन्तिम हप्तादेखि वैशाखको पहिलो हप्ताको १५ दिनभित्रै अर्बाैं रुपैयाँको ब्रह्मलुट मच्चाउने गर्दछ । उही विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई नयाँ भर्नाको नाममा आतंक मच्चाई आफूलाई चाहिएजति पैसा उठाउँछन् ती विद्यालय । एकातर्फ देशमा निःशुल्क शिक्षाको नाममा सरकार र शिक्षामन्त्रीहरूले समाचार लेखाउँछन् र अर्कातर्फ ऋण लिएर छोराछोरी विद्यालय भर्ना गर्नुपर्ने आतंक पनि सरकार नै मच्चाउँछ ।

प्रसंग यति ठूलो आतंकको खबर अखबारमा कसरी छाउँछ भन्ने हो ।
जसरी आतंक नियमितता हो, त्यसै गरी समाचार पनि । तर, समाचार रिपोर्टिङका रूपमा होइन कि खबरका रूपमा मात्र आउँछ । जसरी दशैँ–तिहारको समयमा बजार अनुगमनको भन्दै आउँछ, त्यसरी नै आउँछ यो समाचार र यस वर्षका लागि बिदा भएर जान्छ । कानुनमा के छ भन्नेसम्म एक लाइन कतै आउँछ । तर, कुन विद्यालयले कानुन उल्लंघन गर्यो भन्ने कतै आउँदैन । कुन विद्यालयले कति रकम उठाइरहेको छ, शिक्षा अधिकारी के गर्दैछन्, अनुगमनको जिम्मेवारी कसको हो, किन हुन सकिरहेको छैन अनुगमन, कारबाही किन हुदैन, अभिभावकले कहाँ उजुरी गर्ने वा के गर्ने ? यी कुनै पनि विषयमा कतै समाचार आउँदैन । विद्यालयले आफूखुशी शुल्क लिइरहेका छन् भनेर मात्र समाचार आउँछ तर विद्यालयको नाम आउँदैन । नाम आयो भने विज्ञापन पाइँदैन होला । के भइरहेको छ रिपोर्टिङ हुदैन र के भइसक्यो भनेर यतिखेर राजधानी काठमाडौँमा निजी विद्यालय नामको आतंक चुलिएको छ । ‘र्यापोर्टिङ’मात्र हुन्छ । पत्रकारितामा रिपोर्टिङको परिभाषा अनुसारको समाचार आउनै छोड्यो । बरु घटनाको समापनपछि ‘र्यापोर्टिङ’चाहिँ राम्रोसँग हुने गरेको छ । त्यसैले यस पटक पनि ती ‘पाँचतारे स्कुल’ लाई कुनै घुनपुत्लो लाग्नेवाला छैन, सकुशल कुम्ल्याउनेलाई सघाउन बरु खोज्न नसकिएका हाम्रै समाचारको हात रहनेछ ।


