बिस्केटको लिंगो जात्रा

शनिबार, ०२ बैशाख २०७४, ०२ : ०१ शुक्रवार , Kathmandu
बिस्केटको लिंगो जात्रा

–सुरेश किरण

बिस्केट जात्रामा उठाउने यो लिंगो भक्तपुरका एक विख्यात राष्ट्रप्रेमी ज्योतिषको प्रतीक हो । आफ्नो मुलुकमा आक्रमण गर्न आएका शत्रु सेनालाई उनले एक भयंकर अजिंगरको रूप धारण गरी धपाएका रहेछन् । गत वर्ष महाभूकम्पले जात्रा पनि प्रभावित भयो । रथ तान्नुपर्ने बाटोभरि भग्नावशेषको थुप्रो र उता लिंगो उठाउने चौरमा पनि भूकम्पपीडितको शिविर थियो । पछि रातारातै त्यो सबै हटाएर जात्रा सुरु गरियो । वास्तवमा त्यतिबेला पनि भक्तपुरवासीलाई भूकम्पले भत्काएको आफ्नो घर नठडिएला भन्ने चिन्ताले भन्दा पनि बिस्केटको लिंगो नठडिएला भन्ने चिन्ताले बढी पिरोलेको थियो ।

कुनै बेला काठमाडौँ उपत्यकाको राजधानी थियो, भक्तपुर । मल्लकालीन राजाहरूको अभिभावक नगरजस्तै थियो यो शहर । पृथ्वीनारायण शाहले उपत्यका कब्जा गरिसकेपछि भक्तपुरलाई छोडेर कान्तिपुरलाई राजधानी बनाए । तर, प्रशासनिक राजधानी कान्तिपुर सारिए पनि भक्तपुरको सांस्कृतिक कान्ति भने पटक्कै डगमगाएन । त्यो अझै कायम छ । त्यसैले पनि भक्तपुरको परिचय दिँदा यो शहरलाई मुलुकको ‘सांस्कृतिक राजधानी’ समेत भन्ने गरिन्छ ।
भक्तपुरमा मनाइने विभिन्न सांस्कृतिक जात्रा–पर्वमध्ये सबैभन्दा ठूलो जात्रा हो बिस्केट जात्रा । बिस्केट जात्रा भक्तपुरमा यति धुमधामपूर्वक मनाइन्छ कि यो जात्राभरि भक्तपुरमा अरू सबै बन्द हुन्छ, केवल जात्रै मात्र खुल्ला
रहन्छ । उपत्यकाका अधिकांश जात्रा पर्व मूलतः चन्द्रमास (नेपाल संवत्) का आधारमा मनाउने गरिन्छ । तर, यो भव्य बिस्केट जात्रा भने सौर्य मास अर्थात् विक्रम संवत्अनुसार मनाइन्छ । पृथ्वीनारायण शाहले काठमाडौँ जित्नुअघिसम्म यो जात्रा पनि नेपाल संवत्कै तिथिअनुसारै मनाउने गरिन्थ्यो । पछि यसलाई विक्रम संवत्को साल आरम्भसँग जोडिएको भन्ने कथन पनि छ ।
बिस्केट जात्रामा मूलतः दुइटा कार्य गरिन्छ । एउटा, स्थानीय यःसिंख्यःमा लिंगो ठड्याउने । अर्को, भैरवको रथ तान्ने । यसमा पनि प्रमुख जात्रा भनेको लिंगो ठड्याउनु नै हो । यो लिंगो चैत महिनाको अन्तिम दिन ठड्याएर वैशाखको पहिलो दिन ढाल्ने गरिन्छ । यसरी एक दिन मात्रै ठड्याए पनि यसले पूरा एक वर्ष लिंगो ठड्याएको भन्ने सांकेतिक अर्थ दिन्छ ।
