‘जमिनसँग जोडिएर लेख्छु म’

शनिबार, १९ चैत २०७३, ०१ : २० सुजित मैनाली , Kathmandu
‘जमिनसँग जोडिएर लेख्छु म’

नयनराज पाण्डे नेपाली आख्यानमा प्रसिद्ध र शक्तिशाली नाम हो । आफ्नो लेखनबारे उनको घोषणा छ– ‘म आफ्नो समयसित गुनासो गरेर बसिरहन चाहन्नँ । म समयसित झगडा गर्न रुचाउँछु । किनभने, लेखन मेरा लागि लडाइँ हो ।’ उनको बहुचर्चित उपन्यास हो, ‘उलार’, जसलाई पाठकले अत्यधिक रुचाएका र समीक्षकले साह्रै सह्राएका छन् । समालोचक पुरुषोत्तम सुवेदीले एक ठाउँमा भनेका छन्, ‘‘उलार’ मधेश आन्दोलनको पूर्वपेटिका हो । मधेश विद्रोह किन भयो भन्ने कुराको संकेत यस उपन्यासमा पाउन सकिन्छ ।’ त्यस्तै, ‘उलार’को भूमिका लेखेका कवि श्यामलका अनुसार ‘उलारको प्रकाशन नेपाली उपन्यास फाँटको एक महŒवपूर्ण घटना हो ।’ उनी लेख्छन्, ‘‘उलार’ हाम्रो युगको भयानक वास्तविकतालाई सरल र छोटा तर आकर्षक वाक्यहरूमा प्रस्तुत गरिएको छ ।’ उता, नाटककार अशेष मल्लले यस उपन्यासलाई ‘जेम अफ ए बुक (किताबरत्न)’ भनेका छन् ।

पाण्डेका ‘नांगो मान्छेको डायरी’, ‘विक्रमादित्य, एउटा कथा सुन’, ‘अतिरिक्त’, ‘लू’ र ‘घामकिरी’, ‘सल्लीपिर’ उपन्यास र ‘खोरभित्र जोकर’, ‘निदाएँ जगदम्बा’, ‘चकलेट’ कथासंग्रह प्रकाशित छन् । उनीसँग सुजित मैनालीले शुक्रवार साप्ताहिकका लागि गरेको कुराकानीः

लेखकमा निहित सिर्जनशीलताको आयु हुन्छ कि हुँदैन ?
अवश्य हुन्छ । प्रायः सबै लेखक एउटा खास उमेरबाट लेख्न सुरु गर्छन् । जब समाज, पात्र र परिवेशप्रति उसको चासो बढ्छ र त्यसप्रति उसका धारणाहरू निर्मित हुन थाल्छन्, लेखकभित्रको सिर्जनशीलता त्यतिबेला प्रकट हुन थाल्छ । त्यसपछि ऊ बिस्तारै सिर्जनाकर्ममा रुचि लिन थाल्छ । तर, जसरी उमेरसँगै सिर्जनात्मकताको विकास हुन्छ, उमेरसँगै त्यो क्रमशः कम पनि हुँदै जान्छ । उमेरसँगै लेखकभित्र शारीरिक समस्याहरू उत्पन्न हुन थाल्छन् । त्यसले उसको मानसिक स्वास्थ्यमा पनि असर गर्न थाल्छ । यस्तो स्थितिमा धेरैजसो लेखक अतीतमा आफूले जुन समाज, पात्र र परिवेशलाई सजिलो गरी बुझिरहेको हुन्छ, त्यही परिवेश, पात्र र समाजकै सेरोफेरोमा सिर्जना गरिरहन्छ । समकालीन समयसित जोडिने उसका रहर र सक्रियता कम हुँदै जान्छन् । त्यसपछि ऊ रिपिटिसनको लफडामा फस्न थाल्छ । एकाध अपवादबाहेक यो अधिकांश लेखकको समस्या हो ।  सिर्जनशीलताको अन्त्य यसरी नै हुँदै जान्छ । त्यसैले सिर्जनात्मकताको आयु हुन्छ भन्ने कुरामा म विश्वास गर्छु । आफूभित्र पुनारावृत्तिको समस्या उत्पन्न हुन थाल्नेबित्तिकै लेखकले लेख्न छाड्नु उपयुक्त हुन्छ भन्ने मेरो मान्यता छ ।

