अप्ठ्यारोमा अखबार

बुधबार, ०६ बैशाख २०७४, ०१ : ०९ शुक्रवार , Kathmandu
अप्ठ्यारोमा अखबार

प्रा. पी खरेल
प्रेस काउन्सिलले यो वर्ष ९ सय १५ वटा पत्रिकालाई वर्गीकरण गरेको छ । यसमा पाँच सयभन्दा बढी दैनिक र साप्ताहिक पत्रिका छन् । सवा सयभन्दा बढी दैनिक छन् । यसमा झण्डै चार दर्जन ‘ब्रोडसिट’ छन् । तीमध्ये आधा काठमाडौँबाट राष्ट्रिय दैनिकका रूपमा प्रकाशन भइरहेका छन् । काठमाडौँ बाहिरबाट पनि करिब सय वटा दैनिक पत्रिका प्रकाशन भइरहेका छन् । यो तथ्यांक हेर्दा काठमाडौँबाहिर पनि दैनिक पत्रिका पढ्ने प्रशस्त पाठक छन् भन्ने पुष्टि हुन्छ ।
विश्वव्यापी ‘ट्रेन्ड’ हेर्दा दैनिक पत्रिकाको बिक्री–वितरण उत्साहजनक ढंगले बढिरहेको छैन । नेपालमा पनि दैनिक अखबारको ‘सर्कुलेसन’को वृद्धि अनुपातभन्दा घट्ने अनुपात बढी छ । नेपालका अखबार निकै केन्द्रित ढंगले वितरण भइरहेका छन् । काठमाडौँ उपत्यकामा पनि ‘रिङ रोड’ बाहिरका क्षेत्रमा पत्रिकाले आफ्नो वितरण पुर्याउन सकेका छैनन् । काठमाडौँबाहिर जिल्ला सदरमुकाममा मात्र पत्रिकाको बिक्री–वितरण केन्द्रित छ । काठमाडौँबाहेक अन्य ठूला शहरमा पनि वितरणको अवस्था यहाँको जस्तै छ । मुख्य शहरी क्षेत्रभन्दा बाहिर ननिस्कने र नयाँ सम्भावनाका क्षेत्रमा जान नसक्ने हो भने पत्रिकाहरूको बिक्री अहिलेभन्दा पनि खुम्चने स्थिति आउँछ ।  
स्थानीय स्तरमा निस्केका दैनिक पत्रिकाले स्थानीय तहमा राष्ट्रिय स्तरका दैनिक पत्रिकासँग प्रतिस्पर्धा गर्ने पर्याप्त आधार छन् । तर, काठमाडौँ बाहिरबाट प्रकाशित भइरहेका दैनिक पत्रिकामा लगानी र विज्ञापन साह्रै कम छ । छिमेकी देश भारतमा प्रदेशबाट निस्कने अखबारले राष्ट्रिय अखबारसँग प्रतिस्पर्धा मात्र होइन, कतिपय क्षेत्रमा राष्ट्रियभन्दा प्रान्तीय पत्रिकाको सर्कुलेसन बढी हुने गरेको छ । त्यसैले नेपालमा पनि प्रान्तीय तथा क्षेत्रीय मिडियाको सम्भावना प्रशस्त देखिन्छ । प्रान्त तथा क्षेत्रमा मिडियाहरू बलियो हुँदै आए भने राष्ट्रिय पत्रिकाको सर्कुलेसन अहिलेभन्दा पनि कम हुने स्थिति आउँछ ।  
भन्नलाई राष्ट्रिय भन्ने, तर काठमाडौँ बाहिरका समाचारलाई प्राथमिकता नदिने दैनिक पत्रिकाले राजधानी बाहिरका पाठकलाई आकर्षित गर्न सकिरहेका छैनन् । राजधानी बाहिरका ‘पोलिटिकल न्युज’ राजधानीबाट निस्कने दैनिक पत्रिकाको मुख्य समाचार बन्दै नबन्ने अवस्था छ । स्थानीय अभिरुचिका विषय राष्ट्रिय मिडियामा समेटिन सकेको छैन । यदि स्थानीय तहबाट निस्कने पत्रिकाले त्यहाँको राजनीति तथा सामाजिक ‘इस्यू’लाई विस्तृत ढंगले प्रस्तुत गर्न थाले भने त्यसको असर पनि राष्ट्रिय पत्रिकालाई पर्छ । यसले प्रतिस्पर्धा बढाउँछ । प्रतिस्पर्धा बढ्यो भने पाठकलाई फाइदा हुन्छ ।
