केही स्वादिलो नयाँ वर्ष

आइतबार, ०३ बैशाख २०७४, ११ : ४९ शुक्रवार , Kathmandu
केही स्वादिलो नयाँ वर्ष

नयाँ वर्षको पाइलो सँघारमाथि छ । नयाँ वर्षलाई लिएर शुभकामना, मंगलकामना र कल्याण कामनाहरू जताततै छताछुल्ल छन् । मनभरि अमंगल भए पनि शब्द र वाणीमा मंगलको गुणगान छ । सर्वत्र भलो र सुखसयलको वर्षा छ । शुभकामनाहरू सुन्दा र देख्दा यस्तो लाग्छ, मानिसहरू लोकहित र कल्याणका लागि आतुर छन् । आफूले संकट र कष्ट झेले पनि अरूको उन्नति र प्रगति चाहन्छन् ।
नयाँ वर्षको शुभकामना ‘सिजनेबल’ हुन्छन् । एक दशकअगाडिसम्म शान्ति र सद्भाव कामनाको केन्द्रमा थियो । त्यसपछि संविधान निर्माणले शान्ति र सद्भावलाई विस्थापित ग¥यो । केही वर्ष पुराना शुभकामनालाई अहिले सम्झँदा हाँसूँ कि रोऊँ जस्तो लाग्छ । ती ‘सिजनल’ शुभकामनाले शान्ति बहाल भएपछि देश अमरावतीको यात्रामा निक्लन्छ भन्ने उद्घोष गर्थे । संविधान बनेपछि यो देशमा बन्न बाँकी केही पनि नरहने परिकल्पना गर्थे । शान्ति पनि आयो, संविधान पनि बन्यो । तर, काठमाडौँको धारमा पुग्दो पानी आएन । दुबई, कतार जान लाम लाग्नेहरूको लाइनमा कुनै कमी आएन । सत्ताका लागि प्राण अर्पिने राजनीतिक संस्कारमा बदलाव आएन । जे–जे नआए पनि नयाँ वर्ष आइरहेको छ र आइरहन्छ । अनि, हरेक नयाँ वर्षका उही मंगल कामना, उही प्रगतिको प्रार्थना, उही समृद्धिको याचना सनातनी रूपमा चलिरहन्छ ।
गाँउको किसानले ओइलाएका मकैका बोट र पानीविना रित्तो हुँदै गएको करेसाबारी हेरेर उसले के–के नयाँ ठम्याउला ? सिंहदरबारलाई पत्तो हुँदैन । यसपाला त राजधानीवासीलाई नयाँ वर्षले कसरी रोमाञ्चित बनाउँछ ? यसै भन्न सकिन्न । धुलोले हिँउदे कुहिरोको रूप लिएको सडकमा बानेश्वरबाट त्रिपुरेश्वर निक्लिएको मानिस थापाथली कट्दा नकट्दै पुरानो भइसक्छ । यस्तो समयमा नयाँ वर्षलाई काठमाडौँले कसरी भोगचलन गर्छ ? निक्र्योल गर्न मुश्किल छ ।
सिंहदरबारको तानातन उस्तै छ । सदनको हानाहान उस्तै छ । नेताको अनुहार र स्वभाव उस्तै छ । सबै उस्तैउस्तै भएपछि नयाँ वर्षले मात्र के नयाँ भिœयाउला ? तर, यसपालको नयाँ वर्ष ग्रामीण बस्ती र राजनीतिक दलका सबैभन्दा पुछारका कार्यकर्ताका लागि भने विशेष हुने अनुमान गर्न सकिन्छ । बबुरा जनता र निम्छरा कार्यकर्ताले विगतका नयाँ वर्षहरूमा भोगचलन गर्न नपाएको मानसम्मानको उपभोग गर्न पक्कै पनि पाउनेछन् । मीठो मसिनोले उनीहरूको जिब्रोले स्वाद फेर्न पाउँछ । किनकि, यो नयाँ वर्षसँगै स्थानीय तहको चुनाव पनि आएको छ ।
नामै स्थानीय ! स्थानीय भइसकेपछि यो चुनावले घरको चुलो, चौकोदेखि लिएर गाउँको चौतारो, पँधेरो र चियापसललाई पनि समाइहाल्छ । घाँसी, पँधेर्नी, जन्ती र मलामीलाई पनि अँठ्याइहाल्छ । स्कुलका कलिला किशोर–किशोरीदेखि दुईचार वर्षदेखि वृद्धभत्ता पचाइरहेका आमाबाहरूलाई पनि नशा चढाइहाल्छ । आखिर स्थानीयले स्थानीयलाई प्रभाव पार्नु स्वाभाविकै हो ।