‘उलार’ पछि ‘लू’, ‘घामकिरी’ र ‘सल्लीपिर’ उपन्यास लेखिसक्नुभएको छ । यीमध्ये ‘उलार’ सबैभन्दा उम्दा हो भनेर तपाईंका आलोचक र समर्थक दुवैले भन्ने गरेका छन् । पहिलो किताबमै लेखकको समग्र दृष्टिकोण र लेखनशैली व्यक्त हुने भएकाले दोस्रो, तेस्रो, चौथो कृति पाठकलाई क्रमशः कमजोर महसुस हुने गरेको त होइन ?
‘उलार’ मेरो चौथो उपन्यास हो । अगाडिका तीन उपन्यासको पनि आफ्नो खालको चर्चा भएकै हो । ‘उलार’को पनि ढिलो चर्चा भएको हो । किनभने,  ‘‘उलार’लगायत जुन बेला मेरा अरू उपन्यास छापिए, त्यतिबेला सामाजिक सञ्जाल र मिडियाको बलियो उपस्थिति थिएन । त्यसैले आम पाठकसम्म किताब र किताबको चर्चाे दुवै ढिलो पुग्थ्यो । आज समय फेरिएको छ । कतिपय लेखकका पुराना कृतिहरूको चर्चा सुरु हुन थालेको छ ।
म आफ्नो समयसित संवाद गर्न रुचाउने लेखक हुँ । म आफ्नो समयकै कुरा उठाउँछु । ‘उलार’मा मधेशको तत्कालीन समस्या उठाएको हुँ, जो आज पनि त्यही रूपमै कायम छ । ‘उलार’को सान्दर्भिकता अहिले पनि कायम भइरहनु, यो ‘उलार’को सफलताभन्दा पनि हाम्रो समाजको दुर्भाग्य हो । यतिबेला हाम्रो समाज, राजनीतिक, समाजिक र आर्थिक विकास उन्नत भएर धेरै अगाडि बढिसक्नुपर्ने थियो । तर, अझै यो स्थिर छ ।
म आफ्ना किताबमार्फत मुद्दा उठाउन चाहन्छु । त्यस विषयमा बहस होस् भन्ने चाहन्छु । त्यसैले मेरो कुन उपन्यासको बढ्ता चर्चा भयो भन्नेतिर म त्यति गम्भीर हुन्नँ । ‘उलार’मा मधेशको समग्र चित्र आएको छ भन्ने होइन । एउटै कृतिमा त्यो सम्भव पनि हुँदैन । ‘लू’मा फरक सन्दर्भ उठाएको छु । ‘घामकिरी’ र ‘सल्लीपिर’मा फरक सन्दर्भहरू उठेका छन् । लेखकले उठाएका सन्दर्भ र मुद्दाप्रति पाठकका आफ्नै आग्रह हुन्छन् । त्यसैले कसैलाई ‘उलार’ उत्कृष्ट लाग्ला, कसैलाई ‘लू’ । कसैलाई ‘घामकिरी’को शिल्प मन पर्ला, कसैलाई ‘सल्लीपिर’ भित्रको दुःखले छोला । पाठक कुन विषयसित बढी ‘कनेक्ट’ हुन्छ र कुन विषयमा ‘कम्फर्ट’ महसुस गर्छ, त्यसका आधारमा उसले लेखकको यो कृति सर्वश्रेष्ठ हो भनेर तय गर्छ  । म पाठकको यो अधिकारको सम्मान गर्छु ।

