कोरियामा रोजगारी : परीक्षा पास गर्दैमा कोरिया जान पाइँदैन

बुधबार, ३० चैत २०७३, ०१ : २८ रुद्र खड्का , Kathmandu
कोरियामा रोजगारी : परीक्षा पास गर्दैमा कोरिया जान पाइँदैन

सन् २०१८ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान दरखास्त फारम भर्नेदेखि भाषा परीक्षा सञ्चालन गर्ने मिति तय भइसकेका बेला कतिपय युवायुवतीले कतिबेला कोरिया जान पाइएला भनेर हतार गरिरहेको देखिन्छ ।

स्वदेशमा रोजगारीमा अवसर नपाइरहेको बेला कोरियाबाट राम्रा रोजगारीका अवसर आउँदा बेरोजगार या न्यून पारिश्रमिकमा काम गरिरहेका युवायुवतीको कोरियाप्रति उत्साह बढ्नु नराम्रो भने पक्कै होइन । तर, यस्तो उत्साहको बेला आफूलाई संयमित बनाउन भने नछोड्नुस् है ।
किनकि, भाषा परीक्षा उत्तीर्ण गर्दैमा मात्र कोरिया जान पाइँदैन । कोरिया जानका लागि भाषा परीक्षा उत्तीर्ण गर्नु आधारभूत योग्यता भए पनि रोजगारीको ग्यारेन्टी भने होइन । त्यसैले कोरिया नउड्दासम्म आफूले गरिरहेको काम या काम गर्न बनाएको योजनालाई निरन्तरता दिन जरूरी छ । विगतमा कोरियन भाषा उत्तीर्ण गरेका १० हजारभन्दा बढी युवायुवती कोरियन रोजगारदाताको छनोटमा नपर्दा कोरिया जान पाएनन् । जसले गर्दा कोरियन भाषा अध्ययन गर्दादेखि अन्य प्रक्रियामा कैयन युवायुवतीले लाखौँ रकम स्वाहा पारेका उदाहरण तमाम छन् ।
भाषा परीक्षा उत्तीर्ण गरेकै कारण तपाईंले पनि कोरिया सपना देख्न थाल्नुभएको छ भने अझै पर्खनुहोस् । भाषा परीक्षा उत्तीर्ण गर्नु भनेको कोरिया जानका लागि एउटा खुडकिलो मात्र पार गरिएको हो ।
भनिन्छ– ‘जसले धेरै महŒवाकांक्षा लिन्छ । त्यस्ता व्यक्तिको जीवन कुनै न कुनै क्षणमा निरस र पीडादायी हुन्छ’ । स्वदेशमा रोजगार पाउन नसकेको बेला र ५० डिग्री तापक्रममा खाडीमा काम गर्नुपर्ने बाध्यताको अघिल्तिर कोरियाको रोजगारी बेरोजगार युवायुवतीका लागि निकै आकर्षक हो । कतिपयका लागि सपना हुन सक्छ । थोरै लगानीमा मासिक एक लाख रुपैयाँभन्दा बढी कमाउन पाइने भएपछि स्वदेशमा राम्रै जागिर र व्यवसायमा रहेका र स्नातक, स्नातकोत्तर अध्ययन सकाएका युवायुवतीको ध्यान वर्षैपिच्छे कोरियातिर तानिएको पाइन्छ ।
कोरियन भाषाको परीक्षामा सहभागी हुनकै लागि हजारौँ युवाले प्रयास थाल्ने क्रम पछिल्ला वर्ष बढेको बढ्यै छन् । तर, कोरिया भने तीमध्ये निकै थोरै मात्र जान पाउँछन् । ईपीएस शाखाका अधिकृत शोभाकर भण्डारी कोरियन भाषाको परीक्षामा उत्तीर्ण हुनु भनेको कोरिया जानका लागि पहिलो आधार भए पनि ग्यारेन्टी भने होइन । भाषा परीक्षा उत्तीर्णपछि स्वास्थ्य परीक्षणमा सफल हुनुको साथै कोरियन रोजगारदाताको छनोटमा पर्नु पर्ने भएकाले भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया पुगेको सपना नदेख्न भण्डारी सल्लाह दिन्छन् । भाषा परीक्षा उत्तीर्ण गरेपछि पनि कोरियन रोजगारदाताले मन नपराएका या रोजगारी सिर्जना नगर्दा भाषा परीक्षा उत्तीर्ण गरेका १० हजार युवायुवती अझै कोरिया जान पाएका छैनन् ।
पछिल्लो समयमा कोरिया जाने युवायुवतीको चाहना बढेपछि राजधानीमा बग्रेल्ती खुलेका भाषा सेन्टरले कोरिया जानका लागि भाषा परीक्षा नै सबथोक हो जस्तो व्यवहार गर्दा कैयौँ युवायुवती झुक्किने गरेको ईपीएस शाखाका कर्मचारी बताउँछन् । गाउँ–गाउँबाट आएका युवायुवतीलाई कोरिया जाने हो भने भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने र त्यसको जिम्मा आफ्नो इन्स्च्यिुटले लिने भन्दै झुक्याउने धन्दा निकै बढेको देखिन्छ ।
