नयाँ वर्षमय पोखरा

शनिबार, ०२ बैशाख २०७४, ०१ : ५२ शुक्रवार , Kathmandu
नयाँ वर्षमय पोखरा

–सन्तोष सुवेदी
‘पोखरा त साँच्चिकै पो पोखरा नै रैछ’ प्रेमप्रकाश मल्ल मधुकरको यो गीतले भनेजस्तै पोखराको सौन्दर्यसँग यहाँ आउने पर्यटक मोहित हुन्छन् । माछापुच्छ्रे,  फेवाताल, धौलागिरी, अन्नपूर्ण तथा मनास्लु हिमालका दृश्यले पाहुनालाई मन्त्रमुग्ध बनाउने गर्छन् ।
स्वच्छ, सफा र सुन्दर शहरले परिचित पोखरा पर्यटकको मुख्य गन्तव्य हो । पोखराको सुन्दरतालाई अझ उचाइमा पु¥याउन यहाँ हुने मेला–महोत्सवले उत्तिकै महŒव राख्छन् । मेलामहोत्सवले पोखराको कला, संस्कृतिको संरक्षणमा टेवा पुगेको पर्यटन व्यवसायी बताउँछन् । अरू बेला विदेशी पर्यटकको व्यापक चहलपहल हुने पोखरा नेपाली नयाँ वर्षमा भने स्वदेशी पर्यटकले भरिभराउ हुन्छ ।
हरेक वर्षजस्तै यो नयाँ वर्षमा पनि पोखरामा थुप्रै कार्यक्रम आयोजना हुने भएका छन् । जसले आन्तरिकदेखि बाह्य पर्यटकलाई नयाँ वर्ष मनाउन पोखरा आउन आग्रह गरेका छन् । नयाँ वर्षको अवसरमा पोखरामा विभिन्न परिकार तथा सांस्कृतिक प्रदर्शन गरिन्छ, जसका साथमा लाइभ म्युजिक तथा दोहोरी गीतको समेत मज्जा लिने गरिन्छ ।
नयाँ वर्षलाई स्वागत गर्दै पश्चिमाञ्चल होटेल संघले फेवा नव वर्ष महोत्सव आयोजना गरेको छ । कोमागाने पार्कमा सञ्चालन भइरहेको महोत्सवको यो चौधौँ संस्करण हो । चैत २९ गतेदेखि सुरु भएको महोत्सव वैशाख २ गतेसम्म चल्नेछ । महोत्सवको मूल नारा ‘फेवातालको संरक्षण गरौँ’ भन्ने रहेको छ । संघका अध्यक्ष एवं महोत्सव संयोजक विकल तुलाचनले फेवा महोत्सवले पोखरामा आउने पर्यटक संख्यामा सकारात्मक प्रभाव परेको बताए ।
संघले आन्तरिक पर्यटकलाई पोखरा भिœयाउनका लागि ‘जाऊँ है पोखरा’ कार्यक्रमको प्याकेज बनाएको छ । प्याकेजमा घुमघाम, शैक्षिक भ्रमण र मुधमास पोखरा समेटिएको छ । प्रतिव्यक्ति वा जोडीका लागि तीन हजार रुपैयाँदेखि २१ हजार रुपैयाँ मूल्यमा प्याकेजअनुसार फेवा तालमा बोटिङ, बन्जी जम्प, अल्ट्रालाइट फ्लाइट, दृश्यावलोकनजस्ता विविध सुविधा समेटिएका छन् ।
नयाँ वर्षमा पोखरा घुम्न आउनेले कविता कन्सर्टको पनि मज्जा लिन पाउनेछन् । साहित्यको प्रमुख विधा कवितालाई व्यावसायिक रूप दिन पोखरामा कविता कन्सर्टको आयोजना गरिएको छ । पब्लिक इभेन्टको आयोजनामा कविता वाचनसँगै कविता गायनलाई जोडिएको छ । वैशाख २ गते दोस्रो संस्करणको कविता कन्सर्ट हुनेछ । कन्सर्टमा तीन कवि विप्लव ढकाल, उपेन्द्र सुब्बा र मोमिला जोशीले चार कविताका दरले दर्जन कविता वाचन गर्नेछन् भने गायक कर्ण दास, लोचन भट्टराई र इतु जोजिजुले प्रत्यक्ष वाद्यवादनका साथ छ कविता गाउनेछन् । कवि भानुभक्त आचार्य, सिद्धिचरण श्रेष्ठदेखि तीर्थ श्रेष्ठसम्मका कविलाई जोड्ने कार्यक्रम हुने संयोजक सञ्चय मल्लले जनाएका छन् ।