गएको करिब तीन हप्ताअघिसम्म नेपालमा चीनको चासो निकै छाएको थियो । अधिकांश पत्रकारको एउटै प्रश्न हुन्थ्यो– प्रधानमन्त्री दुई पटक भारत गए चीन गएको खोइ ? परराष्ट्रमन्त्री पाँच पटक भारत गए चीन किन नगएको ? तर, त्यो चीन चिन्ता अहिले भने दूर भएको छ, किनभने उहाँहरू दुवैजना चीन पुगेर आउनुभयो । तर गएर के भो त ? त्यसको जवाफ भने छैन । न त प्रश्नकर्तासँगै छ त्यसको जवाफ । चीनले गरोस्÷नगरोस्, हामीलाई बढी थियो चीन–चिन्ता । प्रधानमन्त्रीले पाँच रात चीनमा बिताएर आउनुभयो, मानौँ कि अब भने सबै समस्या हल भयो । यत्तिकैमा सरकारमाथि भारततर्फ लम्पसार भएको आरोप पनि अब हटेर गयो । चीन किन जाने र मुलुकको प्रधानमन्त्रीका रूपमा चीनमा पाहुना लाग्न मात्र जाने कि राष्ट्रका लागि केही फाइदा हुनुपर्छ भन्ने बहस धेरै कम छ । सतही समाचारको सायद उत्कृष्ट नमुनै बन्छ यो । पहिलो हप्ता प्रधानमन्त्री जसरी पनि चीन जानुपर्छ भनेर लेख्ने आफूलाई मानौँ कि ठूलै कूटनीतिज्ञ ठान्ने पत्रकारले प्रधानमन्त्री चीनबाट फर्किएर आएपछि फेरि भ्रमण असफल भनेर टिप्पणी गर्न थाले । विश्व शक्तिराष्ट्र तथा विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा रहेको चीनजस्तो छिमेकीसँगको नेपालको सम्बन्धको गहिराइ मापन गर्न सक्ने क्षमताको नजिक मात्र पुगेर कुनै समाचार या टिप्पणी आएन । जेजे भयो, त्यही मात्र सार्ने र त्यही हल्का साभारकै सतहमा सकी–नसकी अति अमिल्दो गरी आफ्नो मनसायसमेत थोपरिएको अत्यन्तै अस्वाभाविक रूपले जन्म लिने गरेको छ समाचारले । जसलाई अंग पुगेको समाचार भन्नुभन्दा ढंग नपुगेको भद्दा खबर मात्र भन्न मिल्छ । यो ‘र्यापोर्टिङ’को अर्काे एक ज्वलन्त उदाहरण हो ।

खोजिपसे यस्ता अस्वाभाविकता अनगिन्ती भेटिन्छन् । यी सबै अस्वाभाविकताले नेपालमा  पत्रकारतिाको मुटु मर्दै गएको भान हुन्छ । पत्रकारिताको स्वस्थ मुटु भनेको रिपोर्टिङ हो । सम्पादन त त्यही वस्तुलाई छाप्न योग्य बनाउने काँटछाँट मात्र हो । पत्रकारितामा रिपोर्टर पानी जहाजको क्याप्टेनजस्तो महत्वपूर्ण हो । तर, हजारौँ यात्रु बोकेको यो जहाज लिएर हिँडेको क्याप्टेन आफैँ कुहिरोभित्र कागजस्तै फसेको छ । यो क्याप्टेनको अल्छीपनले मुलुकको पत्रकारितामा एकपछि अर्काे गरी नवीन सन्देशको खडेरी पर्दैछ ।

खोजी समाचार पाउन गाह्रो छ, भोलि के होला जान्न गाह्रो छ । भए गरेका घटनाको मात्र फेहरिस्त पोखिएको छ, अखबारका सतही पृष्ठमा । यस्तो खबर दिन त अहिलेका पाठकको हात–हातमा मिडिया छ, सोसल मिडिया । मानिस सधैँ ताजा र बहुआयामिकताको भोको हुन्छ । त्यसैले त यतिखेर सबैको हातमा पेजर छैन, मोबाइल छ । संसार जान्न चाहने मानिसको कौतूहलको गर्भबाटै पत्रकारिताको जन्म भएको हो । यसको सम्मान पत्रकारिताले गर्न नसके मानिसले आफूलाई आवश्यक पर्ने अर्काे प्रविधि वा माध्यम जन्माउँछ, जन्माइरहेकै छ । त्यसैले त हिजोआज हामी समाचारका लागि अखबारको पानामा मात्र सीमित छैनौँ । यो कुरा बुझ्न सकियो र रिपोर्टरको मेहनत विषयगत रूपमा बढ्न सक्यो भने मात्र पत्रकारिताले आफ्नो गरिमालाई निरन्तरता दिन सक्छ ।

(पाठक आमसञ्चार तथा पत्रकारिताका अध्यापक हुन्)

 

Leave A Comment