२०७४ लाई सुखद साल बनाऔँ

बिहिबार, ३१ चैत २०७३, १२ : ३३ शुक्रवार , Kathmandu
२०७४ लाई सुखद साल बनाऔँ

नयाँ वर्ष २०७४ विशेष हुन सक्ने आधारहरू संविधानसभाबाट जारी गरिएको संविधानमै किटान गरिएको छ । ०७४ माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरेर जनताको लामो संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई जगेर्ना गर्न सकियो भने मात्र जनताको मुहारमा खुशी ल्याउन सकिन्छ । आफ्ना प्रतिनिधिले लेखेको संविधान कार्यान्वयन भएकोमा जनताले यो वर्षभरि नै ‘न्यू इयर सेलब्रेसन’ गर्नेछन् । संविधानको पूर्ण कार्यान्वयनविना संघीय लोकतान्त्रिक गाणतन्त्र संस्थागत हुन नसक्ने भएकाले संविधानमा तोकिएको यो ‘असाइनमेन्ट’लाई राजनीतिक नेतृत्वले पूरा गर्न सक्दा मात्र सबैका लागि २०७४ साल सुखद हुनेछ । संविधानमा किटान गरिएको सीमालाई ‘क्रस’ गर्ने र राजनीतिक खिचातानी मात्रै गरिरहने हो भने जनताले यो वर्ष पनि निराश भएर बिताउनुपर्ने छ । आउँदो माघ ७ भित्र सबै तहको निर्वाचन हुन सकेन भने संविधान कार्यान्वयन नहुने र गणतन्त्र नै धरापमा पर्ने स्थिति बन्न सक्छ । यदि यस्तो अप्रिय अवस्था सिर्जना भयो भने जनताका लागि ०७४ साल खराब वर्षका रूपमा इतिहासमा चित्रित हुनेछ । सरकारले वैशाख ३१ गतेका लागि तोकेको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुन सक्यो भने मात्र हामी माघ ७ गतेको समयसीमालाई ‘मिट’ गर्न सक्नेछौँ । कथम्कदाचित वैशाख ३१ गते निर्वाचन नहुने वा भाँडिने अवस्था बन्यो भने त्यसले पूरै राजनीतिलाई अन्योलग्रस्त बनाउनेछ । संविधानमा विमति राख्दै आन्दोलनरत मधेशी मोर्चालाई मनाउन सरकारले यसअघि संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको छ । सरकारले मधेशी मोर्चालाई समेटेर निर्वाचन गर्न देखाएको लचकतालाई आन्दोलनरत पक्षले सकारात्मक रूपमा लिनुको विकल्प छैन । जनता निर्वाचनको व्यग्र प्रतीक्षामा रहेको तथ्यलाई राजनीतिक शक्तिले बुझ्न सक्नुपर्छ ।  
नयाँ वर्षको प्रारम्भ वार्षिक ‘क्यालेन्डर’को फेरबदल मात्र होइन । नयाँ वर्ष, नयाँ संकल्प र बितेको वर्षको समीक्षा गर्ने अवसर पनि हो । त्यसैले अघिल्लो वर्षमा गरेका गल्तीहरू नदोहो¥याउनेतर्फ दल तथा तिनका नेतृत्वको ध्यान जानुपर्छ । ‘न्यू इयर रिजोल्युसन’ व्यक्त गर्ने र त्यसलाई पूरा गर्ने सवालमा हामी निकै कमजोर छौँ । हाम्रो राजनीतिक नेतृत्वको त झन् यसमा धेरै नै कमजोरी देखिन्छ । बोलेका र प्रतिबद्धता व्यक्त गरेका अधिकांश कुरा पूरा नगर्नेमा नेताहरू नै अगाडि छन् । साह्रै थोरै संकल्प व्यक्त गर्ने र गरेका संकल्प पनि पूरा नगर्ने नेताहरूको बानी छ । अब होला कि ? अब केही होला कि ? भन्दै जनताले धेरै वर्ष आशैआशमा बिताएका छन् । हरेक नयाँ वर्षको सुरुवातमा यो वर्ष त केही होला ? भनेर आशावादी हुने जनतालाई राजनीतिक नेतृत्वले नै निराश बनाउने गरेको छ । नयाँ वर्षलाई नयाँ उत्साहमा बदल्ने हो भने अघिल्लो वर्ष जारी गरिएको संविधानमा कार्यान्वयनमा सबैको ध्यान जान जरुरी छ । जनता छ दशक लामो सपना साकार हुँदा पनि किन खुलेर खुशी हुन सकिरहेका छैनन् ? संविधानमा लिपिबद्ध गरिएका अधिकार कार्यान्वयन चरणमा नजाँदासम्म जनताले परिवर्तनको महसुस गर्न सक्नेछैनन् । आर्थिक समृद्धि र विकासका लागि जनताले राजनीतिक स्थायित्व चाहेका छन् । त्यसका लागि दलीय स्वार्थभन्दा माथि उठेर दलहरूले काम गर्नुपर्छ ।  
नेपालमा हरेक महिनाजसो कुनै न कुनै जाति वा समुदायको नयाँ वर्ष परिरहेको हुन्छ । विभिन्न जातजाति तथा समुदायले आ–आफ्ना नयाँ वर्ष मानिरहेका हुन्छन् । यसरी हेर्दा नेपालीहरू वर्षभरि नै ‘न्यू इयर मुड’ मा हुन्छन् । तर, उनीहरूको मुडलाई वास्तविक खुशीमा बदल्न चाहिने आर्थिक उन्नति र प्रगति भने हुन सकेको छैन । इस्वी संवत्को नयाँ वर्षमा रमाइलो गर्ने जमात विक्रम संवत् फेरिँदा पनि खुशी भइरहेको हुन्छ । तामाङ समुदायको ल्होसारदेखि नेवारहरूको नेपाल संवत्मा रमाउनेहरूको कुनै कमी छैन । नयाँ वर्षको सुरुवातसँगै मानिसका केही नयाँ योजना बन्छन् । तर, नेपाली समाजमा ‘न्यू इयर रिजोल्युसन’ भनेर मानिसले खासै केही प्रतिबद्धता व्यक्त गर्दैनन् । तपाईंको नयाँ वर्ष संकल्प के छ भनेर सोध्यो भने प्रायः सबैले नयाँ वर्षका अवसरमा गर्ने खानपिनको कुरा गर्छन् । नयाँ वर्षको बहानामा रामाइलो गर्ने चलन बढे पनि नयाँ वर्षमा केही नयाँ गरेर देखाउने प्रतिबद्धता कमैले गर्छन् । योजनाबद्ध तरिकाले अघि बढ्ने ‘कल्चर’को अभावमा हामीहरू जे आइपर्छ टर्दै जान्छ भन्ने मनस्थितिमा बसिरहेका हुन्छौँ । हरेक वर्ष फेरिने पात्रोको साक्षी बस्ने बाहेक हामीले नयाँ वर्ष भनेर नयाँ उपलब्धि केही हासिल गरेका छैनौँ ।
नयाँ वर्ष २०७४ को उपलक्ष्यमा सम्पूर्ण पाठक, लेखक, स्तम्भकार, विज्ञापनदाता, वितरक, विक्रेता तथा शुभचिन्तकलाई हार्दिक शुभकामना !

Leave A Comment