उहिले स्थानीय चुनाव हुँदा च्याहाँ गरेका बच्चो बीस वर्षको लक्का जवान भइसक्यो । तसर्थ सिंगो एउटा पुस्ताको लागि चुनाव नयाँ नभए पनि स्थानीय चुनाव चाहिँ दयाहाङ राईको नयाँ फिल्म भन्दा पनि नयाँ नै हुनेछ । तसर्थ हामीजस्ता स्थानीय चुनाव भोगिसकेका पुस्ताले उनीहरूलाई स्थानीय चुनावको महŒव र गरिमाबारे जानकारी गराउनु पक्कै पनि लाभदायक विषय हो ।
स्थानीयभन्दा माथिका चुनावहरूमा उम्मेदवारलाई देखिन्छ तर उनीहरूलाई सुमसुम्याउन र छाम्न पाइँदैन । ठूलो निर्वाचन क्षेत्रमा ऊ दौडिनुपर्ने हुनाले उसले दर्शन मात्र दिन भ्याउँछ, बात मार्न भ्याउँदैन । तर, स्थानीय चुनावको भौगोलिक सीमा र क्षेत्र साँघुरो हुन्छ । डिलमुनिको दाइ र डाँडामाथिकी दिदी उम्मेदवारका रूपमा देखापर्छन् । सधँै व्यवहारको बोझले थिचिएका दाइ र दिदीहरू उम्मेदवार बन्नुको रन्कोले शक्तिशाली देखिन्छन् । छरछिमेक र टोल, मर्दापर्दा चाहिन्छ भनेर सानातिना कुरामा बाल नदिने दाइ र दिदीहरूले सात पुस्तादेखिको जन्मकुण्डली पल्टाएर आरोप–प्रत्यारोप गर्छन् । उस्तै परे पँधेरो अलग हुन्छ । घरको आउजाउमा ढोका लाग्छ । बाटोमा हिँड्दा आँखा ठोकिए भने आँखा तरातर हुन्छ, मुस्कान फुट्दैन, सञ्चो बिसञ्चो फुर्दैन । स्थानीय चुनावमा छिमेकीले छिमेकीको आवश्यकता बिर्सन्छ । दाजुभाइले दाजुभाइको नाता र आवश्यकतामा कटौती गर्छन् ।
स्थानीय चुनावमा वार्डको निम्छरो कार्यकताको बजारमूल्य पनि उल्कै अकाशिन्छ । माथिल्ला चुनावमा यस्ता कार्यकर्ताको मूल्यमा खासै वृद्धि हुँदैन । किनकि, उम्मेदवारले उनीहरूको मूल्यलाई सीधै डिल गर्नुपर्दैन । उनीहरूको डिल उम्मेदवारको गाविस स्तरीय ठेकेदारले गर्छ । जब सेकेन्ड ह्यान्डले डिल गर्छ, तब प्रोडक्टको भ्यालू सस्तिन्छ भन्ने अर्थशास्त्रले बताएकै छ । त्यसै गरी दुर्गम गाउँको बबुरो जनताले पनि राजनीतिक बजारमा आफ्नो पनि गणना भएको मेसो पाउँछ । बोलाउँदा पनि झर्को मान्ने नेता आएर आफ्नो मझेरीको सुकुल तानेर बसेपछि बबुरोले आफ्नो भ्यालू बढेको अनुमान गर्नु स्वाभाविकै हो ।
चुनाव हो । चुनावमा के–के हुन्छ ? भनिराख्नुपर्दैन । किनकि, हामी नेपाली जनताले धेरै चुनाव भोगिसकेका छौँ । आउँदो चुनावले देशको भविष्यमा के गर्ला ? यो हामी जनताले सोच्ने कुरा नै होइन, भगवान् पशुपतिनाथले जान्ने कुरा हो । तर, यो चुनावले सँघारमा आएको नयाँ वर्षलाई भने नयाँ वर्षजस्तै बनाइदिने पक्का छ । निम्छरो कार्यकर्ताले नेताको रसिलो बोली सुन्न पाउँछ । रातसाँझ स्थानीय बजारको रात्री पसलमा मीठो–मसिनो ज्युनार गर्न पाउँछ । त्यसै गरी, जनताले पनि नेताको नमस्कार र आश्वासन सँगसँगै टोलटोलमा हुने भोजभतेरमा सहभागी हुन पाउँछन् । आखिर हामी नेपालीले चाडबाडमा गर्न जानेको भनेको भोजभतेर नै हो । चुनावको नाउँमा गाउँटोलमा हुने भोजभतेरले नयाँ वर्षलाई रंगिन बनाउने निश्चित छ ।

 

Leave A Comment