ईपीएस शाखाका कर्मचारीका अनुसार परीक्षार्थीले इन्स्टिच्युटमा नगईकन पनि कोरियन भाषाको अध्ययन गरी भाषा परीक्षामा सहभागी हुन सक्छन् । पछिल्लो समयमा कोरियन भाषा पढाउने कतिपय इन्स्टिच्युटले कोरिया जाने खर्च भन्दा पनि बढी रकम असुल गर्न थालेको पीडितहरू बताउँछन् ।
चार वर्षअघि भाषा परीक्षा उत्तीर्ण गरेका धनगढीका पुष्पराज भट्टले भने, ‘भाषा परीक्षा अध्ययन गर्दागर्दै ६० हजार रुपैयाँ सकियो । पछि त कोरियाबाट माग नआउँदा अहिलेसम्म जानै पाएको छैन ।’ दुई÷तीन महिना अध्ययन गरे पुग्नेमा इन्स्टिच्युटले उनलाई विभिन्न प्रलोभन देखाएर करिब एक वर्षसम्म कोरियन भाषा अध्ययन गर्न बाध्य पारेको थियो । ‘इन्स्टिच्युटले भने अनुसार पढ्दै र रकम बुझाउँदै गएँ,’ उनले भने, ‘प्रलोभन देखाउनुको कारण त ठगी गर्नलाई पो रहेछ ।’ एक पटक भाषा परीक्षामा सफल भएको व्यक्ति दुई वर्षसम्म कोरिया पुगिसक्नुपर्छ । कुनै कारणवशः कोरिया जान नपाए त्यस्ता युवायुवतीले दुई वर्षपछि पुनः भाषा परीक्षामा प्रतिस्पर्धा गर्नुपर्छ ।
सन् २०१७ मा कोरियाको कृषि क्षेत्रमा काम गर्न २१ सय र औद्योगिक क्षेत्रका लागि एक हजार कामदार लैजानका लागि भाषा परीक्षामा छ महिना करिब ६१ हजारभन्दा बढी युवायुवती परीक्षामा सामेल भएका थिए । ईपीएस कोरिया शाखाका अधिकृत भण्डारी युवायुवतीको बढ्दो विदेश मोह घटाउन नेपालमा विशेष खाले योजना बनाउनुपर्ने बताउँछन् । ‘वैदेशिक रोजगारीको कमाइले देश बन्दैन भन्ने यथार्थ सबैलाई बुझाउन आवश्यक परिसकेको छ,’ उनले भने, ‘यस्तै विदेश मोह कायम रहे देश युवाविहीन नहोला भन्न सकिन्न ।’ अघिल्लो वर्ष ३१ सय कोटाका लागि करिब ६१ हजारले प्रतिस्पर्धा गरेको बेला यो वर्ष कोरियाले कोटा वृद्धि गरी १० हजार २ सय पु¥याएकाले करिब एक लाखले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
कामदार छान्ने प्रक्रिया
कोरिया छनोटको पहिलो आधार भाषा परीक्षा उत्तीर्ण गर्नु हो । भाषा परीक्षामा जसले सबभन्दा बढी अंक ल्याउँछन् । ती युवायुवतीको नामावली रोस्टर सूचिमा राखेपछि कोरियाका रोजगारदाताले कामदार छनोट गर्छन् । भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरियामा रोजगारीको ग्यारेन्टी हुँदैन । भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाए त्यस्ता युवायुवती कोरिया जान पाउँदैनन् ।
दुई वर्षको अवधिमा रोजगारदाताले नबोलाए कोरियन भाषा उत्तीर्ण गरेका युवायुवतीको नाम रोस्टर सूचिबाट हट्छ । र, त्यस्ता युवायुवती कोरिया जान अयोग्य हुन्छन् । सन् २००८ यता नेपालबाट करिब ४२  हजार युवायुवती कोरिया गइसकेका छन् । भाषा परीक्षा भने ५० हजार ३ सय ६५ ले उत्तीर्ण गरेका छन् । जसमा महिलाको संख्या ४ हजार ३ सय ७४ छ । भाषा परीक्षा उत्तीर्ण गरेका महिलामध्ये अहिलेसम्म २ हजार ६ सय ६४ कोरियन रोजगारदाताको छनोटमा परेका छन् । ५० हजार ३ सय ६५ ले भाषा परीक्षा उत्तीर्ण गर्दा भाषा परीक्षाको प्रतिस्पर्धामा भने ३ लाख ३२ हजार ४ सय २ जना सहभागी भएको ईपीएस कोरिया शाखाले जनाएको छ । सन् २००८ देखि कोरियाले नेपालबाट कामदार लैजान थालेकोमा सन् २००९ र सन् २०१२ मा भने विभिन्न कारण देखाउँदै कामदार लिएन ।

