दुई कमरेडको ‘स्टोरी’

आइतबार, २७ चैत २०७३, ११ : ५२ ईश्वर दाहाल , Kathmandu
दुई कमरेडको ‘स्टोरी’

राजनीतिको प्राण जायज र नाजायज बीचको कित्ताकाटमा  हुन्छ । जायजहरू जनताबाट अनुमोदित हुन्छन् र नाजायजहरू जनताबाट बहिष्कृत । जायज र नाजायज छुट्याउने जनताको अधिकार नै लोकतन्त्रको मर्म हो । कसैलाई जायज लागेको विचार, सिद्धान्त र दृष्टिकोण कसैलाई नाजायज लाग्न सक्छ । आफूलाई जायज लागेको विषय लिएर जनतामा जाने र जनताले आफ्नो मत अभिव्यक्त गर्ने परम्परा नै राजनीतिको विधि र अभ्यास हो । राजनीतिक दलहरूबीच पनि विचार र सिद्धान्तका आधारमा निकटता र दूरी हुन्छ । दृष्टिकोण र आस्थाका आधारमा मित्रता र शत्रुता हुन्छ । हाम्रो देशका कमरेडहरूको मित्रता र शत्रुताको कथा बडो अचम्मको छ । पूर्वकमरेड डाक्टरसाप र कमरेड गजुरेल एउटै मोर्चामा उभिएर सडकमा निक्लिएपछि नेपाली वामपन्थी आन्दोलनको आग्रह र पूर्वाग्रहको कथा बडो टड्कारो भयो । एउटा समय थियो, कमरेड गजुरेल र डाक्टरसाप जनयुद्धको सारथि हुनुहुन्थ्यो । जनवादी सत्ता ल्याउने संकल्पसहित युद्धमा होमिँदा उहाँहरू बडो मित्रवत हुनुहुन्थ्यो । तर, समयले पल्टा खायो, डाक्टरसाप माक्र्सवादको सिर्जनात्मक प्रयोगमा केन्द्रित हुनुभयो । गजुरेल कमरेडलाई सिर्जनात्मक प्रयोग ठीक लागेन । माक्र्सवादको ब्रह्मवाणीलाई थोरै पनि तलबितल गर्नु हुँदैन भन्ने शास्त्रीय परम्परालाई उहाँले आफ्नो गोरेटो बनाउनुभयो । त्यसपछि डाक्टरसाप र कमरेड गजुरेलबीच रहेको मित्रता कठोर शत्रुतामा परिणत भयो । उहाँहरूको पुग्ने गन्तव्य फरक भए । पानी पिउने मूल र पँधेरो अलग–अलग भए । भेटघाटका अखडा र चौतारीहरू बदलिए । सोच, चिन्तन र दृष्टिकोणमा आकाश जमिनको बदलाव आयो । त्यसपछि जडसूत्रवादी र बुर्जुवाको नाममा घोचाघोच भए । विदेशीले उचालेको र पौराणिक कथामा बाँच्ने जस्ता आरोप–प्रत्यारोप भए । यसपछि उहाँहरूबीच भेटघाट भएको, बोलचाल भएको वा हार्दिकता साटासाट भएको खबर नेपाली जनताले त के सञ्चारकर्मीहरूले समेत थाहा पाएनन् ।
संसदीय प्रणालीमा निर्वाचन सर्वाेपरि बन्छ । निर्वाचनले नै देशको दशा र दिशा बदल्छ । तर, गजुरेल कमरेडका लागि संसदीय व्यवस्था फोहोरी खेल थियो । यता, डाक्टरसाप भने नयाँ सामथ्र्य र शक्तिको ढोल बजाउँदै निर्वाचनमार्फत नै देशको नैया पार लाउने अभियानमा होमिनुभयो । जसबाट उहाँको कमरेडको चोला बदलियो र डाक्टरसाप पहिचान मात्रै विस्तारित भयो । निर्वाचनलाई अछुत मान्ने कमरेड गजुरेल र निर्वाचनमै संकटमोचन देख्ने डाक्टरसाप कान्तिपथस्थित निर्वाचन आयोगअगाडि एउटै लाममा, एउटै माग र गन्तव्यका लागि उपस्थित हुँदा नेपाली वामपन्थी आन्दोलनको मनोरोग मात्र उद्घाटित भएन, राजनीतिक दलहरूको ताक परे तिवारी नत्र गोतामे चरित्र पनि छरपष्ट भयो । तर, जे भए पनि उहाँहरू दुई एउटै मोर्चामा उभिएको तस्बिर बडो मनोहक थियो ।
