‘मुम्बईमा डेराको घन्टी बज्दा थर्कमान हुन्थेँ’

सोमबार, २१ चैत २०७३, १२ : १२ अनिल यादव , Kathmandu
‘मुम्बईमा डेराको घन्टी बज्दा थर्कमान हुन्थेँ’

अभिनेता गौरव पहाडीले ‘मञ्जरी’, ‘होस्टेल’, ‘गाजलु’ लगायत फिल्ममा अभिनय गरेका छन् । अहिले चर्चित भइरहेको ‘सुन साइँली’ बोलको गीतको भिडियोमा उनकै अभिनय छ । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :
 
तपाईंको त लुक्सै परिवर्तन भएछ । कपाल पनि काट्नुभएछ ।
हो । यो सबै फिल्म ‘पसिना’का कारणले हो । अहिले यही फिल्मको सुटिङमा व्यस्त छु । फिल्ममा शिक्षकको भूमिका निर्वाह गर्दैछु । त्यही भएर कपाल काट्नुपरेको हो ।

तपाईं त कपाल पाल्न सोखिन हो क्यारे ?
वास्तवमा म सानैदेखि कपाल पाल्न रुचाउँथेँ । स्कुल पढ्दा कपाल पाल्न पाइँदैनथ्यो । त्यसैले भारत बस्दा खूब पालियो । अहिले पनि डेढ वर्ष भएको थियो, मैले कपाल नकाटेको । काट्न मन लागिरहेको थिएन । तर, कलाकार भइसकेपछि आफूले गर्ने भूमिकाअनुसार परिवर्तन भइरहनुपर्छ ।

एक्टर बन्ने चाहना सानैदेखिको हो ?
इच्छा त हो । मेरो बुबा (टीका पहाडी) कलाकार हो । तर, मैले कहिल्यै कलाकार बन्छु भनेर उहाँलाई भन्न सकेको थिइनँ । स्कुल पढ्दासम्म कहिल्यै पनि म डान्स, ड्रामातिर लागिनँ । बरु गेमहरू खेल्थेँ ।  स्टेजमा चढेर मान्छेका अगाडि बोल्न सक्ने या केही गर्न सक्ने आँट ममा थिएन । मुम्बई पुगेर एक्टिङ स्कुलमा भर्ना भएपछि मात्र मलाई ‘म पनि केही गर्न सक्छु’ भन्ने थाहा भयो । अर्को कुरा, मेरो बुबा एकदम कडा हुनुहुन्थ्यो । ‘स्नातक पास गरेपछि मात्र आफूलाई रुचि लागेको क्षेत्रतिर लाग्नू’ भन्नुहुन्थ्यो । स्नातक गरेपछि बुबालाई भनेर मुम्बईको एक्टिङ स्कुलमा भर्ना भएँ ।

बुबा कलाकार भएकाले तपाईं अभिनय क्षेत्रसँग सानैदेखि परिचित हुनुुहुन्थ्यो । तैपनि, एक्टिङ स्कुलमा भर्ना भइसकेपछि तपाईंले अभिनयलाई कसरी बुझ्नुभयो ?
मुम्बई पुग्नुअघि मैले नेपालमा एक–दुइटा म्युजिक भिडियो गरेको थिएँ । कान्तिपुर टीभीमा प्रोगाम प्रोड्युसरका रूपमा पनि काम गरेको थिएँ । त्यतिबेला मलाई क्यामेरा, लेट नाइट सुटिङलगायत चिजहरू मन पथ्र्यो । मलाई अभिनय कसैले कसैलाई सिकाएर सिकिने कुरा हो जस्तो लाग्दैन । अलिकति ट्यालेन्ट र प्यासन त हुनैपर्छ । स्कुलमा त अभिनयको टेक्निक मात्र सिकाइने हो । एक्टिङ स्कुल भर्ना भएको पहिलो दिनै मलाई सरले एक्टिङ गर्न लगाउनुभएको थियो । थुप्रै विद्यार्थीमाझ मैले अभिनय गर्नुपर्ने भयो । साथीहरूबीच मनमुटाव भएको अवस्थामा झगडा गर्नुपर्ने सिन थियो । मैले जानी–नजानी गरेँ । सरले राम्रै भन्नुभयो । त्यही दिन मलाई म पनि गर्न सक्ने रहेछु भन्ने महसुस भयो । मैले त्यहाँ छ महिनाको कोर्स गरँे । त्यतिबेला मलाई स्कुलबाट ‘बेस्ट इन्टेन्स एक्टर’को उपाधिसमेत दिइएको थियो ।