पाठकहरूसँग कुराकानी गर्दा समकालीन आख्यान लेखनमा तपाईंलाई सबैभन्दा माथिल्लो पंक्तिमा राखेको पाइन्छ । समालोचकहरूबाट चाहिँँ आफ्नो लेखनको मुल्यांकन कसरी भएको पाउनुहुन्छ ?
अहँ, म कुनै पंक्तिमा छैन । पंक्तिमा बस्ने रहर पनि छैन । त्यो खतरनाक ठाउँ हो । किनभने, त्यहाँ पुगेर फेरि हिँड्न पाइन्न । कि स्थिर भएर बसिरहनु प¥यो, होइन भने झरेर आत्महत्या गर्नुप¥यो । म त आख्यानको क्षेत्रमा अझै संघर्षरत नै छु र समकालीन लेखकहरूसँगै यात्रारत छु । यसैमा मलाई चरम आनन्द पनि प्राप्त भएको छ । मैले पहिले पनि भनेको छु, लेखन सय मिटरको दौड होइन । यो दौडमा विजयी भएर रेकर्ड बनाउने कुरा पनि होइन । यो आफूले बुझेको कुरा अरूलाई बुझाउने सतत् प्रक्रिया हो । साहित्य शिखरमा बसेर लेख्ने कुरा होइन, सधैँ जमिनमै रहेर, जमिनसितै जोडिएर लेख्ने कुरा हो । त्यसैले यस क्षेत्रमा मेरो कसैसित प्रतिस्पर्धा छ भने आफैँसित छ । हरेक लेखक आफैँसित लडिरहने योद्धा हो । अरूसित भिड्न खोजेको दिन उसको पतन हुन्छ ।

‘निदाएँ जगदम्बा’ कथामा तपाईंले राजनीति र साहित्य दुवै क्षेत्रमा व्याप्त विकृतिमाथि प्रहार गर्नुभएको छ । कथामा तपाईंले राज्यको आँखामा बिझाउने क्रान्तिकारी लेखक र अलंकार बनेर राज्यको शोभा बढाउने यथास्थितिवादी लेखकहरूको सूची नै दिनुभएको छ । कथामा तपाईंको सद्भाव क्रान्तिकारी लेखकहरूप्रति झल्किन्छ, तर पनि क्रान्तिकारी, प्रगतिशील लेखकहरूको झुण्डमा तपाईं देखिनुहुन्न । यस्तो विरोधाभास किन ?
म प्रगतिशील हुँ भनेर घोषणा गरेर साहित्य सिर्जना गरिन्न र गरिनु पनि हुन्न । लेखकको पक्षधरता उसको भाषण या अन्तर्वार्ताबाट हैन, उसको सिर्जनाबाट स्पष्ट हुनुपर्छ । भाषण, वक्तव्य र अन्तर्वार्तामा लेखकजति चतुर प्राणी अरू को होला र ? हामी धेरैजसो लेखकले यस्ता कुरामा शब्दहरूको दुरुपयोग नै गरेका छौँ । पक्षधरताको नाममा हामीले धेरै समय एकअर्कालाई गाली गरेर वा एकअर्कालाई निषेध गरेर खेर फालेका छौँ । कित्ता बनाएर ‘तँ यता, म यता’ गरेका छौँ । लेखक सर्जक कम, नापी कार्यालयको अमिन ज्यादा भएको हो । मेरो हकमा म कुन कित्तामा छु भनेर मतलब गर्दिनँ । मैले के लेख्नु छ भन्ने कुरामात्र मेरो सरोकारको विषय हो ।

तपाईंको उपन्यास ‘लू’माथि आधारित नाटक अहिले मञ्चन भइरहेको छ । उपन्यासमार्फत तपाईंले व्यक्त गर्न खोज्नुभएको भावलाई नाटकको स्क्रिप्ट, यसको निर्देशन र यसमा अभिनय गर्ने कलाकारले कुन हदसम्म न्याय गर्न सकेका छन् जस्तो लागेको छ ?
नाटकमा कलाकारको अभिनय प्रशंसनीय छ । निर्देशक सरीता साहले ‘लू’जस्तो ठूलो क्यानभासको विषयलाई डेढ घण्टाको नाटकमा रूपान्तर गर्ने हिम्मत गर्नुभयो । त्यही हिम्मत नै अभिनन्दनीय छ । त्यसैले ‘लू’को नाट्य प्रस्तुतिप्रति मेरो ठूलो चित्त दुखाइ छँदै छैन ।
उपन्यास लेख्दा लेखकको दिमागमा पात्र, परिवेश, समाजलगायत यावत् विवरणहरूको चित्र बनेका हुन्छन् । दृश्य माध्यममा रूपान्तरित हुँदा लेखकको दिमागमा बनेका विम्बहरू नआउन सक्छन् या अर्को ढंगले आउन सक्छन् । यो रंगमञ्च या सिनेमाको विशेषता पनि हो र सीमितता पनि हो । त्यो विशेषता र त्यो सीमितता ‘लू’को नाट्य प्रस्ुततिमा पनि देखिएको छ ।

