‘सानोमा सल बेरेर क्याटवाक गर्थें’

सोमबार, २८ चैत २०७३, १२ : ३० सामीप्यराज तिमल्सेना , Kathmandu
‘सानोमा सल बेरेर क्याटवाक गर्थें’

फिल्म ‘के म तिम्रो होइन र’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी मरिष्का पोखरेलले त्यसयता ‘चपली हाइट २’ मा अभिनय गरिन् । हाल तेस्रो फिल्म ‘लम्फू’को सुटिङमा व्यस्त उनले फिल्ममा अभिनय बलिउड फिल्म ‘यारा’बाट सुरु गरेकी थिइन् । उनीसँग फिल्म र व्यक्तिगत जीवनका बारेमा सामीप्यराज तिमल्सेनाले गरेको अन्तरंग कुराकानी ।

तपाईं त बलिउडको फिल्मबाट डेब्यू गरेको मान्छे । उतै करिअर सुरु गर्न मन लागेन ?  
 मैले बलिउड फिल्म ‘यारा’मा पहिलो पल्ट क्यामरा फेस गरेकी हुँ । तर, त्यतिबेला बलिउड फिल्म नै गर्छु भनेर गरेकी थिइनँ । एक्सिडेन्ट्ली त्यो प्रोजेक्टमा पुगेकी थिएँ । त्यही भएर गइनँ । अनि मलाई नेपालमा पाइरहेको काम नै पुग्दो छ । यहाँ पाइरहेको काम छाडेर, संघर्ष गर्न किन जानु ?

कसरी पुग्नुभएको थियो त्यो फिल्मसम्म ?
म त्यतिबेला ¥याम्प सोहरू गरिरहेकी थिएँ ।  जापानबाट नेपाल आएको धेरै पनि भएको थिएन । कहीँबाट बलिउड फिल्मले कलाकार खोजिरहेको छ भन्ने थाहा पाएँ । एकचोटि प्रयास गरूँ न त भनेर अडिसनका लागि गएकी थिएँ, छानिएँ ।

रोल के थियो  ?  
फिल्ममा तीन जना हिरो छन् । विद्युत जामवाल, अमित साद र केनी । मैले अमित सादको लभ इस्टरेस्टको भूमिका गरेको छु । क्यासिनोमा पहिलो भेटमै मन पराउँछ । फिल्म रिलिज हुन बाँकी छ । बाँकी कथा चाहिँ नखोलौँ ।

नेपालमा मात्र सुटिङ गर्नु भयो कि भारत पनि जानु भयो ?
गएकी थिएँ । जम्मा चार दिन सुटिङ भयो । त्योमध्ये दुई दिन नेपालमा र दुई दिन मुम्बईमा भएको थियो ।

यति सबै कुरा गरेपछि पैसा कति लिनुभयो, त्यो पनि भन्दिनुस् न त ?
अहिले पूरा नेपाली फिल्म खेलेको हामी जति पैसा पाउँछौँ, त्यति नै पाएकी थिएँ ।

यो फिल्ममा काम गरेको अनुभव कत्तिको काम लागेको अनभूति भएको छ ?
यो फिल्मको सुटिङ सकेर मुम्बई फर्केको भोलिपल्ट हो, मैले म्युजिक भिडियो खेलेको । त्यतिबेला निर्देशकले ‘तिमी त सोनाक्षी सिन्हाजस्तै छौ, जे पनि चाँडै टिप्ने’ भनेर प्रशंसा गर्नुभएको थियो । बलिउडको राम्रै फिल्म बनाएको निर्देशकले यत्तिको कम्प्लिमेन्ट गरेपछि निश्चय नै कन्फिडेन्स बढ्छ ।