सूचनाको स्रोत र पहुँच बढेसँगै पत्रिकाहरूले ‘कन्टेन्ट’मा ल्याउनुपर्ने निखार र गुणस्तर ल्याउन सकेका छैनन् । स्मार्टफोन र इन्टरनेटमा रमाइरहेका युवा पिढीलाई पत्रिकाप्रति आकर्षित गर्न सकिएको छैन । ४० वर्ष उमेर सम्मकालाई पत्रिका पढ्नका लागि आकर्षित गर्ने हो भने पत्रिकाहरूले पाठक थप्न सक्छन् । अहिले ५० नाघिसकेका र पत्रिका पढ्ने बानी परेकाहरूलाई मात्र पत्रिकाको तलतल लाग्ने स्थिति छ । अन्यथा, इन्टरनेटको पहुँच भएका र समाजिक सञ्जालमा भुल्नेहरूले अघिल्लो दिनै भोलि बिहान दैनिक पत्रिकामा छापिने मुख्य समाचार के होला भन्ने अनुमान लगाउन सक्ने अवस्था छ । अनलाइन तथा सामाजिक सञ्जालमा आइसकेका समाचार नै भोलिपल्टका दैनिक अखबारका मुख्य समाचार हुने अवस्था छ ।  
विश्वका अन्य देशमा नयाँ प्रकाशन आउने क्रम बढेको छैन । कतिपय पत्रिकाका ‘प्रिन्ट भर्सन’ बन्द पनि भएका छन् । त्यसैले अखबारहरूले आफूलाई समयसापेक्ष परिष्कृत गर्दै लगेनन् भने उनीहरूसँग थोरै पाठकका बीच रमाउनुबाहेक अर्को विकल्प देखिँदैन । नयाँ पिढीलाई अखबार पढ्ने  बानी बसाल्न सक्नुपर्छ । नयाँ पुस्ताको क्रय शक्ति पनि बढेको छ । त्यसैले उनीहरूलाई पत्रिका पढ्ने बानी प्र्रयो भने मात्र पत्रिकाका पाठक बढ्ने हुन् । अखबारहरूले विभिन्न उमेर समूहलाई हेरेर ‘कन्टेन्ट प्लानिङ’ गर्नुपर्छ । कन्टेन्ट ‘क्रिएट’ गर्नतिर आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ । आफ्ना कमजोरीहरूको नियमित समीक्षा गर्नुपर्छ । सन् १९७०÷८० को दशकमा जब पत्रिकामा तस्बिर तथा ‘इलस्ट्रेसन’को प्रयोग बढ्यो, त्यसले पत्रिकाहरूमा नयाँ स्वाद दिन मद्दत गरेको थियो । कतिपय अवस्थामा फोटोको बढी प्रयोग भएको हो कि भन्ने बहस पनि हुन्थ्यो । अहिले पत्रिकालाई कन्टेन्ट र ‘लेआउटमा’ उत्कृष्ट बनाउन धेरै स्रोत हामीसँग उपलब्ध छन् । इन्टरनेट सञ्जाललाई प्रयोग गरेर पनि हामी पत्रिकाको साजसज्जादेखि सामग्रीमा विविधता दिन सक्छौँ । तर, नेपाली मिडियाले इन्टरनेटको प्रयोग पत्रिकाको कन्टेन्ट बलियो बनाउने सन्दर्भमा गरेको देखिँदैन ।
पत्रिकाले दिने कन्टेन्ट पाठकलक्षित हुनुपर्छ । नेपालमा वर्षमा बढीमा २० वटा मात्र अंग्रेजी फिल्म रिलिज हुन्छ । त्यो पनि काठमाडौँ उपत्यकामा मात्र । तर, नेपालका मिडियाले हलिउडका समाचार कति धेरै प्रयोग गरिरहेका छन् । यो हेर्दा के देखिन्छ भने आफूले दिएको कन्टेन्ट पढ्ने पाठक छन् कि छैनन् भनेर सोच्न फुर्सद सम्पादकहरूलाई छैन । यसमा सम्पादकको नेतृत्वमा नै कमजोरी दखिन्छ । हलिउडका कलाकारको हरेक विवरण दिएर समाचार छाप्ने तर नेपाली कलाकार चाहिँ समेटिन नसक्ने स्थितिमा पत्रिकाले पाठक वृद्धि गर्न सक्दैन । एक वर्षमा फिल्म बन्ने र रिलिज हुने संख्याको आधारमा नेपालको फिल्म उद्योग विश्वमा सातौँ ठूलो फिल्म उद्योग हो । नाइजेरिया, हलिउड, भारतपछि  नेपालमा धेरै फिल्म बन्ने र रिलिज हुने गरेका छन् । ०४६ सालअघि ३० वटा पनि