लेकसाइडमा रहेको ओजन रेस्टुरेन्ट एन्ड बारले पनि नव वर्ष इभ मनाउन लागेको छ । चैत ३१ गते २० जना मोडलको सहभागितामा तीन चरणमा फेसन सो गर्ने जनाइएको छ । नयाँ वर्षकै अवसरमा ‘माफ पाउँ साँझ २०७४’ को पनि आयोजना गरिएको छ । कार्यक्रममा प्रीति आलेमगर, जयकुमार परियार, ओम गुरुङ, चिना थापामगर, पदम थापामगर, हास्यकलाकार सुरज भीरखोइरे, डान्सर मुस्कान घले, रविना चालिसे, जादुगर बलराम सरकार तथा स्थानीय कमेडी सिरियल ‘खै कुन्नी’का कलाकारको प्रस्तुति रहनेछ । कार्यक्रम साँझ ५ बजेबाट राति १२ बजेसम्म हुनेछ । पोखरा लेकसाइडको माउन्ट कैलाश रिर्सोटमा गाला डिनर पार्टीसँगै वर्षको अन्तिम दिन डिजे सेर्पानी, आरके स्क्वायर ब्यान्ड र सांस्कृति प्रस्तुति रहेनछ ।
२०७२ सालको मध्यतिर सञ्चालनमा आएको पोखरा टे«ड मलले नयाँ वर्षलाई एक विशेष कार्यक्रम गरी मनाउने तयारी गरेको छ । नव वर्ष विशेष कार्यक्रम वैशाख १ गतेदेखि जेठ २६ गतेसम्म रहनेछ । यस अवसरमा ग्राहकलाई बम्पर उपहार, बिंगो हंगामाका साथै फेसन सो तथा पोखरेली सांगीतिक कलाकारको गीत र नृत्य प्रस्तुति गरिनेछ । मलले पहिलो पटक फेसन ट्रेड नामक कार्यक्रमलाई अगाडि सारेको छ । यसमा देशभरिका मोडल सहभागी हुने जनाइएको छ ।
पोखराको लेकसाइडमा रहेका अक्सिजन लाउन्ज बार, आइरिस पब, इमोन्स क्याफे, सुगरक्यान, जोब्रा, फ्रिडम क्याफे, मधुशाला, बीजीवी, त्रिसरा, वन लभ, नेबरहुड, ओरेन्ज हाउस, राइस वुल, डुंगा रेस्ट्रो एन्ड लाउन्ज बार लगायतले कलाकारको प्रस्तुतिका साथै दर्शकले लाइभ म्युजिकमा रमाउने जमर्को गरेका छन् ।
त्यस्तै, डान्सबार, क्याफे, गजल साँझ, दोहोरी साँझले पनि नयाँ वर्षको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेका छन् ।
मेलामहोत्सव र संगीतबाट अलि टाढा रहन चाहनेका लागि पनि पोखरामा थुप्रै आकर्षक गन्तव्य छन् । सराङकोट, लभ्लीडाँडा, पामे, पावरहाउस, माटेपानीगुम्बा, रूपाकोट, काहुँडाँडा, शान्तिस्तुपा, पुम्दीकोट टावर, भद्रकाली मन्दिर, विन्ध्यवासिनी मन्दिर, बन्जीजम्प, धम्पुस तथा पोखरामा रहेका थुप्रै गुफाले भ्रमणलाई सार्थकता दिनेछ ।

Leave A Comment