ओथारो बसेका पुरुष

सोमबार, २८ चैत २०७३, १२ : ३७ शुक्रवार , Kathmandu
ओथारो बसेका पुरुष

अण्डाबाट चल्ला कोरल्न कुखुरा ओथारो बस्छ । मान्छे ओथारो बस्यो भने के हुन्छ ? अचम्म हुन्छ !
फ्रान्सका एक जना कलाकार ओथारो बसेर चल्ला कोरल्ने प्रयत्न गरिरहेका छन् । अब्राहम पाइन्सबल चल्ला नकोरुञ्जेल एक दर्जन अण्डामाथि बस्ने भएका छन् । राजधानी पेरिसको आधुनिक कला संग्रहालयमा सिसाको क्याबिनमा बसेर अब्राहम ‘मानव कुखुरा’ भएका छन् ।
अब्राहमको यो खास प्रदर्शनीको नाम ‘एग’ हो । यो प्रदर्शनी तीनचार हप्तासम्म चल्न सक्छ । यस क्रममा २४ घण्टामा उनले आधा घण्टा मात्र ब्रेक (छुट्टी) पाउनेछन् । उनी २६ दिनसम्म अण्डामाथि बस्नेछन् । उनी आफ्नो शरीरको गर्मीले अण्डालाई सेकिरहेका छन् ।
विज्ञहरू उनको यो अनौठो कामलाई निरर्थक प्रयत्न भनिरहेका छन् । उनीहरूका अनुसार अब्राहमले चल्लालाई जन्मनुअघि नै मार्नेछन् ।
यस खास कामका लागि अब्राहम खास खालको भोजन गरिरहेका छन् । शरीरमा ताप कायम गर्न अदुवाको जुस पिउँछन् । अण्डाको तापक्रम कम्तीमा ३७ डिग्री सेल्सियस बनाउन उनी कोसिस गरिरहेका छन् । साथै, उनले अण्डा नफुट्ने गरी बस्ने व्यवस्था पनि मिलाएका छन् ।

 

Leave A Comment