हिरोइन बन्ने पहिलेदेखिकै रहर हो कि ‘यारा’को अडिसनमा गएजस्तै संयोग हो ?
पहिलेदेखिकै रहर हो । आजभोलि मलाई ममीले मैले नक्कल पार्ने गरेका धेरै किस्सा सुनाउनुहुन्छ । सानो उमेरमा नै कसैको सल भेट्यो कि बेरेर क्याटवाक गर्थें रे । अनि कसैले नाम सोध्यो भने टीभीमा जुन हिरोइनको फिल्म हे¥या छ, उसैको नाम भन्दिने । पछि म १२ कक्षा सक्नेबित्तिकै जापान गएँ । त्यहाँ पनि एक दिन सपिङमा गएको, एउटा जापानिजले देखेर बाटैमा मोडलिङको अफर ग¥यो । यसरी विभिन्न ठाउँमा यो क्षेत्र खोज्दै आएको देखेपछि, यही नै गन्तव्य हो जस्तो लाग्यो । त्यसैले अहिले चाहिँ सिरियस्ली यो क्षेत्रमा लागिरहेकी छु ।

तर, हिरोइनको आयु त खासै लामो हुन्न । नेपालमा पनि हर कोही निर्माता÷निर्देशक नयाँ अनुहार खोजिरहेको भेटिन्छ ?
त्यो कुरा मैले राम्ररी बुझेकी छु । मैले पनि हिरोइनकै रूपमा मात्र लामो समय बिताउँछु भन्ने सोचेको छैन । म त्यति धेरै योजना बनाउने केटी त हैन तर म अहिले फिल्म निर्माणको सम्पूर्ण प्रक्रियाबारे बुझिरहेकी छु । अर्को कुनै भूमिकामा पनि आउन सक्छु ।

निर्माताको भूमिकामा ? धेरै अभिनेत्रीहरूका पाइला त्यतै गएर अडिने गरेका छन् ।
निर्माता पनि बन्न सक्छु । तर, त्योभन्दा पनि मेरो रुचि लेखनमा बढी छ । पटकथा लेखकका रूपमा पनि आउन सक्छु ।

अघि तपाईंले जापान गएको कुरा गर्नुभएको थियो ? किन जानुभएको थियो जापान ?
 जापानमा मेरो थुप्रै आफन्त हुनुहुन्छ । प्लस टू गरेपछि टुरिस्ट भिसामा घुम्न गएकी थिएँ । तर, जापानको टोकियो मलाई यति धेरै मन प¥यो कि फर्केर आउनै मन लागेन । पछि त्यहीँ पढ्दै÷पढाउँदै गर्न थालेँ ।

के पढाउनुहुन्थ्यो ?
मैले ‘अर्ली चाइल्डहुड’ सम्बन्धी विषय पढेकी थिएँ । पछि नानीहरूलाई पनि त्यही पढाउँथेँ ।

बच्चा मन पर्ने भएर कि अरू कुनै कारण छ ?
मन पर्ने भएर नै हो । मलाई सानो उमेरदेखि नै बच्चा यति मन पथ्र्यो कि जसको घरमा गएर पनि बच्चासँग खेल्न पर्ने । अझ गाउँमा कसैको बच्चा जन्मेको छ भन्ने थाहा पायो भने दौडिहाल्ने । चिनेकोमा त जान्थेँ नै, नचिनेकोमा पनि जान्थेँ । अहिले पनि चितवन जाँदा धेरैले मेरा किस्सा सुनाउनुहुन्छ । अनि, अर्को कुरा, मलाई आर्टमा रुचि थियो । पेन्टिङमा सानैदेखि रुचि थियो । त्यही भएर मैले त्यही विषय रोजेकी थिएँ ।

तपाईंका दुइटा फिल्म रिलिज भए । दुवै फिल्मले अपेक्षित सफलता पाएनन् । दुःख लाग्छ ?
आफूले गरेको सबै काम सफल होस्, मान्छेले आफ्नो कामको प्रशंसा गरून् भन्ने त भइहाल्छ नि । तर, म पुरानो कुरा सम्झेर बसिरहने खालकी केटी पनि होइन । त्यस्तो धेरै अपेक्षा राखेर बसेको पनि थिइँन । एउटा÷दुइटा फिल्म गरेर टपमा पुग्छु भन्ने सोचेकै थिइनँ ।

परिवारको धारणा के छ ? तपाईं हिरोइन भएकोमा खुशी हुनुहुन्छ ?