लेखनाथ, देवकोटा, सम, बीपी आदिको पुस्ताजस्तै प्रभावशाली पुस्ता नेपाली साहित्यमा जन्मिन सकेन भन्ने आम मान्यता छ । यस्तो किन भएको होला ?
मलाई त्यस्तो लाग्दैन । यो पुस्ताको मूल्यांंकन तत्काल भइहाल्ने कुरा पनि होइन । लेखनाथ, देवकोटा, सम या बीपीको मूल्यांकन पनि रातारात भएको होइन । त्यसपछिको पुस्ताले उहाँहरूको उच्च मूल्यांकन गरेको हो । नत्र देवकोटालाई समले लेखक नगन्ने, समलाई देवकोटाले नगन्ने, लेखनाथले गद्य लेखनलाई महŒव नदिने समय थियो, त्यो । बीपीलाई त साहित्यमा यौनलाई भिœयाएर बर्बादै गरेको आरोप पनि लगाउँथे, एकथरीले । आज हामी साहित्यमा तीसको दशक गजब हो भन्छौँ । त्यो दशकमा आपसमै हानथाप थियो । एकले अर्कोलाई लेखकै नठान्ने परिपाटी थियो । आज पनि त्यही स्थिति छ । त्यसैले आज हामीले कस्तो लेखिरहेछौँ भनेर आगामी पुस्ताले मूल्यांकन गर्छ । अहिले हामीले अनेक आग्रह र पूर्वाग्रहका चस्मा लगाएका छौँ । यस्तो चस्मा लगाएर अहिलेको साहित्यको मूल्यांकन नै हुन सक्दैन । अर्को कुरा अहिलेको साहित्यको अखबारी समीक्षा त प्रशस्त भइरहेको छ । तर, समालोचना भइरहेको छैन । त्यसैले अहिलेको साहित्यको हैसियत स्पष्ट नभएको मात्र हो ।

कुन किताबले जीवन–जगत्प्रतिको दृष्टिकोण बनाउन तपाईंलाई मद्दत गरेको थियो ?
कुनै दर्शनको किताब पढेर म साहित्य क्षेत्रमा लागेको होइनँ । तर, लेखनप्रति रुचि जागेको प्रारम्भिक अवस्थामै मैले नेपाली या हिन्दीमा अनुदित गोर्कीको ‘आमा’ उपन्यास पढेको थिएँ । मलाई त्यसको कथानक र त्यसका पात्रहरूले प्रभावित गरेका थिए । त्यसमा कताकता हाम्रै समाजको स्वरूप र समस्या पनि प्रकट भएजस्तो लागेको थियो । त्यसका पात्रहरू हाम्रै अनुहारका छन् जस्तो लाग्थ्यो । त्यसैले त्यो कृतिले मलाई त्यतिबेला निकै प्रभावित गरेको थियो । मलाई लेखनप्रति एक खालको धारणा बनाउन पनि त्यसले सहयोग गरेको हो । त्यसैले त्यो किताबप्रति मेरो अथाह श्रद्धा छ । सुरुमै कामु, सात्र्र या नित्से पढेको भए साहित्य मेरो बुताको कुरा होइन भनेर भाग्थेँ पनि होला । तर, गोर्कीले मलाई भाग्न दिएनन् ।

