इजरायल जान १४ सयको प्रतिस्पर्धा

मङ्गलबार, २२ चैत २०७३, ०१ : ३९ रुद्र खड्का , Kathmandu
इजरायल जान १४ सयको प्रतिस्पर्धा

साढे एक वर्षपछि सुरु भएको इजरायलको केयरगिभरका लागि १४ सय ७७ ले प्रतिस्पर्धा गर्ने भएका छन् ।
वैदेशिक रोजगार विभागले चैत ९ गतेसम्म निर्धारण गरेको फारम संकलन अवधिसम्म १४ सय ७७ युवायुवतीले दरखास्त फारम भरेका छन् । एक वर्षभित्र नेपालबाट तीन सय केयरगिभर लैजाने भनिए पनि इजरायल र नेपाल दुवैको ढिलासुस्तीले पहिलो चरण सकिएपछि काम सुस्ताएको थियो । अघिल्लो वर्ष ५९ जना केयरगिभर इजरायल गइसकेपछि बाँकीलाई लैजाने प्रक्रिया सुरु नहुँदा केयरगिभर कार्यक्रम सुरु हुन्छ या हुँदैन भन्ने अन्योल सिर्जना हुँदै आएको थियो ।
बल्ल अघिल्लो महिना इजरायल केयरगिभरलाई पुनः लैजान सहमत भएपछि विभागले आवेदन संकलन लगायतको प्रक्रिया अघि बढाएको हो । अघिल्लो वर्ष (सन् २०१५) मा तीन सय केयरगिभर लैजान इजरायली सरकार र श्रम तथा रोजगार मन्त्रालयबीच सम्झौता भए पनि अहिलेसम्म ५९ जना मात्र इजरायल जान पाएका छन् । दोस्रो चरणमा ६० जनालाई इजरायल पठाइने विभागकी प्रवक्ता रमा भट्टराईले बताइन् । लामो समयदेखि रोजगारीका लागि इजरायल जान कैयौँले प्रयास गरे पनि सरकारले स्वीकृति नदिँदा धेरैको इजरायल जाने इच्छा पूरा हुन सकेको थिएन ।
निकै लामो प्रयासपछि साढे एक वर्षअघि  नेपाल र इजरायल सरकारका प्रतिनिधिबीच एक वर्षभित्र तीन सय नेपाली युवायुवतीलाई केयरगिभरको काम गर्न इजरायल लैजाने सहमति हुँदा राम्रो रोजगारी पाइने आशाले कैयन युवायुवती हर्षित भएका थिए । केयरगिभर खुलेको सुन्नेबित्तिकै केयरगिभर प्रशिक्षण तथा अन्य सीप सिक्न दूरदराजका युवायुवती काठमाडौँ आएका थिए ।
सुरुमा एकमहिने केयरगिभरको तालिम लिएकाहरूले प्रतिस्पर्धा गर्न पाउने भन्दै इजरायल खुले पनि पछि वैदेशिक रोजगर विभागले एक महिनाको साटो तीनमहिने केयरगिभरको तालिमलाई अनिवार्य गरेको थियो । पहिलो चरणमा तीनमहिने केयरगिभरको प्रशिक्षण लिएकाहरू नभेटिएपछि विभागले  नर्स, अनमी अध्ययन गरेकालाई छनोट गरेको थियो ।
जसका कारण लामो समयदेखि हिब्रु, अंग्रेजी भाषा र केयरगिभरको तालिम लिएका निराश थिए । केयरगिभरको तालिम लिए पनि पहिलो चरणको प्रतिस्पर्धामा सहभागी हुन नपाएकी बारा, निजगढकी गंगादेवी प्रसाईले चार वर्षदेखि हिब्रु तथा अंग्रेजी भाषा र केयरगिभरको तालिम गर्दैमा दुई लाख रुपैयाँ बढी सकिएको दुखेसो पोखिन् ।
इजरायल नखुलेका कारण वर्षांै त्यसको प्रतीक्षा गरेकी प्रसाईका लागि लामो समयपछि खुलेको इजरायल अन्तिम समयमा ‘हात्ती आयो फुस्सा’ सरह भयो । ‘इजरायल जानका लागि आवश्यक पर्ने सबै तयारी पूरा गरेकी थिएँ,’ उनले भनिन्, ‘तर, अन्तिम समयमा विभागले केयरगिभरको प्रमाणपत्रलाई मान्यता नदिँदा इजरायल जाने प्रक्रियामा सहभागी हुनै पाइएन । दोस्रो चरणको छनोटमा प्रतिस्पर्धा गर्ने विचार पनि अधुरै रहेको छ ।’