त्यसपछि तपाईंले बलिउड छिर्ने प्रयत्न पनि गर्नुभयो, हैन ?
छ महिना एक्टिङ सिकेपछि म साढे तीन वर्ष जति बलिउडमा छिर्नकै लागि मुम्बईमा भौँतारिएँ । धेरै प्रयास गरेँ । सयौँको संख्यामा अडिसन दिएँ । धेरैजसो सिरियलको अडिसन दिएँ । सबै कुरामा पास भइन्थ्यो । तर, डायलग डेलिभरीमा नेपाली टोन आएपछि म फ्याँकिइन्थेँ । तैपनि, त्यहाँ सर्ट फिल्म, विज्ञापन र भोजपुरी फिल्ममा काम गर्ने अवसर त पाएँ । मुम्बईमा दिनचर्या चलाउनलाई केही न केही कमाइ खाने भाँडो त हुनुपथ्र्यो । कति घरबाट पैसा माग्ने ? मलाई तनाव भइसकेको थियो । खासमा म धैर्यको सीमा पार गरेर फ्रस्ट्रेसनको लेभलमा पुग्न लागेको थिएँ । त्यहाँ फिल्ममा काम गर्नु साँच्चै गाह्रो कुरा थियो । अहिले पनि बलिउडमा आएका नयाँ कलाकार हेर्नुस्, कि त उनीहरू कसैका छोरा छन् या कसैका भाञ्जा–भाञ्जी । हामीजस्ता त त्यहाँ कति हुन्छन् कति । त्यसैले काम पाउनै गाह्रो । निराश भइरहेकै बेला मलाई नेपालबाट ‘मञ्जरी’ फिल्मका लागि निर्देशकको फोन आयो । मैले स्क्रिप्ट सुनेँ । मन प¥यो । त्यसपछि नेपाल आएर काम गरेँ ।

मुम्बईका ती संघर्षका दिनलाई अहिले कसरी सम्झिनुहुन्छ ?
सयौँ पल्ट रिजेक्टेड भए । दुःख त लाग्थ्यो । त्यही पनि आफूमा केही कमी–कमजोरी भएकै कारण रिजेक्ट भएँ भनेर चित्त बुझाइन्थ्यो । म त्यहाँ एक जना भारतीय साथीसँग मिलेर बस्थेँ । मसँग त्यति पैसा हुँदैनथ्यो । घरबाट मागिरहन पनि अप्ठेरो लाग्थ्यो । त्यसैले महिनाको अन्त्यतिर डेराको ढोकाको घण्टी बज्नेबित्तिकै डर लाग्थ्यो । पैसा माग्नलाई घरबेटी नै आयो कि भनेर थर्कमान हुन्थेँ । त्यो बेलामा धेरैचोटि मेरो साथीले मेरो भागको भाडा तिरिदिएको थियो । जिन्दगीदेखि एकदमै निराश भइसकेको थिएँ । तर, फेरि चित्त बुझाउने ठाउँहरू पनि थिए । भोजपुरी फिल्म ‘कानुन हमार मुठी में’मा मैले भोजपुरी सुपरस्टार रवि किसनसँग काम गर्ने मौका पाएँ । अर्को कुरा, मैले मुम्बईमा अस्वीकृत हुँदाका पीडा, संघर्ष गर्दाका पीडा अहिले यहाँ अभिनयमार्फत पोखिरहेको छु । मुम्बईका पीडाले मलाई यहाँ अभिनय गर्न सिकाइरहेको छ ।

तपाईंले अघि बलिउडका नयाँ कलाकारहरू कसैका छोरा, कसैका छोरी छन् भन्नुभयो । तपाईं पनि नेपालमा कलाकारकै छोरा हो । अभिनय क्षेत्रमा यसले कत्तिको सजिलो बनायो ?
मलाई त कलाकारको छोरा भएर आउन झन् गाह्रो जस्तो लाग्छ । पहिलो पल्ट चान्स पाइएला, त्यसपछि त आफूले नै गर्नुपर्ने हो । मलाई त झन् बढी प्रेसर हुन्छ जस्तो लाग्छ । मेरो मामिलामा भन्नुपर्दा यो इन्डस्ट्रीमा आउन मेरो बुबाको एक पर्सेन्ट पनि सहयोग छैन । मैले नेपालमा संघर्ष गरिनँ होला, तर मुम्बईमा पुगेर गरेँ । बुबाकै नामबाट आउनुपर्ने भएको भए त म १० वर्षपहिले नै फिल्म खेलिसक्थेँ होला नि । तर, मैले त्यसो गरिनँ । सिकेर आएँ,  इन्डस्ट्री बुझेर आएँ । अर्को कुरा, मलाई सफलताको सिँढी चढ्न हतार छैन । बरु  बिस्तारै अघि बढुँला । एकैचोटि माथि पुग्ने रहर छैन मलाई ।