तपाईंको लखनशैलीलाई कुन किताबले प्रभाव पारेजस्तो लाग्छ ?
यही किताबले मलाई प्रभाव पारेको छ त म कसरी भन्न सक्छु र ? म त मेरो किताब मेरै जस्तो होस् भन्ने नै चाहन्छु । तर, मैले चाहेर मात्र पनि कहाँ हुन्छ र ? चेखब, ओ हेनरी, मोपासाँ, बीपीका कथाशिल्पसित लेखनको प्रारम्भताका नै परिचित भएकोले यिनको कथा बुन्ने तरिकासित म प्रभावित भएको हुन सक्छु । उपन्यासमा गोर्कीको ‘आमा‘को प्रभाव मेरो रगतमै होलाजस्तो लाग्छ । मार्खेज, कामु, चिनुआ आचेबेजस्ता नामहरूसित अलिक ढिलो परिचित भएको हुँ । यिनीहरू गजब  लाग्छन् । तर, यिनबाट अनुकरण नै गर्ने खालको प्रभाव मभित्र परेजस्तो लाग्दैन । मेरो विचारमा, लेखनमा किशोरावस्था या युवावस्थाताकाको अध्ययनको प्रभाव बढ्ता पर्दोरहेछ । त्यतिबेला परेको प्रभाव मनमै गाडिएर बस्दोरहेछ । पछि किताबप्रति आलोचनात्मक धारणाहरू विकसित हुन थाल्छन् । पढेर गजब लागेका किताबबाट ऊर्जा ग्रहण गर्ने तर त्यसको प्रभाव आफ्नो लेखनमा पर्न नदिने चलाखी पनि लेखकमा आउन थाल्दोरहेछ ।

तपार्इंलाई सबैभन्दा मन परेको किताबबारे थोरै बताइदिनुस् न !
म यहाँ धेरै विदेशी किताबको नाम दिने फेसनबाट आफूलाई मुक्त गर्छु । त्यसैले म नेपाली किताबहरूकै नाम लिन्छु । किनभने, हाम्रो समाजका लागि योगदान हाम्रै किताबहरूले दिएका हुन् । यस अर्थमा बीपीका अधिकांश किताब मन पर्छन् । पारिजातको ‘शिरीषको फूल’ मलाई उम्दा लाग्छ । मनु ब्राजाकीको कथाको कायल छु म । बाङ्देलको ‘मुलुकबाहिर’प्रति म हुरुक्कै छु । मेरा समकालीनमा महेशविक्रम शाहको कथाकारिता मज्जाको लाग्छ । तर, एउटै किताबको नाम लिनुप¥यो भने म ‘मुनामदन’कै लिन्छु । यसको सरलता र यसले मनमा उत्पन्न गर्ने संवेदनाले प्रभावित पारेको हो मलाई । लेखकमा सबैभन्दा पहिला जागृत हुने कुरा नै संवेदना हो । उसको विचार, शैली र प्रस्तुतिले त्यो संवेदनालाई व्यवस्थित गर्छ, प्रयोजनमूलक र पठनीय बनाउँछ ।  

समीक्षक दृष्टि : दशगजातिर गम्भीर लेखक

–गुरुङ सुशान्त  

नयनराज पाण्डेका आख्यानमा गहिरो रुचि छ मेरो । चित्रमय भाषाको ढोकाबाट जब उनका आख्यानभित्र पस्छु, तब समाजका विभेद र गरिबीको विद्रूप यथार्थका विविध आयामसँग ठोकिन्छु । पाण्डेले फिल्ममा ल्याएका पात्र र ‘नायक’बारे लगभग अनभिज्ञ छु म । र, उतिसारो चासो पनि छैन । तर, उनका आख्यानीय पात्रहरूसँग निकटबाट परिचित छु । ती पात्र मेरो पाठकीय स्मृतिको चोटाकोठामा निर्बाध चहारिरहन्छन् आफन्तजस्तै ।
पाण्डेलाई मेरो पाठकले पर्खिरहेको हुन्छ । यसका बलिया कारणहरू छन्  । उनको भाषामा तीव्र प्रवाह र मोहकता छ । आख्यानको भेषमा गथासोको झोलुंगो हल्लाउनु छैन उनलाई । तथाकथित ‘केन्द्र’द्वारा बेवास्ता गरिएका व्यथित समुदायका तनाव र विषादलाई आञ्चलिक स्वादमा पोख्नु छ । छद्म नैतिकताप्रति तीव्र वितृष्णा छ पाण्डेलाई । शोषणको तरबार बोकिराख्छ सत्ता । र, नक्कली आदर्शको खोल पनि प्रदर्शन गरिरहन्छ । त्यही खोल उधारेर शासकलाई नांगो देखाउन कलम उचाल्छन् पाण्डे । रचनात्मक इमानदारी भए सत्तासँग सिँगौरी खेल्न कुनै कम्युनिस्ट दलको स्थायी कार्यकर्ता हुनै पर्दैन भन्ने चहकिलो उदाहरण हुन् पाण्डे । उपेक्षा–दंशबाट चरम अलगावमा परेका जनका पक्षमा पाण्डे बोल्छन् । हो, उनी बोल्छन् कलात्मक ध्वनिमा । बौद्धिकताको चरम दुरुपयोग गर्ने यथास्थितिवादी कित्तामा छैनन् उनी । त्यसैले उनको अक्षरयात्राप्रति अनुराग छ ममा ।
अरूभन्दा बढी पाठकोन्मुखी विधा भएकोले आख्यानले पाठकसँग सघन संवाद गर्छ नै । लेखक–पाठकबीच हुने वैचारिक घर्षणले नै सांस्कृतिक  चेतनामा निखार आउने वस्तुयथार्थ बुझेका पाण्डेले राज्यले दिएका उत्पीडित घाउ देखाइदिन्छन् आख्यानमा । उनी सामाजिक पीडा–चित्रणमा संवेदशीलतालाई प्राथमिकता दिन्छन् । र, राज्यले बोकिहिँडेको असंवेदनशील टाउकोमा व्यंग्यको तोप प्रहार गर्छन् । अतः उनको गद्यको सम्मोहनमा पर्छु ।
समाजमा रहेका श्रमशील जनता, नागरिक–दर्जाविहीन भुँइमान्छे, आधारभूत आवश्यकतामै आजीवन संघर्ष गर्ने दुःखीजन पाण्डेका पात्र हुन् । अघाएका मान्छेको विलासी जीवनका घटनात्मक ऐयासीलाई फूलबुट्टा भरिबस्नु लेखक बन्ने क्षणिक आवेग मात्र हो । यस्ता आवेग एकान्तवासको आत्मरतिभन्दा बढी केही होइन । समतामूलक समाज र नयाँ मानव–निर्माणका लागि त प्रतिरोधी लेखनको व्यापकतालाई आह्वान गर्नुपर्छ । आलोचनात्मक प्रवाहमा हेलिने आँट गर्नुपर्छ । पाण्डेले अँध्यारोविरुद्ध जुध्ने आँट गरेका छन् । त्यसैले उनका आख्यानले आकर्षित गर्छन् मलाई ।
पाण्डेले पटक–पटक भनेका छन्,‘लेखन मेरा लागि रहर हैन, लडाइँ हो ।’ हाम्रोजस्तो विभेदकारी र असहिष्णु राज्यमा पाण्डेजस्ता लेखकहरू असली सांस्कृतिक योद्धा हुन् । तर, पाण्डेहरू कहिलेसम्म रचनात्मक लडाइँमा टिक्छन् ?
 पुँजीवादी बजारको उत्तरआधुनिक ‘रामरमिता’को हावाले पाण्डेका पछिल्ला आख्यानलाई पनि छुन थालेको आभास हुन्छ । ती रचनाको वैचारिक र तथ्यगत पाइला पटक–पटक चिप्लिएको दृश्य पाठकले ठम्याइसके । के उनी पपुलिस्ट र गम्भीर साहित्यबीचको दशगजामा पुगेर अलमल भएका हुन् ? अब पाठकले कुनै बहानामा पाण्डेहरूलाई नैतिक छुट दिन हुँदैन । निर्मम पाठकले नै उत्तरदायी लेखकको काँध र कलम मजबुत बनाउँछ । के हामी पाण्डेहरूप्रति प्रेमपूर्वक क्रूर पाठक भएर बोल्ने आँट गर्न सक्छौँ ?

Leave A Comment