धनकुटा, सल्लेकी भीममाया पूर्वछानेले पनि विभागले इजरायलको केयरगिभरमा जान चाहनेका लागि दरखास्त आह्वान गरेपछि फारम भरेकी थिइन् । ‘इजरायलकै लागि भनेर थुपै्र समय र आर्थिक लगानी गरियो,’ उनले भनिन्, ‘अन्तिम समयमा विभागले प्रक्रियामै नलैजाँदा हामी अन्यायमा परेका छौँ ।’ इजरायलका लागि आवश्यक पर्ने सबै प्रक्रियाको तयारीस्वरूप धनकुटाबाट पटक–पटक काठमाडौँ आउँदा÷जाँदा दुई लाख रुपैयाँभन्दा बढी रकम खर्च भएको बताउने पूर्वछानेले इजरायलका नाममा खर्च भएको रकम कसरी जुटाउने भन्ने समस्या टड्कारो रूपमा आएको गुनासो पोखिन् ।
२०७२ असार २१ गते  जीटूजी (नेपाल र इजरायल सरकार) प्रक्रियाद्वारा केयरगिभरमा कामदार लैजान सहमत भएपछि विभागले प्रक्रिया थालेको थियो । पहिलो पटक  ८ सय १८ जनाले विभागमा दरखास्त दिएका थिए ।  ।  जसमध्ये १ सय ३९ जनाबाहेक अन्यले एक महिनाको तालिम लिएर तीन महिनाको प्रमाणपत्र पेश गरेको भन्दै विभागले त्यस्ता प्रमाणपत्र पेश गरेका उम्मेदवारलाई प्रक्रियाबाट हटाएको थियो । विभागले उपलब्ध गराएको १ सय ३९ जनाको नामावलीमध्येबाट सय जनालाई इजरायली दूतावासले छनोट गरेपछि लिखित परीक्षाबाट ५९ जना सफल भएका पहिलो चरणमा इजरायल जान पाएका थिए ।  
इजरायलका वृद्धवृद्धा तथा बालबालिकाको हेरचाह गर्न केयरगिभरका लागि पहिलो चरणमा २५ देखि ४५ वर्ष ननाघेका,  १.४ मिटर अग्लो तथा कम्तीमा ४५ केजी तौल, तीनमहिने केयरगिभर तालिम या स्वास्थ्यसम्बन्धी विभिन्न कोर्स अध्ययन गरेको हुनुपर्ने मापदण्ड तोकिएको थियो । दोस्रो चरणका लागि पनि सोही मापदण्डलाई निरन्तरता दिइएको छ ।
इजरायल रोजगारीमा जाँदा एक लाख रुपैयाँ बढी लागत नलाग्ने र मासिक एक लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाइने भएकाले ठूलो संख्याका युवायुवतीको इजरायलप्रति आकर्षण बढेको छ । मानव अधिकारको गम्भीरतापूर्वक पालना गरेकाले पनि इजरायलमा महिला सुरक्षित हुने गरेको बताइन्छ ।
केयरगिभरको तालिम सञ्चालन गर्नेहरूका अनुसार इजरायल जानका लागि केही वर्षयता सोही तालिम लिएर बसेकाहरूको संख्या कम्तीमा १० हजार छ । पहिलो चरणमा सबै प्रक्रिया पूरा गरी इजरायल जानेमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष छन् । केयरगिभरको मुख्य काम इजरायलमा वृद्धवृद्धालाई रेखदेख गर्नु हो ।
विभागका अधिकारीका अनुसार पहिलो हुँदै दोस्रो चरणपछि तीन सय कामदार इजरायल गइसकेपछि पनि उक्त कार्यक्रमले निरन्तरता पाउने सम्भावना बलियो छ ।  तीन सय जनालाई इजरायल पठाउँदासम्म अहिलेको कार्यक्रम ‘पाइलट प्रोजेक्ट’ को रूपमा रहने बताइएको छ ।  तोकिएका तीन सय कामदार जान तीन वर्षजति लाग्ने विभागका कर्मचारीले अनुमान गरेका छन् ।
सुरुमा भने एक वर्षमै तीन सयजना इजरायल पठाउने भनिएको थियो । ढिलासुस्ती हुँदै जाँदा अहिले तीन सयजना पठाउन तीन वर्ष समय लाग्ने भनिँदैछ । विभाग र श्रम तथा रोजगार मन्त्रालयको कार्यशैली हेर्दा तीन वर्षमा पनि तीन सय जनालाई इजरायल पठाउन गाह्रो हुने सेवाग्राहीको गुनासो छ ।
विभागले पहिलो चरणमा छनोट भएको टोली बालबालिका र वृद्धवृद्धाको हेरचाहका लागि गए पनि अबको चरणमा कृषि र उत्पादनमूलक क्षेत्रमा युवायुवती पठाउन प्रयास गर्ने जनाएको छ । विभागकै एक स्रोतले भने इजरायलमा कामदार पठाउन ढिलाइ हुनुको कारणमा श्रम तथा रोजगार मन्त्रालयले इजरायल पठाउने कामदारबारे निर्देशिका तथा ऐन बनाउन र इजरायली अधिकारीसँग गम्भीरतापूर्वक वार्ता गर्न नसक्दा ढिलाइ भएको जनाएको छ ।

