हास्यकलाकारका नयाँ वर्ष संकल्प

आइतबार, ०३ बैशाख २०७४, ०१ : ०१ शुक्रवार , Kathmandu
हास्यकलाकारका नयाँ वर्ष संकल्प

मदनकृष्ण श्रेष्ठ
जे गर्दै आइएको छ, त्यही कामलाई निरन्तरता दिने हो र दिइरहने हो । दर्शकको माया र साथ बटुलिरहनु नै हामीजस्ता कलाकारका लागि विशेष संकल्प हो ।
 
मनोज गजुरेल
समय व्यवस्थापन राम्ररी गर्न सकिएको छैन । त्यसमा ध्यान पु¥याउनु नै यो वर्षको पहिलो संकल्प हो । आफ्नो नियमित कामलाई व्यवस्थित ढंगले लैजाने हो । समय र कामको व्यवस्थापन नै मेरा नयाँ वर्षका संकल्प हुन् ।

दीपकराज गिरी
राम्रो र मनोरञ्जनात्मक फिल्म दर्शकमाझ पस्किरहने । पछिल्लो सिनेमाका कमीकमजोरीलाई हटाएर राम्रो र सन्देशमूलक फिल्म बनाउने । र, नेपाली सिनेमालाई गुणस्तरीय बनाउने सोच छ ।
 
दीपाश्री निरौला
मेरो यसपालिको संकल्प भनेकै राम्रा–राम्रा फिल्म निर्देशन गरिरहने हो । नयाँ वर्षसँगै आफूले निर्देशन गरेका फिल्म पनि राम्रा बनून् भन्ने लागेको छ ।
 
सीताराम कट्टेल

संकल्प लिएर पछि पूरा गर्न सकिएन भने बेकार आफैँलाई टेन्सन हुन्छ । समय अनि परिस्थितिअनुसार अगाडि बढ्नु नै मेरो संकल्प हो ।

कुञ्जना घिमिरे
नयाँ वर्षमा यो गर्छु, त्यो गर्छु भन्दिनँ । तर, सामाजिक कार्यमा दत्तचित भई लाग्नेछु । कलाकारितामा ब्रेक लागेको अवस्था छ । त्यसमा पनि रफतारले काम गर्नेछु ।  

शिवहरि पौडेल
भएको बानीजति वर्षैपिच्छे संकल्प लिँदै छोडिसकेँ । रक्सी, चुरोट, सुर्ती सबै छोडिसकेँ । फेसबुक चलाउन छोड्छु भनेको त्यो चाहिँ सकिएन । फेसबुक नहेरी फ्रेस नै नहुने बानी बसिसक्यो । २०७४ सालदेखि चाहिँ जथाभावी काम नलिने र आफ्ना लागि समय निकाल्ने प्रण गर्छु ।

विल्सनविक्रम राई
आफूले गरिरहेको कामलाई अझै राम्रो गर्दै जाने हो । बिहान अलि ढिलो उठ्ने बानी छ त्यसमा चाहिँ सुधान गर्नुपर्ला । नयाँ सालदेखि काम भए पनि नभए पनि सबेरै उठ्ने सोच बनाएको छु ।

जीतु नेपाल
कहिलेकाहीँ यसो हल्का ड्रिंक्स गरिन्छ । त्यो बानी हटाउने प्रयासमा छु । लेख्ने बानी पनि छुटेको छ । नयाँ वर्षको सुरुवातसँगै नयाँ सोच, उमंका साथ लेख्ने बानीलाई निरन्तरता दिने विचार छ ।

रक्षा क्षेष्ठ
आफूमा भएको कमी कमजोरीलाई सुधार्ने हो । नयाँ वर्षमा अल्छीपना हटाइ जोसिलो र काममा अझै फुर्तिलो हुने संकल्प छ, मेरो ।

प्रस्तुतिः रचना श्रेष्ठ  

 

 

Leave A Comment