‘स्टारडम’को घमण्ड चुरचुर भएपछि

आइतबार, ०३ बैशाख २०७४, ०१ : ०३ शुक्रवार , Kathmandu
‘स्टारडम’को घमण्ड चुरचुर भएपछि

बलिउडका सुपरस्टार थिए, अभिनेता राजेश खन्ना । उनको जस्तो लोकप्रियता अहिलेसम्म अरू कलाकारले कमाउन नसकेको बताइन्छ । युवतीहरू उनीप्रति यति आकर्षित थिए कि रगतले चिठी लेखेर पठाउँथे । राजेशको गाडीलाई चुम्थे । उनको गाडी गुडेको बाटोको माटोले सिउँदो भर्थे ।
यसरी सबैका प्यारा बनेका सुपरस्टारले अभिनेता अमिताभ बच्चनको सफलतालाई पचाउन सकेनन् । भनिन्छ, उनी अभिताभको ईष्र्या गर्थे ।
कुरा, राजेश अभिनीत फिल्म ‘बावर्ची’ को हो । फिल्ममा उनी जया भादुडीसँग काम गरिरहेका थिए । त्यतिखेर उनको अमिताभसँग अफेयर चलिरहेको थियो । अमिताभ दिनहुँ उनलाई भेट्न सुटिङस्थलमा पुग्थे । यो कुरा राजेशलाई मन पर्दैनथ्यो । अमिताभका कारण हरेक दिन सुटिङमा बाधा पर्ने र समय बर्बाद हुन्छ भन्ने राजेशलाई लाग्थ्यो । धेरै दिनसम्म उनी चुपचाप बसे । यसबारे केही पनि भनेनन् । तर, एक दिन उनले जयाकै सामु अमिताभलाई नानाथरी भनेर हप्काए ।
आफूलाई भेट्न आएका अमिताभलाई राजेशले जथाभावी भनेको जयालाई मन परेन । उनले तुरुन्तै जवाफ फर्काउँदै राजेशलाई भनिन्– ‘आज तपाईं जसको मजाक उडाइरहनुभएको छ, ऊ भोलि तपाईंभन्दा पनि ठूलो सुपरस्टार हुनेछ ।’
राजेशले जयाको कुरामा खासै ध्यान दिएनन् । नसुनेजस्तो गरी उनी त्यहाँबाट हिँडे । भनिन्छ, राजेशलाई आफ्नो स्टारडमको यति घमण्ड थियो कि उनी कसैको कुरा पनि सुन्दैनथे । उनको रिस र रुखो व्यवहार सर्वत्र चर्चित थियो ।
बिस्तारै फिल्म इन्डस्ट्रीका मान्छे उनीबाट टाढिन थाले । एकपछि अर्को गर्दै उनको हातबाट फिल्म फुस्किन थाले । यता अमिताभ निरन्तर सफलताको भ¥याङ उक्लिन थाले । उनको लोकप्रियता दिनदिनै चुलिँदै गयो ।
यतिबेलासम्म राजेश अमिताभको लोकप्रियताबाट बेखबर थिए । उनले अभिताभको सफलतालाई जानीबुझी बेवास्ता गरेको धेरै बलिउडकर्मीको भनाइ छ । एक पटक एउटा कार्यक्रममा राजेश र अमिताभ सँगै परे । त्यहाँ उपस्थित मान्छेहरूले राजेशलाई छोडेर अमिताभलाई घेरे र अटोग्राफ माग्न थाले । त्यो देखेर राजेश झल्याँस्स भए ।
अमिताभको लोकप्रियता देखेर राजेश छानाबाट खसेझैँ भए । उनले आफूलाई सम्हाल्न सकेनन् । पाका बलिउड कलाकारहरू उनी घर फर्केर कोठा बन्द गरी धुरुधुरु रोएका थिए भनेर अहिले पनि गफिन्छन् ।

 

Leave A Comment