कोरिया जान ७५ हजारको आवेदन दरखास्त
रोजगारीका लागि कोरिया जान निर्धारित कोटाभन्दा सात सय प्रतिशत बढीको आवेदन परेको छ । सन् २०१८ मा कोरिया जानका लागि मागिएको आठौँ भाषा परीक्षाको दरखास्तमा ७५ हजार ६ सय ७ जनाले आवेदन दिएको शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले जानकारी दिए । यसपटक कोरियाले कोटा भने  १० हजार २ सय तोकेको छ ।
चैत ९ गतेदेखि १८ गते राति १२ बजेसम्म अनलाइनमार्फत फारम भरेका व्यक्तिहरूको परीक्षा आउँदो जेठ २७ र २८ गते काठमाडौँमा हुने भण्डारीले बताए । अघिल्लो वर्ष पोखरामा परीक्षा केन्द्र राखिए पनि यो वर्ष काठमाडौँमा मात्र केन्द्र राखिएको छ । असार १६ गते परीक्षाको नतिजा प्रकाशन भएपछि सफल व्यक्तिहरूको कोरिया जाने बाटो खुल्नेछ । गत वर्षको तुलनामा यो वर्ष दरखास्त दिनेको संख्या करिब १५ हजारले बढी हो । गत वर्ष भाषा परीक्षाका लागि करिब ६१ हजारले प्रतिस्पर्धा गरेका थिए । करिब ६१ हजारले प्रतिस्पर्धा गर्दा कोरियाले कामदारको कोटा भने ३ हजार १ सय तोकेको थियो । कोरिया जान लालायित युवायुवतीबाट कोरिया सरकारले करिब १९ करोड रुपैयाँ संकलन गरेको छ । दरखास्त फारम बुझाउँदा तोकिएको २४ अमेरिकी डलर अर्थात् करिब २ हजार ५ सय रुपैयाँ शुल्कलाई आधार मान्दा यसपटक १८ करोड ९० लाख १७ हजार रुपैयाँ संकलन भएको हो ।

‘रोस्टरमा नाम हुने सबैलाई कोरिया लैजान भनिरहेका छौँ’
बाबुराम खतिवडा

प्रमुख, ईपीएस शाखा
सरसर्ती हेर्दा भाषा परीक्षा उत्तीर्ण गरेका सबै कोरिया जानुपर्ने हो । हामीले पनि कोरियन अधिकारीसँग कुरा गर्दा भाषा परीक्षामा सफल भइसकेपछि उनीहरूलाई कोरियामा रोजगारीको ग्यारेन्टी हुनुपर्छ भनेका छौँ । तर, भाषा परीक्षा उत्तीर्ण गरेका सबै कोरिया जान नपाएको अवस्था छ । भाषा परीक्षा उत्तीर्ण गरे पनि रोजगारदाताले नबोलाएसम्म कुनै पनि कामदार कोरिया जान पाउँदैन । कामदार कोरिया जान पाउने या नपाउने भन्ने कुरा नितान्त कोरिया रोजगारदाताको तजबिजमा भरपर्छ । यसका बाबजुद नेपाली युवायुवती कोरियामा रुचाइएका श्रमिक हुन् । कोरियामा गएका युवायुवतीमध्ये कृषि क्षेत्रमा काम गर्नेको केही समस्या देखिए पनि बाँकी सेक्टरको काम सन्तोषजनक नै छ । आशा छ अहिलेका समस्या पनि बिस्तारै समाधान होलान् । हामीले पनि प्रयास गरिरहेका छौँ । यसमा अझै माथिल्लो तहबाट कुरा हुन आवश्यक छ ।

 

Leave A Comment