बिस्केट जात्रामा उठाउने यो लिंगो भक्तपुरका एक विख्यात राष्ट्रप्रेमी ज्योतिषको प्रतीक हो । आफ्नो मुलुकमा आक्रमण गर्न आएका शत्रु सेनालाई उनले एक भयंकर अजिंगरको रूप धारण गरी धपाएका रहेछन् । एक दिन उनकी श्रीमतीले त्यो अजिंगर रूप आफूले पनि एक पटक हेरौँ न भनी कर गर्न थालिन् । ज्योतिषले त्यो रूप धारण गर्नुअघि श्रीमतीलाई एक अञ्जुली अक्षता दिँदै भने, ‘म अजिंगरको रूप धारण गर्छु, एकछिन हेरिसकेपछि यही अक्षताले मलाई हान्नू, म पुनः मानिसकै रूपमा फर्किन्छु ।’ त्यसपछि ज्योतिषले अजिंगर रूप धारण गरे । तर, उनको त्यो रूप यति भयंकर थियो कि श्रीमती अक्षताले हान्नुको सट्टा डराएर भाग्न पो थालिन् । अजिंगररूपी ज्योतिष पनि आफूलाई अक्षताले हानोस् भनेर श्रीमतीको पछि लागे । श्रीमती चाहिँ यो अजिंगर मलाई खान पो लाग्दैछ भन्ठानी झनै जोडले भाग्न थालिन् । यही भागाभागमा उनले आफ्नो हातमा भएको अक्षता पनि आफ्नै मुखमा हालिन् । त्यसपछि उनी पनि अजिंगरमा बदलिइन् । दुवै जना अजिंगर बनेपछि अब आफूलाई कसले मानिसकै रूपमा फकाईदेला भनेर उनीहरू राजाको दरबारनेर पुगे, राजाले आफूलाई चिन्लान् कि भन्ने आशमा । तर, राजाले पनि उनीहरूलाई चिन्न सकेनन् । दुई अजिंगर धेरै समय दरबारबाहिरै पर्खिरहे । पर्खंदापर्खंदै उनीहरूको प्राणान्त भयो । उता राजाले आफ्ना राजज्योतिष एकाएक कता हराएछन् भनी खोजतलास गर्दा उनीहरू त उही आफ्नो दरबारबाहिर आश लगाएर बसेका अजिंगर पो रहेछन् भन्ने पत्ता लगाए । पछि उनीहरूकै सम्झनामा राजाले अजिंगरको प्रतीकस्वरूप लिंगो ठड्याएर यो जात्रा चलाए । ‘बी’ (सर्प वा अजिंगर) ‘सिकाः’ (मरे पछि) चलाएको जात्रा भएकोले यसलाई नेवार समुदाय ‘बिसिकाः’ जात्रा भन्ने गर्छन् । यही ‘बिसिकाः–बिस्काः’ शब्द नेपालीमा ‘बिस्केट’ बन्न पुगेको हो ।
पहिले–पहिले भक्तपुरमा केवल लिंगो मात्रै ठड्याउने जात्रा हुने गर्दथ्यो । यो एउटा अत्यन्तै भव्य जात्रा थियो । यो जात्रा कति लोकप्रिय थियो भने भारतको पवित्र तीर्थस्थल काशीमा समेत यसको चर्चा हुने गर्दथ्यो । एक पटक काशीको विश्वनाथ बाबासमेत भेष बदलेर यो जात्रा हेर्न भक्तपुर आएका रहेछन् । जात्रा चलिरहेकै बेला भक्तपुरका तान्त्रिकहरूले उनलाई चिनेछन् । र, अब यो देउतालाई यही ठाउँमा राख्नुप¥यो भन्ने सोची उनलाई दायाँबायाँ चारै दिशा र माथि आकाशबाट समेत भाग्न नसक्ने गरी तोरण हालिदिएछन् । भाग्ने सम्पूर्ण दिशा बन्द गरी उनलाई समाउने प्रयास गर्दा ती देउता पातालको बाटो भएर भाग्न जमिनमा धसिन पुगेछन् । त्यही बेला तान्त्रिकहरूले उनको जटा ट्याप्प समाई टाउको छप्पै छिनालिदिएछन् । विश्वनाथ बाबा त भागेछन् तर उनको टाउको भने यहाँका तान्त्रिकहरूको हातमा परेछ । त्यसपछि भक्तपुरमा उक्त टाउकोलाई पनि भैरवको रूपमा पुज्न थालियो र हरेक बिस्केट जात्राको बेला सोही टाउकोलाई पनि रथमा राखी जात्रा गर्न थालियो ।
