‘कति कमाइस् भन्ने प्रश्नै वाहियात लाग्छ’

सोमबार, २८ चैत २०७३, १२ : ४० गोपाल दाहाल , Kathmandu
‘कति कमाइस् भन्ने प्रश्नै वाहियात लाग्छ’

गायक गंगा वरदानका ‘छपनीले छान् छान्’, ‘बजारै भरौँ न धरानै’, ‘राजाको हात्ती फुकेछ राति’ लगायत गीत चर्चित छन् । उनीसँग गोपाल दाहालले गरेको सुर संवादः

अचेल के गरिरहनुभएको छ ?
जीवनै संगीतमा बित्यो, त्योबाहेक केही गरिएन । धरानमा हुने सानातिना कार्यक्रममा गाउँछु । नयाँ गीत बनाउँदैछु । ‘धराने हावा’ भन्ने गीत रेकर्ड भयो ।

संगीत क्षेत्रमा कसरी लागियो ?
म जन्मेको ठाउँ भोजपुरको दिङ्ला प्राकृतिक सौन्दर्यको खानी हो । त्यहाँको वातावरणले नै संगीत, साहित्यमा लाग्न प्रेरित ग¥यो । सानो छँदा गाउँमा स्वस्थानी पूजा, बिहेतिर गाउँथेँ । अलिअलि नाच्थेँ पनि । यसै गरी लागियो संगीतमा ।

‘छपनीले छान् छान्’ गीत कहिलेदेखि गाउन थाल्नुभएको हो ?
२०३१ सालमा धरानमा गायन प्रतियोगिता भएको थियो । त्यसैमा भाग लिँदा यही गीतबाट प्रथम भएँ । तर, यो गीत रेकर्ड चाहिँ २०५४÷५५ सालतिर मात्र भएको हो ।

लट्टा परेको कपाल अनि पहिरनको बेग्लै शैली छ तपाईंको । धेरैले तपाईंलाई नेपाली बब मार्ली भन्दा रहेछन् नि ?

मेरो सुरुदेखिकै कपाल र पहिरनको शैली यस्तै हो । कसैको सिको गरेको होइन । फरक देखिन मन लागेर यस्तो गरेको हो । पत्रकारहरूले नेपाली बब मार्ली भनेर लेखिदिएका थिए । धेरैले मसँग पनि यसै भन्छन् । तर, म गंगा वरदान नै हुँ, एउटा यायावर गायक ।  

संगीतमा धेरै लामो समयदेखि हुनुहुन्छ । जीवनयापन भइरहेको छ त ?
यो प्रश्नको जवाफ कसरी दिऊँ ? गंगा वरदान भनेर सबैले चिन्छन् । नेपाली जहाँ–जहाँ छन्, ती ठाउँमा पुगेर गीत लेखेको छु, गाएको छु । कमाइको कुरा गर्ने हो भने चाहिँ उल्लेख गर्न लायक केही छैन । दुःखसुख चलेकै छ जिन्दगी । एकपटक सिक्किममा गएको थिएँ । त्यहाँका एक जनाले मलाई प्रश्न गरे, ‘तपाईंका यति धेरै गीत हिट छन्, तीन पुस्तालाई पुग्ने सम्पत्ति कमाउनुभयो होला नि ?’ के भन्नु, कसो गर्नु भएँ । मसँग जवाफ थिएन । कति कमाइस् भन्ने प्रश्नै वाहियात लाग्छ मलाई ।

कसका गीत बढी सुन्नुहुन्छ ?

पुराना धेरै गायकगायिकाका गीत मन पर्छन् । गोपाल योञ्जन मेरा प्रिय गायक हुन् । स्वर, संगीत र शब्दको त्रिवेणी हुन् उनी । उनी जत्तिको प्रतिभाशाली अरू लाग्दैन ।

तपाईंका कति गीतका भिडियो बनेका छन् ?
पहिला गीतै काफी हुन्थ्यो । अहिले जमाना फेरियो । ‘अरुणै त¥यो’, ‘कहाँमा काट्यो बेतको लौरी,’, ‘बजारै भरौँ न धरानै’लगायत केही गीतका त पहिले नै भिडियो बनिसकेका थिए । ‘छपनीले छान् छान्’ को चाहिँ धेरै पछि भिडियो बनेको हो ।

Leave A Comment