फिल्म रिलिज भएका छैनन् । अहिले वर्षमा सय वटासम्म फिल्म रिलिज हुने गरेका छन् । यो सानो संख्या होइन । तर, मनोरञ्जन समाचारमा प्रतिशतका हिसाबले हेर्ने हो भने हलिउड र बलिउडको तुलनामा नेपालको समाचार निकै कम आएको देखिन्छ । बाहिरका कलाकारले बिरालो पालेको, गर्भवती भएको, आमा बनेको, हजुरबा÷हजुरआमा बनेको समाचार नेपाली मिडिया आइरहेका हुन्छन् । तर, हाम्रा कालाकारका बारेमा भने साह्रै कम आउने गरेको देखिन्छ । अरू देशमा मिडियाले पहिला आफ्नालाई बढी ठाउँ दिन्छन् र त्यसपछि बाहिरकालाई समेट्छन् । तर, नेपालमा पाएसम्म प्रियंका चोपडा छाप्ने र केही पाइएन भने मात्र प्रिंयका कार्कीलाई छाप्ने प्रवृत्ति बढी देखिन्छ । यस्तो खालको ‘कन्टेन्ट प्लानिङ’ले हामी पाठक वृद्धि गर्न सक्दैनौँ । १० जना हलिउड कलाकारका नाम फटाफट भन्न सक्ने कति जना सम्पादक होलान्, हाम्रो  ‘मेनस्ट्रिम’ मिडियामा ? मनोरञ्जन ‘बिट’मा काम गर्ने कति पत्रकार हलिउडका कलाकारबारे ‘अपडेट’ होलान् ? यसतर्फ सोच्ने फुर्सद पनि कसैलाई छैन । इन्टरनेटमा उपलब्ध सामग्रीलाई अनुवाद गरेर खरखर्ती पेजमा हालेर मात्र हामीले कन्टेन्टको गुणस्तर बढाउन सक्दैनौँ । पत्रिकाहरूले बेलाबेला खोजी पत्रकारिता गर्नुपर्छ । सूचनाको हकले दिएको अधिकार प्रयोग गरेर काम गर्न सकिन्छ ।  
आफूलाई ‘न्युज विक्ली’ दाबी गर्ने साप्ताहिकहरूको सर्कुलेसन घटेको छ । तर, ट्याबलोइड पत्रिकाको बजार चाहिँ राम्रो देखिन्छ । त्यसो त नेपालमा पत्रिकाहरूको सर्कुलेसनका बारेमा वैज्ञानिक अध्ययन भएको  छैन । तैपनि न्युज स्टलहरूमा देखिएको उपस्थितिका आधारमा ट्याबलोइड पेपर राम्रै बिक्री हुन्छन् भन्ने अनुमान लगाउन सकिन्छ ।
राजधानीबाट सबैभन्दा बढी दैनिक पत्रिका प्रकाशित हुने देश नेपाल हो । १८ वटा ब्रोडसिट दैनिक काठमाडौँबाट प्रकाशित भइरहेका छन् । भारतको दिल्ली, अमेरिकाको वासिङ्टन, न्युयोर्कबाट भन्दा पनि बढी ब्रोडसिट दैनिक काठमाडौँबाट प्रकाशित भइरहेका छन् । विनाविज्ञापन पनि दैनिक पत्रिका प्रकाशित भइरहेका छन् । जसले गर्दा व्यावसायिक पत्रकारितामाथि नै प्रश्न उठेको छ । विज्ञापन नभईकन कसरी पत्रिका चल्न सक्छ ? भन्ने प्रश्न जनमानसमा समेत पर्न थालेको छ । यसले गर्दा पनि पत्रिकाहरूको विश्वसनीयता गुम्दै गएको छ ।
विना‘कोट’ समाचार छाप्ने, ‘फलोअप’ नगर्ने, ‘हेडलाइन’ र समाचार प्रस्तुतिमा नयाँपन दिन कोसिस नगर्ने आदि कारणले छापा माध्यम दिन प्रतिदिन निरस र पाठकलाई आकर्षित गर्न नसक्ने हुँदै गइरहेका छन् । अनलाइन तथा सामाजिक सञ्जालमा आइसकेका सूचनालाई जस्ताको त्यस्तै ‘कपी पेस्ट’ गरेर अबको प्रिन्ट मिडिया चल्न सक्दैन भन्ने नबुझ्दासम्म पत्रिकाले आफ्ना पाठक बढाउन सक्ने अवस्था छैन ।
(आमसञ्चार तथा पत्रकारितका प्राध्यापक खरेलसँग गरिएको कुराकानीमा आधारित)

Leave A Comment