‘दोस्रो चरणको कार्यक्रमले केही सहज भएको छ’
रमा भट्टराई    

प्रवक्ता, वैदेशिक रोजगार विभाग
इजरायल पठाउने दोस्रो चरणको कार्यक्रम सुरु भएपछि केही सहज भएको छ । दोस्रो चरणको कार्यक्रम सुरु नहुँदासम्म कहिले सुरु हुन्छ भनेर दिनहुँ ठूलो संख्याका युवायुवतीले सोधेर हैरान बनाउँथे ।
अहिले उताबाट माग आइसकेपछि सबै पारदर्शी रूपले काम भइरहेको छ । कामदार छनोटमा हाम्रोभन्दा इजरायली अधिकारीको भूमिका बढी हुन्छ । त्यसैले कसैले पनि इजरायल जानका लागि कुनै पनि गलत काम नगरे हुन्छ ।
इजरायल नेपाली युवायुवतीले मन पराएको रोजगारीको प्रमुख गन्तव्यमध्ये एक हो । मेरो विचारमा कोरियापछि धेरैले मन पराएको गन्तव्य इजरायल नै हो । उत्कृष्ट गन्तव्यमा गएर राम्रो आम्दानी गर्नु अहिलेको आवश्यकता हो । इजरायल पारिश्रमिकको दृष्टिकोणले जति आकर्षक छ । त्यति नै सुरक्षाको दृष्टिकोणले पनि जोखिम कम भएको मुलुक हो । नेपालले इजरायलजस्ता राम्रा गन्तव्यलाई गुमाउनु हुँदैन भन्ने मेरो धारणा छ ।

इजरायल जान चाहनेलाई टिप्स
–इजरायलको केयरगिभरमा जान २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्छ ।
–केयरगिभरसम्बन्धी तीनमहिने तालिम लिएको हुुनुपर्छ ।
–इजरायल जान जीटूजी (दुवै देशको सरकारी तवर) प्रक्रिया अवलम्बन गरिएकाले सुरुमा केयरगिभरको लिखित परीक्षामा पास हुनुपर्छ । लिखित परीक्षा पास भएपछि प्रयोगात्मक र मौखिक परीक्षा हुन्छ ।
–सबै परीक्षामा इजरायलबाट आएका अधिकारी नै सामेल हुन्छन् ।
–इजरायली रोजगारदाताले आफूले कामदार बोलाउनुअघि उसले गर्ने कामबारे भिडियोमार्फत जानकारी लिन सक्छन् ।
–केयरगिभर भनेको इजरायलमा मुख्य गरी वृद्धवृद्धाको हेरचाह गर्नु हो ।
–इजरायलमा यहुदी धर्म मानिन्छ ।
–त्यहाँ महिला र पुरुषका समान अधिकार भएकाले महिलाले सुरक्षित ठान्छन् । केयरगिभरको काम घरभित्रै गर्नुपर्ने भएकाले धेरै महिलाले त्यस्ता कामलाई सहज ठान्छन् ।
–इजरायल जान भिसा प्रक्रिया, टिकटलगायत गरी करिब ७५ हजार रुपैयाँ लाग्ने गर्छ ।
–केयरगिभरको काम गर्नेले इजरायलमा मासिक सवा लाख रुपैयाँजति पारिश्रमिक पाउँछन् । कतिपय वृद्धवृद्धाले तोकिएको पारिश्रमिकमा पनि केही थप गरिदिन्छन् ।
–केयरगिभरको काम गर्न जानेहरू इजरायलमा चार वर्षभन्दा बढी बस्न सक्छन् ।

Leave A Comment