जात्राको दिन यो रथलाई एक दिन माथिल्लो शहर र अर्को दिन तल्लो शहर तान्ने गरिन्छ । रथ तान्ने क्रममा शहरको तल्लो र माथिल्लो भागमा बस्ने स्थानीय समुदायबीच एक खालको प्रतिस्पर्धा नै चल्ने गर्छ । यो यति डरलाग्दो प्रतिस्पर्धा हुन्छ कि त्यसमा जित्न एकआपसमा ढुंगा हानाहानसमेत सुरु हुन्छ । यसमा धेरै मानिस घाइते पनि हुन्छन् । त्यसैले कोही–कोही यो जात्रालाई ‘ढुंगा हान्ने जात्रा’ भनेर व्यंग्य पनि गर्छन् । तथापि, गएको केही वर्षअघिदेखि जात्राको यो विकृतिलाई कम गरी विदेशी पर्यटकलाई समेत सुविधापूर्वक जात्रा अवलोकन गराउने चलन सुरु गरिएको छ । यसका लागि स्थानीय निकाय, प्रशासन र स्थानीय जनता मिलेर एउटा छुट्टै समूह बनाई पहल भइरहेको छ ।  
गत वर्ष महाभूकम्पले यो जात्रा पनि प्रभावित भयो । रथ तान्नुपर्ने बाटोभरि भग्नावशेषको थुप्रो र उता लिंगो उठाउने चौरमा पनि भूकम्पपीडितको शिविर थियो । पछि रातारातै त्यो सबै हटाएर जात्रा सुरु गरियो । वास्तवमा त्यतिबेला पनि भक्तपुरवासीलाई भूकम्पले भत्काएको आफ्नो घर नठडिएला भन्ने चिन्ताले भन्दा पनि बिस्केटको लिंगो नठडिएला भन्ने चिन्ताले बढी पिरोलेको थियो । भक्तपुरको पुनर्निर्माण अझै पनि सुरु भएको छैन । भूकम्पको भग्नावशेष यत्रतत्र छरिएकै छन् । तैपनि जात्राको रौनक भने घटेको छैन । कमसे कम यो एक दिन भक्तपुरवासीहरू आफ्ना सम्पूर्ण पीडा भुलेर जात्रालाई स्वागत गर्न चाहन्छन् ।    
नयाँ वर्षको दिन जात्रा लाग्ने भक्तपुर मात्र होइन । भक्तपुर छेउछाउकै अरू पनि स्थानमा यो दिन मेला वा जात्रा हुने गर्छ । जस्तो, यही दिन उपत्यकावासीले मेला भर्न जाने एउटा प्रमुख स्थान हो, बागद्वार । बागद्वारलाई बागमती नदीको मुहान मानिन्छ र बागमती नदीलाई काठमाडौँ सभ्यताको जननी । वैशाख १ गते शिवपुरी डाँडाको बीच भागमा रहेको यो मुहानमा नुहाएर प्राचीन नगरी टोखाको सपनतीर्थमा डुबुल्की मार्ने चलन छ । यो दिन सपनतीर्थमा ठूलो मेला लागेको हुन्छ । सपनतीर्थमा नुहाए कुष्ठरोगसमेत निको हुने जनविश्वास छ ।
यही दिन यहाँको पीठ (मसानकाली) सँगै एउटा अनौठो होम पनि गरिन्छ । यो होममा धर्तीमा उब्जेजति सबै प्रकारका अन्न अग्निलाई अर्पण गरिने विश्वास गरिन्छ । साथै, यसमा एउटा कालो बोको, एक जोडी जिउँदो सर्प, एक जोडी भँगेरा, एक जोडी परेवा र एक जोडी माछा पनि होममा अर्पण गरिन्छ । यो एउटा विशुद्ध तान्त्रिक विधिद्वारा गरिने पूजा हो । टोखामा वैशाख १ गते सुरु हुने यो जात्रा वैशाख ५ मा समापन हुन्छ ।
यही बेला मनाइने अर्को ठूलो जात्रा ठिमीको सिन्दुर जात्रा र बोडेको जिब्रो प्वाल पार्ने जात्रा पनि हो । जिब्रोमा सुई घुसारेर काँधमा दीप बोकी नगर घुम्ने बोडेको यो जात्रा लोकप्रियताका हिसाबले अति नै प्रख्यात भए पनि यो सम्पूर्ण जात्रा भने एकैजना मानिसको काँधमा अडेको छ । हरेक वर्ष जात्रा सुरु हुने बेला जिब्रो छेड्ने मानिसको अभाव हुन्थ्यो । गएको आठ वर्षदेखि स्थानीय जुजुभाइ बास श्रेष्ठले यो जात्रा धान्दै आएका छन् । हरेक वर्ष उनी ‘अब म जिब्रो छेड्दिनँ’ भन्थे र अन्त्यमा केही सीप नलागेपछि आफैँ जिब्रो प्वाल पार्दै जात्रा पनि चलाउँथे । जति नाइँ भने पनि उनको एउटा ‘नाइँ’ले देशको महŒवपूर्ण संस्कृति नै लोप हुने भयले उनी आफैँ पनि कायल छन् । यसपटक पनि उनै ३८ वर्षीय जुजुभाइले नै जात्रा चलाउने निधो भइसकेको छ ।
बोडेसँगै रहेको अर्को रमाइलो नगर हो ठिमी । वसन्त ऋतुको आगमनमा यहाँ मनाइने ‘भुइसिन्हः’ जात्रा पनि नेपालकै विशिष्ट पर्व हो । जात्रामा सहभागी भएजति सबै श्रद्धालु सुन्तला रंगको सिन्दुरले लतपतै भएर मनाइने यो जात्रा केही वर्ष अघिदेखि नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि पनि आकर्षणको केन्द्र बन्दै आइरहेको छ । पूरै नगर उर्लेर मनाइने यो जात्रा हेर्दा यस्तो लाग्छ, मानौँ ठिमी बालकुमारीको त्यो सानो गल्लीमा सुन्तले रंगको विशाल सुनामी बगिरहेको छ ।

तीतो क्वाँटी खाने दिन
विक्रम संवत्को नयाँ वर्ष लाग्ने दिन वैशाख १ लाई उपत्यकाका नेवार जातिले ‘खाइसंल्हू’ अर्थात तीते संक्रान्तिका रूपमा मनाउने गर्छन् । नेपालभाषामा ‘खायू’ को अर्थ हुन्छ तीतो । अर्थात् यो दिन तीतो खाने पर्व हो । जाडो याममा मनाइने ‘घ्यःचाकु संल्हू’ (माघे संक्रान्ति) मा गुलियो चाकु खाने गरिन्छ भने गर्मी यामको खाइसंल्हूमा तीतो क्वाँटी खाने गरिन्छ । यी दुवै परिकार तत्कालीन मौसमका हिसाबले स्वास्थ्यका लागि अत्यावश्यक छन् ।  
गर्मी याम मूलतः रोगव्याधिले सताउने मौसम हो । यो मौसममा दूषित पानी, फोहोर हावा, बासी खाना आदिका कारण बालबालिका र ठूला मानिसलाई समेत झाडापखालाजस्ता पेटसम्बन्धी रोगले सताइरहेको हुन्छ । त्यसैले पेटमा रहेका कीटाणुहरू नष्ट गरी पेट बलियो पार्न गर्मी यामको सुरुवातमै तीतो क्वाँटी खाने गरिएको हुनुपर्छ । यसका लागि बकाइनोको रूखमा लाग्ने नयाँ पालुवामा सानो केराउ, ठूलो केराउ र कोइरालो उमालेर क्वाँटी बनाउने गरिन्छ । स्वादका लागि यसमा अरू खाद्यान्न पनि थप्न सकिन्छ । यसरी पकाएको क्वाँटी नै यो पर्वमा खाइने मुख्य खाना हो । यो क्वाँटी खाए पेट नदुख्ने, पेटमा लाग्ने कीटाणु मर्ने र गर्मी याममा लाग्न सक्ने रोगव्याधिसँग लड्ने निरोधात्मक क्षमता बढ्ने विश्वास गरिन्छ ।
खाइसंल्हू नेवार जातिले मनाउने एउटा पर्व भए पनि यो ठूलो पर्व भने होइन । यही बेला उपत्यकाको उत्तरी भेगमा अवस्थित प्राचीन बस्तीहरू भक्तपुर, ठिमी–बोडे र टोखामा भने उक्त भेगकै सबैभन्दा ठूला जात्राहरू हुने गर्छन् । जस्तो, भक्तपुरमा बिस्केट जात्रा, ठिमीमा सिन्दुर जात्रा, बोडेमा जिब्रो छेड्ने जात्रा र टोखामा सात खटको जात्रा ।

Leave A Comment