सफल गृहस्थ नै आध्यात्मिक बन्न सक्छ

सोमबार, २१ चैत २०७३, ११ : २५ शुक्रवार , Kathmandu
सफल गृहस्थ नै आध्यात्मिक बन्न सक्छ

–डा. योगी विकासानन्द

गृहस्थ संसारमा बस्छ । संसारमा बसेपछि ऊ सफल हुनैपर्छ । सफलता गृहस्थको अनिवार्य शर्त हो । तर, सन्न्यासीलाई सफल हुनुपर्दैन । सन्न्यास धर्ममा भौतिक तथा मानसिक लक्ष्य र खोज हुँदैन । डार्बिनको सिद्धान्नअनुुसार पनि जो ‘फिट’ हुन्छ, उही टिक्छ । तसर्थ संसारमा बसेपछि सफल हुनैपर्छ ।
सफलतालाई व्यापक अर्थमा बुझ्नुपर्छ । सामान्यतः पैसा कमाउनुलाई सफलता भन्ने गरिन्छ । पैसा कमाउनु पनि सफलता हो, तर त्यो आर्थिक सफलता मात्र हो । एउटा गृहस्थले श्रीमतीलाई खुशी राख्न सकेन भने ऊ सफल श्रीमान् हुँदैन । छोराछोरीलाई खुशी राख्न सकेन भने सफल बाबु बन्दैन । त्यति मात्र होइन, गृहस्थले छरछिमेक र समाजलाई पनि खुशी राख्न सक्नुपर्छ । यसरी हेर्दा गृहस्थ हरेक दृष्टिबाट सफल बन्नैपर्छ । भौतिक सफलतापछि मात्रै उसको आध्यात्मिक यात्रा सुरु हुन्छ । तर, अहिले के देखिन्छ भने घर, परिवार, व्यापार वा कुनै पनि सम्बन्ध र पेशा–व्यवसायमा असफल भएको मान्छे अध्यात्मतर्फ लहसिन्छ । जो मानिस देखिने संसारमा त असफल हुन्छ भने नदेखिने अध्यात्ममा कसरी सफल होला ? तर, यहाँ उल्टो भइरहेको छ ।

