फड्को मार्दै स्वदेशी लुब्रिकेन्ट

सोमबार, २८ चैत २०७३, ०१ : ०५ दिलीप पौडेल , Kathmandu
फड्को मार्दै स्वदेशी लुब्रिकेन्ट

सवारी साधनमा प्रयोग हुने लुब्रिकेन्टको बजार विस्तार हुँदै जाँदा स्वदेशी उत्पादनले पनि गुणस्तर कायम गरी हिस्सा जमाउँदै गएका छन् । प्रयोगकर्ताको आकर्षण बढेपछि स्वदेशी उद्योगले उत्पादन बढाउँदै लगेका हुन् ।
२०५८मा स्थापना भएको पूर्वाञ्चल लुब्रिकेन्ट आयल (पीएलओ)ले स्वदेशीसहित बजार मात्र नभएर विदेश निर्यात गर्ने तयारी गरेको छ । वार्षिक २० हजार लिटर लुब्रिकेन्टबाट सुरु गरेको पीएलओले अहिले वार्षिक ३० लाख लिटर उत्पादन गर्दै आएको छ ।
गुणस्तरीय लुब्रिकेन्ट भएकाले बजारमा माग बढ्दै जाँदा उत्पादन बढाएको पूर्वाञ्चल लुब्रिकेन्ट आयलका अध्यक्ष भोला दुलालले बताए । ‘यो वर्षदेखि विदेशमा पनि निर्यात गर्ने तयारी गरेका छौँ,’ दुलालले भने, ‘आईएसओ प्रमाणपत्र लिइसकेकोले उपभोक्ताले नेपाली उत्पादनलाई पनि मन पराएका छन् ।’ पीएलओले गुणस्तर र व्यवस्थापनमा आईएसओ प्रमाणपत्र पाएको बताए । पीएलओ लुब्रिकेन्ट उत्पादन गर्दै आएको पूर्वाञ्चल ल्युब आयल प्रालि मोरङले अहिले पीएलओसहित स्टार, मेगा ब्रान्डमा लुब्रिकेन्ट उत्पादन गरिरहेको छ । १५ वर्ष अघिदेखि सुरु भएको पीएलओ लुब्रिकेन्ट नेपाली उत्पादनको ३५ प्रतिशत बजारमा हिस्सा ओगटेको दुलालको दाबी छ । पीएलओले मात्र वार्षिक करिब सय करोड रुपैयाँको कारोबार गर्छ ।
यहाँ पूर्वाञ्चल आयलसहित नेपाल ल्युब आयल लिमिटेडले गल्फ आयल, फुजिमा आयल कम्पनी लिमिटेडले कन्ट्रोल, नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रालिले म्याक्सोल, नेपाल पेट्रो केमिकल केमोलियम्स ब्रान्डलगायत विभिन्न ब्रान्डमा १० उद्योगले लुब्रिकेन्ट उत्पादन गर्दै आएका छन् । साना लगानीदेखि एक अर्ब रुपैयाँको लगानीमा उद्योग सञ्चालित छन् । नेपालमा लुब्रिकेन्टको बजार करिब ११ अर्ब रुपैयाँ रहेको छ ।

कच्चा पदार्थ विदेशवाट ल्याएर विभिन्न उद्योगले लुब्रिकेन्ट बिक्री गरिरहेका छन् । यहाँ उत्पादन भएका लुब्रिकेन्टको गुणस्तर राम्रो भएकाले आत्मविश्वासका साथ सबैले प्रयोग गर्ने गरेका छन् । सरकारले उपयुक्त वातावरण सिर्जना गरे यसको उत्पादन बिस्तार हुँदै जाने उद्योगी बताउँछन् ।
नेपाली लुब्रिकेन्टको बजार करिब छ सय करोड रुपैयाँ पुगेको राष्ट्रिय अटो मोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का महासचिव कृष्णप्रसाद दुलालले बताए । ‘स्वदेशी उत्पादनले लुब्रिकेन्टको बजार १० प्रतिशतबाट बढेर ३३ प्रतिशत पुगेको छ,’ पूर्वाञ्चल आयलका निर्देशकसमेत रहेका दुलालले भने, ‘सरकारले कच्चा पदार्थमा सहुलियत दिए केही समयमै बजारको ५० प्रतिशत मागलाई स्वदेशी उद्योगले नै पु¥याउँछौँ ।’
अहिले करिब चार अर्ब रुपैयाँको लुब्रिकेन्ट आयात भइरहेकोमा यसलाई घटाउन सकिने बताउँछन्् । अटोमोबाइलको बजार हरेक वर्ष दोब्बर वृद्धि हुँदै गएकाले लुब्रिकेन्टको माग पनि बढ्दै जाँदा यसका उद्योगको अवसर पनि बढ्दै गएको छ । यहाँका उद्योगीले क्रुड आयल आयात गरेर लुब्रिकेन्ट, क्रिज बनाएर बिक्री गर्ने गरेका छन् । मुलुकमा करिब ९० प्रकारका क्रिज उत्पादन भइरहेको व्यवसायीको दाबी छ ।
स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन दिनुपर्ने माग गरेका छन् । सरकारी नीतिमा १० प्रतिशत महँगो भए पनि नेपाली उत्पादन किन्न सकिने व्यवस्था भए पनि सो अनुरूप व्यवहारमा नल्याउँदा कठिनाइ भएको गुनासो छ । स्वदेशी उत्पादन गुणस्तरीय रहेको महासचिव दुलालले बताए । ‘नेपाली उत्पादन स्ट्यान्डर्ड अनुसारका छन्,’ उनले भने, ‘ग्रेडको आधारमा प्रयोग गर्न सकिन्छ ।’
लुब्रिकेन्ट उद्योगमा करिब पाँच अर्ब रुपैयाँ लगानी पुगेको महासचिव दुलालले बताए । ‘एउटै उद्योगले अर्ब रुपैयाँसम्म लगानी पु¥याएका छन्,’ उनले भने, ‘सरकारले सहयोग गरे आयात घट्दै जान्छ ।’ यो उद्योगले करिब दुई हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
लुब्रिकेन्ट उद्योगलाई चाहिने कच्चा पदार्थ ( बेस आयल) आयात गर्दा १५ प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र अन्य शुल्क गरी कुल २९ दशमलव ५ प्रतिशत भन्सार महसुल बुझाउँदा उद्योग सञ्चालनमा कठिनाइ भएको उद्योगीको गुनासो छ । सरकारले कच्चा पदार्थलाई तयारी वस्तुमा जस्तै भन्सार नलगाई केही सहुलियत दिने हो भने नेपाली लुब्रिकेन्टको बजार हिस्सा बढ्ने उद्योगी बताउँछन् ।
नेपाली लुब्रिकेन्टले भारतीय तथा तेस्रो मुलुकबाट आयात हुने लुब्रिकेन्टसँग प्रतिस्पर्धा गर्न कठिनाइ भएको व्यवसायीको गुनासो छ । विदेशमा लुब्रिकेन्ट उद्योगलाई सरकारले सहुलियत दिए पनि यहाँ कच्चा पदार्थ आयातमा समेत सहुलियत नदिएको व्यवसायीको गुनासो छ ।

 

Leave A Comment