प्रकाशकीय : पाठकको मन जित्न सफल शुक्रवार

शनिबार, ०२ बैशाख २०७४, ११ : ४८ शुक्रवार , Kathmandu
प्रकाशकीय :  पाठकको मन जित्न सफल शुक्रवार

विनोदराज ज्ञवाली
प्रबन्ध निर्देशक, नेपाल रिपब्लिक मिडिया प्रालि 

नेपाल रिपब्लिक मिडियाको साप्ताहिक प्रकाशन शुक्रवार साप्ताहिक छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ । शुक्रवारको वार्षिकोत्सव तथा नयाँ वर्ष २०७४ को अवसरमा सम्पूर्ण पाठक, विज्ञापनदाता, वितरक, विक्रेता, लेखक, स्तम्भकार तथा शुभचिन्तकलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
शुक्रवारले बितेका छ वर्षमा तय गरेको यात्राबारे सबैभन्दा बढी जानकार यसका आदरणीय पाठक नै हुनुहुन्छ । शुक्रवारले हरेक हप्ता उठान गर्ने विषयमा हुने नवीनता र त्यस विषयको सामाजिक सरोकारकै कारण यसलाई पाठकले रुचाइदिनुभएको हो । पाठकका रुचि र अभिरुचिलाई सम्बोधन गर्ने र समाजमा भएगरेका विभिन्न घटनालाई फरक शैली र स्वादमा उत्खनन् गरेर पाठकसमक्ष पस्किने काममा शुक्रवार सदा सक्रिय रहनेछ । शुक्रवारप्रति पाठकले देखाउनुभएको स्नेह, प्रेम र अपनत्वले हामीलाई थप ऊर्जाशील बनाइरहेको छ । पाठकको प्रेमलाई हामीले आभार र जिम्मेवारीपूर्वक ग्रहण गरेका छौँ ।
नयाँ वर्षको पहिलो दिन नयाँ सुरुवात गर्नुपर्छ भन्ने सोचेर नै हामीले छ वर्षअघि वैशाख १ गतेबाट शुक्रवारको प्रकाशन आरम्भ गरेका थियौँ । पत्रिकाहरूबीच शुक्रवार भिन्न र फरक खालको भएकाले नै यसले पाठकको मन जित्न सफल भएको हो । प्रकाशन सुरु भएदेखि नै पाठकले रुचाइदिनुभएका कारण यो पत्रिका  स्थापित भएको तथ्य तपाईंहरूसँग बाँड्न पाउँदा हामी निकै उत्साहित भएका छौँ । पत्रिकाको शक्ति भनेकै यसका पाठक हुन् भन्ने तथ्यलाई हामीले पूर्णतः आत्मसात् गरेका छौँ ।
मिडियाका प्रकाशनहरू नेपाली भाषामा नागरिक दैनिक, नागरिक पूर्वेली, नागरिक पश्चिमेली र अंग्रेजी भाषामा रिपब्लिका दैनिक तथा शुक्रवार साप्ताहिकलाई पाठकले प्रेमपूर्वक स्विकारिदिनुभएकै कारण हामीले गत फागुनदेखि ‘नागरिक परिवार’ मासिक पत्रिका पनि सुरु गरेका छौँ । हाम्रा अन्य प्रकाशनजस्तै  ‘नागरिक परिवार’ मासिक पत्रिकालाई पनि पाठकले माया गर्नुहुनेछ भन्ने आशा लिएका छौँ । यसै गरी, ब्रोडकास्ट मिडियातर्फ हामी ‘रेडियो नागरिक’ लिएर श्रोतामाझ आएका छौँ ।  
शुक्रवार सातौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा म पत्रिकालाई पठनीय बनाउन निरन्तर खटिने सम्पादकीय टिमलाई धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि पाठकको निरन्तर सहयोग र सद्भावको अपेक्षा गर्दछु ।

Leave A Comment