रणवीर खूब खेल्छन् ‘क्यान्डी क्रस’

शनिबार, १९ चैत २०७३, ०१ : २९ शुक्रवार , Kathmandu
रणवीर खूब खेल्छन् ‘क्यान्डी क्रस’

बलिउड अभिनेता रणवीर कपुर आफ्नो व्यावसायिक र व्यक्तिगत जीवनका कारण प्रायः चर्चाम रहने गरेका छन् । ‘रक स्टार’, ‘ये जवानी है दीवानी’, ‘बर्फी’ जस्ता हिट फिल्ममा काम गरेको रणवीरका केही रोचक कुरा यस्ता छन्ः

–रणवीरका दाहिने गालामा एक इन्चजति लामो निसान छ । सानोमा बाथरुम जाने बेला दौडिएर जाँदा उनी चिप्लेर लडेका थिए । लड्दा उनको दाहिने गालामा चोट लागेको थियो । त्यहाँदेखि उनलाई नाकसम्बन्धी समस्या बल्झिएको हो । त्यसैले उनी बोल्दा छिटो–छिटो बोल्छन् र खाना पनि छिटो–छिटो खान्छन् ।

–१२ वर्षको हुँदा एक पटक रणवीर जुत्ता लगाएर पूजाकोठामा छिर्दा उनलाई बुबा ऋषि कपुरले जोडदार झापड हानेका थिए । कहिले न कराउने, केही पनि नभन्ने बुबाबाट चड्कन खाएपछि बिर्सेर पनि पूजाकोठामा जुत्ता लगाएर नगएको रणवीरले एक अन्तर्वार्तामा बताएका थिए ।

–अफेयरको मामिलामा बढी चर्चामा रहने रणवीरको छवि सानैदेखि ‘रसिक’ खालको थियो । सात कक्षा पढ्दाताका नै उनले गर्लफ्रेन्ड बनाइसकेका थिए । पहिलो गर्लफ्रेन्डसँग ब्रेकअप हुँदा नै उनले फेरि प्रेममा नपर्ने सोच बनाएका थिए । तर, त्यसपछि उनको अफेयर अवन्तिका मलिक (अहिले अभिनेता इमरान खानकी श्रीमती) सँग रहेको थियो । कट्रिना कैफ र दीपिका पादुकोणसँग पनि उनको प्रेम सम्बध चलेको थियो ।

–मुम्बईको बम्बे स्कटिस स्कुलमा रणवीरले पढेका हुन् । उनी कक्षाका टप फाइभ विद्यार्थीमा पर्थे । न्युयोर्कको स्कुल अफ भिजुल आट्र्सबाट उनले फिल्म मेकिङको कोर्स गरेका हुन् । लि स्ट्रसबर्ग थिएटर एन्ड फिल्म इन्स्टिच्युटबाट पनि उनले अभिनय सिकेका छन् ।
–कक्षा १ देखि १२ सम्म रणवीरको चकचके स्वभावका कारण प्रायः स्कुलमा जानुपरेको एक अन्तर्वार्तामा आमा नीतु कपुरले बताएकी थिइन् । शिक्षकलाई हैरान पार्न रणवीर खप्पिस थिए ।

–सन् २००९ सम्म रणवीरका नङ आमा नीतुले नै काट्ने गर्थिन् । अहिले पनि आमाले नै उनलाई हरेक महिना पकेटमनीका रूपमा १५ सय भारु दिने गर्छिन् ।

–कपुर खानदानका अरू सदस्यजस्तै रणवीर पनि खानाका पारखी हुन् । तर, उनी मांसाहारी खाना मात्र रुचाउँछन् । उनीसामु शाकाहारी खाना प¥यो भने उनी जुरुक्क उठेर हिँड्छन् ।

–रणवीर क्यान्डी क्रस खूब खेल्छन् । पहिलो पटक भेट्दा आफूलाई रणवीर गम्भीर मान्छे लागेको एक अन्तर्वार्तामा अभिनेत्री ज्याकलिन फर्नान्डिजले बताएकी थिइन् । ‘जतिखेर पनि रणवीर फोनमै झुन्डिरहेका हुन्थे । त्यसमा केही काम गर्छन् जस्तो लाग्थ्यो । यसरी घोत्लिएर के गर्छन् भनी हेर्दा त उनी क्यान्डी क्रस खेल्दा रैछन्,’ ज्याकलिनले भनेकी छिन् ।

Leave A Comment