अमेरिकी मनोवैज्ञानिक अब्राहम मास्लोले ‘हाइरार्की अफ निड्स’ मार्फत यस विषयलाई स्पष्ट पारेका छन् । मास्लोका अनुसार गाँस, बास, कपास र सहवास मानिसका प्राथमिक आवश्यकता हुन् । यी चार आवश्यकता पूर्ति भएपछि पनि मानिस तृप्त हुन सक्दैन । त्यसपछि मानिसले सुरक्षा खोज्छ । अहिले हाम्रो वरपरको अवस्थाका लागि हे¥यौँ भने पनि यो तथ्य सिद्ध हुन्छ । गाँस, बास, कपास र सहवासका लागि अहिले नेपालीहरू अफगानिस्थान र इराकमा समेत पुगेका छन् । उनीहरूका लागि सुरक्षा चासोको विषय बनेको छैन । किनकि, गाँस, बास र कपास नै पूर्ति नभएपछि  सुरक्षाको महŒव रहँदैन ।
सुरक्षा प्राप्त भएपछि मानिसले प्रेम खोज्छ । प्रेम पाइसकेपछि उसले सम्मान खोज्न थाल्छ । अक्सर मानिसले प्रेमभन्दा माथि सम्मानलाई राख्छ । यो कुरा नबुझ्दा परिवारमा धेरै जटिलता निम्तन्छन् । उदाहरणका लागि हामी छोराछोरीलाई प्रेम गर्छौं, सम्मान गर्दैनौँ ।
सम्मानले पनि मानिसलाई सन्तुष्ट राख्न सक्दैन । केही क्षण तृप्त बनाए पनि सम्मानले दीर्घ तृप्ति दिँदैन । सम्मानबाट पनि मानिस अतृप्त बनेपछि उसले कला तथा विज्ञानको खोज र अन्वेषणमार्फत आनन्द खोज्न थाल्छ । यी सबै प्राप्त गरेपछि बल्ल मानिसलाई संसारमा सुख रहेनछ भन्ने बोध हुन्छ र ऊ आत्मबोधतर्फ लाग्छ । जसलाई आम भाषामा अध्यात्म पनि भनिन्छ । यो अवस्थालाई मास्लोले ‘सेल्फ एक्चुअलाइजेसन’ भन्ने नाम दिएका छन् ।     
अध्यात्मको स्थान भनेको जीवनको अन्तिम आवश्यकता हो । पहिलो आवश्यकता होइन । तर, अहिले अध्यात्मलाई जीवनको पहिलो आवश्यकताका रूपमा बुझ्न÷बुझाउन खोजिएको छ । जसले गर्दा मानिस भौतिक र आर्थिक रूपमा विपन्न बनिरहेको छ भने अर्काेतर्फ उसले वास्तविक आध्यात्मिक जीवन पनि सुरु गर्न सकिरहेको छैन । सन्न्यास धर्मतर्फ लहसिएका मानिसहरूले जीवनको अन्तिम आवश्यकतालाई पहिलो आवश्यकताका रूपमा परिभाषित गरिदिएका छन् । परिणामस्वरूप समाजमा गोलमाल भइरहेको छ । तसर्थ अध्यात्ममा लागेका भनिएकाहरू घरका न घाटका देखिन्छन् ।
मास्लोले अगाडि सारेको ‘हाइरार्की अफ निड्स’ पूरा गर्दै जानु भनेको गृहस्थ मान्छे सफल हुनु हो । यसलाई आम जिन्दगीमा मापन गर्ने एउटै सूत्र के हो भने आफ्ना वरिपरिका अधिकांश मानिस आफूसँग खुशी छन् या छैनन् । खुशी छन् भने जिन्दगी सफलताको बाटोमा हिँडिरहेको छ । किनकि, आफ्ना वरपरका अधिकांश मानिसलाई आफूले सन्तुष्ट पार्न सकियो भने मात्रै उनीहरूले आफूलाई सन्तुष्ट पार्छन् । अनुसन्धानहरूले के देखाएका छन् भने संसारका धनी र सफल मानिसहरूको कम्पनीमा काम गर्ने कर्मचारी अन्य कम्पनीमा काम गर्नेभन्दा बढी खुशी छन् । तर, प्रायः व्यवसायी आफ्ना कर्मचारीहरूको सन्तुष्टि र खुशीलाई ख्याल गर्दैनन् । बरु उनीहरूलाई पेलेर वा असन्तुष्ट बनाएर धनी बन्न खोज्छन् । जसले गर्दा उनीहरू सफल बन्न सक्दैनन् ।
आफ्नालाई खुशी राख्नुपर्छ भन्ने त सबैलाई थाहा छ । तर, खुशी कसरी पार्ने भन्ने प्रायःलाई थाहा छैन । यही नै मुख्य समस्या हो । यो समस्या पहिचान गर्न सकियो भने परिवार, समाज र राष्ट्रका धेरै समस्या हल गर्न सकिन्छ ।
अरूलाई खुशी पार्न पहिला आफू खुशी भइरहनुपर्छ । आफूभित्र दुःखैःदुख र पीडैपीडा भएको मानिसले अरूलाई खुशी र आनन्द दिन सक्दैन । खुशी भनेको पनि शरीरको ‘केमेस्ट्री’ हो । इन्डोफिन, डोपामाइन, सेराटोनिनजस्ता रसायनहरू रगतमा रिलिज भइरहे भने मानिस खुशी हुन्छ । यस्ता रसायन रगतमा रिलिज गराइराख्न सकारात्मक मानसिकता भइरहनुपर्छ वा साधना गर्नैपर्छ । बिहानको दुई घण्टा आफ्ना लागि छुट्याएर योग, ध्यान, प्राणायाम गर्ने वा साधनामुखी बन्नेबित्तिकै शरिरमा सकारात्मक रसायनहरू रिलिज हुन थाल्छन् र मानिस खुशी हुन थाल्छ ।
गृहस्थ धर्मलाई विकास गर्न सकेका कारणले नै काठमाडौँ उपत्यकाले भव्यता हासिल गरेको हो । गृहस्थ धर्मलाई सन्तुलित गर्नका लागि दशबन्धको ब्यवस्था गरिएको छ । दशबन्ध भन्नाले आफूले कमाएको दश प्रतिशत समाजका लागि खर्च गर्नु हो । यो प्रचलन क्रिस्चियन धर्ममा पनि छ । जसलाई ‘टिड’ भनिन्छ । इस्लाम धर्ममा दश प्रतिशत दान गर्ने प्रचलनलाई जकात र खैरात भनिन्छ । गृहस्थलाई दश प्रतिशत कमाइ समाजका लागि दान गर्न उत्प्रेरित गर्नुका पछाडि सामाजिक न्याय र सन्तुलित वितरण कारण रहेका छन् । काठमाडौँका यत्रा कलाकौशल, मठमन्दिर, घाटहरूको विकास हुनुको पछाडि गृहस्थ धर्मको व्यापकताले नै हो । त्यतिखेर घाट वा मन्दिर राज्यले मात्र बनाएर सम्भव थिएन । न त त्यतखेर वैदेशिक अनुदान नै आउँथ्यो । गृहस्थधर्मीहरूले गरेको श्रम र दानले नै काठमाडौँ मन्दिरैमन्दिरको शहर भएको हो ।  यसबाट के स्पष्ट हुन्छ भने गृहस्थ धर्मको सही प्रयोगविना देशको विकास पनि सम्भव हुँदैन । गृहस्थ धर्मलाई देशको समृद्धिको आधार पनि मान्न सकिन्छ । अतः गृहस्थ धर्मबाट नै भित्र शान्ति र बाहिर समृद्धि सम्भव हुन्छ ।

Leave A Comment