मभन्दा पनि ममी मैले ‘के म तिम्रो होइन र’ साइन गरेर घर गएको दिन सुपर ह्याप्पी हुनुभएको थियो । तर, मेरो बानी अलि फरक छ । आकाश सर (आकाश अधिकारी) सँग भेटेको हप्तादिनभित्र मैले फिल्म साइन गरिसकेकी थिएँ । मैले नर्मल रूपमा ममलाई सेयर गरँे । सब जना खुशी हुनुभयो । हिरोइन बन्ने मेरो बच्चैदेखिको सपना हो भन्ने उहाँहरूलाई थाहा थियो ।

अहिले के भन्नुहुन्छ ?
अहिले पनि मभन्दा बढी खुशी उहाँहरू नै हुनुहुन्छ । हाम्रो परिवारमा यो क्षेत्रमा म मात्रै हो । बाबाले पनि कहाँ कहाँको इन्टरभ्यू हेरेर यस्तो आएछ, उस्तो आएछ भनेर सुनाउनुहुन्छ । पहिला बाबा जम्मा एउटा पत्रिकाको ग्राहक हुनुहुन्थ्यो । म यता लागेपछि चारपाँच वटा पत्रिकाको ग्राहक बन्नुभएको छ । मलाई भन्दा मेरो बारेमा बाबालाई  थाहा हुन्छ ।

‘के म तिम्रो होइन र’मा तपाईंले आर्यन अधिकारीसँग  लिप किस गर्नुभएको थियो । फिल्म हेरेर केही भन्नुभएन ?
फिल्म खिच्नुभन्दा अगाडि नै मैले यो दृश्यको बारेमा उहाँहरूसँग कुरा गरेकी थिएँ । स्क्रिप्टको छलफलमा बस्दा नै यो दृश्यको बारेमा कुरा भएको थियो र म कन्भिन्स्ड थिएँ । घरमा गएर मैले सेयर गरेँ । मलाई ममी–बाबाले ‘यो प्रोफेसन तिम्रो रोजाइ हो, जिन्दगी पनि तिम्रै हो, भोलि कसैले प्रश्न गर्दा उत्तर दिन सक्छु भन्ने लाग्छ भने गर’ भन्ने कुरा गर्नुभयो । मैले ‘म उत्तर दिन सक्छु’ भनेपछि यो खासै इस्यू भएन ।

तपाईं बाबा–ममीमध्ये कोसँग नजिक हुनुहुन्छ ?
दुवैसँग नजिक छु । खासमा हामी सबै जना साथीजस्ता छौँ । म पनि सबै कुरा उहाँहरूलाई भन्छु, अनि उहाँहरूले पनि आफ्ना कुरा मलाई सुनाउनुहुन्छ ।

अफेयरका कुरा पनि ?
म त भन्छु । मलाई कोही मन प¥यो भने ‘बाबा, समवन लाइक्स मी...मलाई पनि राम्रो लाग्छ’ भनेर भन्छु । अनेस्ट अपिनियन आउँछ । ‘विचार गर..हतार नगर’ भन्ने खालको प्रतिक्रिया दिनुहुन्छ । त्यही कारण पनि सेयर गर्छु ।

माथि भनेको कुरा कतिचोटि भन्नुभो अहिलेसम्म ?
त्यस्तो धेरै चोटि चाहिँ हैन है । दुईतीन चोटि भनेँ होला ।

सिरियसवाला ?
कमिटमेन्ट गरेपछि त मेरो साइडबाट सिरियस नै हो ।

अहिले पनि सिरियस नै हो ?
अहिले त म सिंगल छु ।

भनेपछि भ्याकेन्सी खाली छ ?
खाली छ ।

बच्चा मन पर्ने मान्छे, यसरी खाली बसेर रहर कसरी पूरा हुन्छ त ?
थाहा छैन । भोलि नै पनि हुन सक्छ वा चारपाँच वर्ष पनि लाग्छ सक्छ । नम्बरमा नजाऊँ ।

Leave A Comment