फिल्म र म्युजिक भिडियोमा तपाईंका क्यारेक्टर सोझो र गम्भीर खालका हुन्छन् । तपाईंको जीवन र स्वभावसँग कति नजिक छन् यी क्यारेक्टर ?
होइन । खासमा म ठ्याक्कै उल्टो छु । रियल लाइफमा म हाँसिरहनुपर्ने, जिस्किरहनुपर्ने रमाइलो टाइपको मान्छे छु । कलाकारका रूपमा मात्र गम्भीर छु । सामान्य मान्छेका रूपमा म एकदमै रमाइलो मान्छे हुँ । स्पटब्वईदेखि कुकसम्म सबैसँग रमाइलो गरिरहेको हुन्छ । एक्टर भन्ने घमण्ड ममा कहिल्यै हुँदैन । मेरो लुक्समा सुहाउने भएका कारण मलाई धेरैले सोझो र गम्भीर खालको क्यारेक्टर अफर गरेको हो जस्तो लाग्छ ।

फिल्म खेल्नुअघि तपाईंलाई स्क्रिप्टको के कुराले छुन्छ र फिल्म खेल्न तयार बन्नुहुन्छ ?
मेरो पहिलो फिल्म ‘मञ्जरी’मा म सोलो एक्टर थिएँ । त्यसपछि काम गरेका फिल्महरू अधिकांश मल्टिस्टारर छन् । धेरैले सोलो खेल्न छोडेर किन मल्टिस्टारर फिल्म खेलेको पनि भन्छन् ? अहिलेका चल्तीका अभिनेताहरू दयाहाङ राई, सौगात मल्ल सबैले यसरी नै खेलिरहेका छन् त । खासमा मलाई स्क्रिप्टमा मैले निर्वाह गर्ने क्यारेक्टर चित्त बुझ्नुपर्छ । त्यसो भयो भने ब्यानर सानो–ठूलो जस्तोसुकै होस्, फिल्म खेल्न तयार हुन्छु ।

तपाईंको अभिनय रहेको ‘सुन साइँली’ बोलको गीत अहिले बजारमा भाइरल भइरहेको छ । हिट हुनुको कारण के होला ?
गीतले विदेशिन बाध्य नेपालीहरूको भावना बोलेको छ । सायद त्यही कुराले दर्शकको मन छोयो । अर्को कुरा, यो गीतको लिरिकल भिडियो नै भाइरल भएपछि मलाई एकदमै डर लागेको थियो । भिडियोको रेस्पोन्स कस्तो आउला भन्ने डर । त्यति डर त फिल्म रिलिज हुने बेलामा पनि भएको थिएन । तर, राम्रै रेस्पोन्स आयो । खुशी लाग्यो । चार वर्षपछि मैले म्युजिक भिडियोमा काम गरेको थिएँ । मलाई तीन घण्टाको फिल्मले नगरेको काम तीन मिनेटको भिडियोले गरिदियो । तीन घण्टाको फिल्मले नदिएको चर्चा तीन मिनेटको भिडियोले दिलाइदियो ।


तपाईं कान्तिपुर पब्लिकेसन्सको क्यान्टिन पनि चलाउनुहुन्छ, हैन ?
हो, गएको दशैँदेखि चलाउन थालेको हुँ । नेपालमा पार्ट टाइम व्यवसाय नगरी त गुजारा चलाउनै गाह्रो हुन्छ । भोलि बिहे गरेपछि, बच्चा भएपछि समस्या हुन्छ । त्यसैले भविष्यका लागि अहिलेदेखि नै सोच्नुप¥यो नि । क्यान्टिन चलाए पनि म त्यहाँ सधैँ बस्दिन । फुर्सदको बेला जान्छु ।

फिल्म ‘होस्टेल’ रिलिज भइसकेपछि त तपाईंका युवती फ्यान बढी भए है ?
हो नि । मैले फिल्ममा निर्वाह गरेको सोझो क्यारेक्टरले धेरै युवतीको मन छोएछ । फ्रेन्ड रिक्वेस्ट एकदमै धेरै आएका थिए । बाहिर मान्छेले चिन्न थालेका थिए । फिल्मको रोलबाट प्रभावित भएर कतिपय युवतीले त ‘मैले पनि तपाईंको जस्तै ब्वाइफ्रेन्ड पाऊ’ भन्दै मलाई म्यासेज पनि गरे ।

अब बिहे गर्ने बेला भएन र ?
अहिलेसम्म एक्लै छु । अफेयरमा छैन । बिहे गर्ने बेला पनि भयो । घरबाट केटी खोज्दैछन् ।

प्रेम प्रस्ताव राख्नेहरू त होलान् नि ?
प्रस्तावहरू त आउँछ । तर, मलाई पनि त चित्त बुझ्नुप¥यो नि ।

श्रीमती कस्तो चाहनुहुन्छ ?
मेरो कामलाई बुझिदिने होस्, मेरो परिवारलाई बुझिदिने होस् । म लुक्सतिर जाँदिनँ, राम्री हुनुपर्छ भन्ने छैन ।
 

Leave A Comment