विभिन्न समुदायका नयाँ वर्ष उत्सव

शनिबार, ०२ बैशाख २०७४, ०२ : ३२ शुक्रवार , Kathmandu
विभिन्न समुदायका नयाँ वर्ष उत्सव

–डा. जगमान गुरुङ
कार्यकारी निर्देशक, राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र, नेपाल संस्कृत विश्वविद्यालय

वैशाख १ गते मनाइने नयाँ वर्ष सम्पूर्ण नेपालीहरूले राष्ट्रिय रूपमा मनाउने गर्छन् । नेपालका विभिन्न जनसमुदाय तथा जातजातिले नयाँ वर्ष आ–आफ्नै तरिकाले मनाउँछन् ।  

बाह्र वर्गको शान्ति पूजा गरी मनाइने
नेपालका सम्पूर्ण हिमाली क्षेत्र, उच्च पहाडी भेगका तामाङ, गुरुङ, पूर्वीय नेपालको इलामका ल्याप्चा यी जातिहरूले ल्होसार मनाउँछन् । ‘ल्हो’ अर्थात् वर्ष, ‘सार’ वा ‘छार’ को अर्थ नयाँ भनिन्छ । ल्होसार चिनियाँ तिब्बती जोतिषशास्त्र अनुसारको नयाँ वर्ष परम्परा हो । ल्होसार चार प्रकारका छन् । तोला ल्होसार, सोनाम ल्होसार र ग्याल्पो ल्होसार र तुम ल्होछार । ल्होसार तिथि र गतेअनुसार मनाइन्छ । तोला, सोनाम, ग्याल्पो तिथिअनुसार हुन्छ भने तमु ल्होसार गतेअनुसार पुस १५ मा पर्छ । तोला ल्होसार तिब्बतको मानसरोवर क्षेत्रमा नेपालको हुम्ला, मनाङ र भुटानको केही जनसमुदायले मनाउँछन् । त्यस्तै तिब्बतको सम्पूर्ण पश्चिमी तिब्बत र नेपालको सम्पूर्ण हिमाली क्षेत्र हुम्ला र मनाङबाहेक नेपालका तामाङहरूले मान्ने सोनाम ल्होसार हो । तिब्बतको ल्हासादेखि नेपालका शेर्पा समुदायले मान्ने ल्होसार ग्याल्पो ल्होसार हो । र, गुरुङ जातिले मान्ने तमु ल्होछारलाई नयाँ वर्षको रूपमा मनाउँछन् । तोला, सोनाम, ग्याल्पो र तमुको अहिले चरा वर्ष छ । ल्होसार मनाउँदा भारतीय जोतिषशास्त्रको बाह्र राशिमा जस्तै यसमा बाह्र वटा ‘ल्हो’ अर्थात् बाह्र वटा वर्ग हुन्छन् । बाह्र वर्गमा पशुपन्छी तथा जीवजन्तुका नामहरू राखिएका हुन्छन् । बाह्रै वर्गको शान्तिको पूजा गरिन्छ । मान्यजनबाट शुभ आशीर्वाद लिइन्छ । घाँटीमा रक्षाबन्धनको डोरो लगाइन्छ । त्यसपछि खाईपिई नाचगान गरी हर्षोल्लाससहित नयाँ वर्ष आरम्भ गरिन्छ  ।

देवीदेउताको पूजाआजा गरी मनाइने
राई, लिम्बू, किरात, थारु र मगरले माघेसंक्रान्तिलाई नयाँ वर्षका रूपमा मनाउने चलन छ  । थारु समुदायले यसलाई ‘माघी’ भन्छन् । लिम्बूको ‘युमा’ अर्थात् देवी ‘थेवा’को अर्थ देउता भन्ने हुन्छ । लिम्बू जातिले देवीदेउताको पूजाआजा गरी नयाँ वर्षलाई स्वागत गर्छन् । किरात राईहरूको ‘पारुहाङ’ र ‘सुम्निमा’ अर्थात् देउता र देवीको पूजा गरी नयाँ वर्षको शुभारम्भ गरिन्छ । थारुको पनि गाउँको सिरानतिर शिरस्थान भन्ने हुन्छ । सिरानको देउता बरमस्थानको पूजा गरी कुल कुलायनहरूको पूजाआजा गरी नयाँ वर्षको स्वागत गर्दछन् ।

आफैँलाई पूजा गरी मनाइने
न्हुँः दया भिन्तुना नेवार परम्परामा भर्खर भर्खर सुरु गरिएको परम्परा हो । यसअघि धेरै पुराना प्राचीन घोडेजात्रा, बिस्केट जात्रालाई नयाँ वर्षका रूपमा मनाइन्थ्यो । त्यसको धेरै वर्षपछि पूर्व मध्यकालमा राघवदेवको समयमा शंखधर साख्वाले देशभरका जनतालाई ऋणमुक्त गरी पशुपतिको नाउँबाट नेपाल सम्वत्को प्रवद्र्धन गरे । सोही दिन नेपाल सम्वत् फेरिने दिन भएकाले नेवार समुदायले ‘न्हुँः दया भिन्तुना’का रूपमा मनाउने गरेका छन् । यस दिन नेवार समुदायले न्हुँः दया भिन्तुना भन्दै टोलटोलमा ¥याली निकाली नयाँ वर्षको स्वागत गर्छन् । उक्त दिन नेवारहरूले साँझ म्हः पूजा गर्छन् । ‘म्हः’ अर्थात् आफ्नै शरीरको पूजा । आफ्नो शरीरलाई परमात्मा मानी आफूले आफैँलाई पूजा गर्छन् । आफू बसेको वरिपरि मण्डल बनाई झिलिमिली बत्ती बाली नववर्षको शुभारम्भ गर्ने चलन नेवार समुदायमा पाइन्छ ।

अन्नको पूजा गरी मनाइने
चेपाङ समुदायले ‘न्वागी’ पर्वलाई नयाँ वर्षको शुभारम्भ मान्दछ ।  मंसिरमा धान पाकिसकेपछि ‘न्वागी’ को पूजा गरिन्छ । भदौको शूक्ल पक्ष पूर्णिमाको दिनमा चेपाङहरूले ‘चोनाम’ पर्व भनेर मनाउँछन् । धान काटेर भित्र्याइसकेपछि काँचो चामलमा दही, केरा, सुकुमेल तथा अन्य मसला मिलाई संस्कारअनुसार विधिपूर्वक पूजा गरी कुलदेवतालाई चढाई प्रसादस्वरूप खाइन्छ ।

(रचना श्रेष्ठसँगको कुराकानीमा आधारित)

 

Leave A Comment