यता, दुवै कमरेडलाई कहिले यता र कहिले उता बनाएर आफ्नो दुनो सोझ्याउन माहिर उहाँहरूका कुनै समयका क्रान्तिवीर अध्यक्ष कमरेड प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनुहुन्थ्यो । दुई भाइलाई दुईतिर पारेर झण्डै दुई दशक रजगज गरेका अध्यक्ष कमरेडलाई दुई भाइहरू एउटै मोर्चामा उभिएको मन नपर्नु स्वाभाविकै थियो । पुलिसले डाक्टरसाप र कमरेड गजुरेलहरूलाई पक्राउ ग¥यो । त्यसपछि डाक्टरसापले पुराना दिनको समीक्षा गर्नुभयो । नेपाली जनताले पाएका भनिएका अधिकार र विकासको लेखाजोखा गर्नुभयो । उहाँका आक्रोश भरिएका शब्दहरू सामाजिक सञ्जालमा छताछुल्ल भए । त्यसपछि फेसबुके र टुइटरेहरूले उहाँका विचार, भावना र उत्तेजनाहरूलाई रोइलोको संज्ञा दिएर गाली गरे । जसले डाक्टरसाप र कमरेड गजुरेलको पक्राउ झन् हट केक बन्न पुग्यो । त्यसमाथि पूर्वकमरेड यमीको उत्तेजक नाराले बलेको आगोमा घ्यू थप्ने काम ग¥यो ।
यस्ता हट केकहरू सञ्चारमाध्यमका स्वादिष्ट भोजन बन्नु स्वाभाविक नै थियो ।  सम्पादकले मलाई आदेश फर्माए, ‘डाक्टरसाप र पूर्वकमरेड यमीलाई सँगै राखेर संवादपरक स्टोरी निर्माण गर्नु ।’  
अनलाइनलाई पठनीय बनाउन यस्ता विषय महŒवपूर्ण हुन्छन् भन्ने कुरामा सम्पादक मात्र होइन, म पनि सहमत थिएँ । डाक्टरसाप र यमी कमरेडसँग समय मागेँ । आफ्ना बुता र बर्कतले भ्याएसम्मको पूर्वतयारी गरेँ र डाक्टरसापको निवास पुगेँ ।
‘तपाईं सरकारसँग अति नै आक्रोशित देखिनुहुन्छ नि ?’ मैले पत्रकारीय लवजमा सोधेँ ।
‘यो सरकार इतिहासकै भ्रष्ट भयो । यो पुराना सरकारभन्दा पनि पुरानो भयो । यसमा केही नयाँ छैन । यसले नेपाली जनताको आकांक्षा पूरा गर्न सक्दैन,’ डाक्टरसापले निरस स्वरमा भन्नुभयो ।
‘आखिर संविधान तपाईंहरूले नै बनाउनुभएको हो । निर्वाचनसम्बन्धी ऐन–नियम निर्माणमा पनि तपाईंहरूकै सहभागिता थियो । अहिले आफैँले निर्माण गरेको संविधान, ऐन, नियम र कानुनको विरुद्धमा आन्दोलन गर्नुको कुनै अर्थ हुन्छ ?’ मैले बडो सोचविचार गरेर प्रश्न गरेँ ।
हत्तपत्त उत्तेजित नहुने डाक्टरसापको अनुहारमा रिसको छाया देखियो । आवाजलाई थप कडा बनाउँदै उहाँले भन्नुभयो, ‘राजनीतिक दललाई उसले रोजेको चुनाव चिन्ह दिनु हुँदैन भनेर हामीले कहीँ पनि लेखेका छैनौँ । हामीमाथि षडयन्त्र भएको हो । हामी यसका विरुद्ध संघर्ष गर्छाैं ।’
पूर्व कमरेड यमी र डाक्टरसापसँग सँगै संवाद गर्नू भन्ने सम्पादकको आदेश सम्झिएँ । पुलुक्क यमी कामरेडको अनुहारमा हेरेँ । उहाँ पनि बोल्न हतारिएझैँ लाग्यो ।
‘अनि तपाईंले नारा बेहोसीमै लगाउनुभएको हो त ?’ मैले पूर्वकमरेड यमीलाई सोधेँ ।
‘हो । पुलिस देखेपछि मेरो होस हराएछ । तपार्इंलाई थाहै छ, हामी युद्धमा छँदा हाम्रा लागि पुलिस दुश्मन थियो । मैले तिनै पुराना दिन सम्झिएछु । जसले गर्दा होस हराएछ । अनि ऐन खारेज गर भन्नुपर्नेमा अर्थाेकै खारेज गर भनेछु । मैले मेरो बेहोसीको विषयमा जनतासँग माफी पनि मागिसकेकी छु,’ पूर्वकमरेड यमीले मुस्कुराउँदै भन्नुभयो ।
उहाँहरूसँग स्टोरीलाई पुग्दो संवाद गरेँ र बिदा भएँ । बाटोमा आउँदा दुइटा कुराले दिमागको पांग्रो खूब घुमायो । कमरेड यमीले त आफूले बेहोसीमा बोलेको स्विकार्नुभयो । तर, हाम्रा कुन चाहिँ नेताले होसमा बोलेका छन् ? यदी होसमा बोलेका हुन्थे भने यो देश यस्तै हुन्थ्यो ? उता डाक्टरसापलाई पुलिसले पक्राउ गरेपछि पुराना दिनको याद आयो । के पुराना दिन र जनवाचा सम्झन नेतालाई सडकमै पुग्नुपर्छ ? मनमनै सोचेँ, स्टोरीको सुरुवात यहीँबाट गर्दा के होला ? फेरि सम्पादकले के भन्ने हुन् कुन्नि ? दोमन–दोमनमै अफिस आइपुगेँ ।

Leave A Comment