‘थारू साहित्यमाथि बहस अत्यावश्यक भइसकेको छ’

बिहिबार, १७ चैत २०७३, ११ : ५० मदन चौधरी , Kathmandu
‘थारू साहित्यमाथि बहस अत्यावश्यक भइसकेको छ’

कृष्णराज सर्वहारी
अध्यक्ष,
थारू लेखक संघ तथा मूल संयोजक, थारू साहित्यिक मेला

चैत १९ र २० गते धनगढीमा थारू साहित्यिक मेला हुँदैछ । थारू साहित्यकार कृष्णराज सर्वहारी मेलाका मूल संयोजक हुन् । उनीसँग शुक्रवारका लागि मदन चौधरीले गरेको संवादः  

थारू साहित्यिक मेला आयोजना गर्नुको उद्देश्य के हो ?
  विगत केही वर्षयता नेपाली भाषा साहित्यलाई प्रवद्र्धन गर्न पोखरा, झापा, काभ्रेलगायत ठाउँमा साहित्यिक मेला आयोजना भइरहेका छन् । त्यसैको सिको हो यो मेला । देशको चौथो ठूलो भाषा थारूबारे कुनै एक सेसनमा पनि ती मेलामा स्थान पाएनन् । शिवानीसिंह थारू, जसलाई थारू भाषा बोल्नै आउँदैन, तिनबाट थारू साहित्यकारको प्रतिनिधिझैँ बोलाइन्छ । त्यसैले थारू साहित्य लेखनको अवस्थाको सार्थक बहसका लागि थारू साहित्यिक मेलाको आयोजना गएको वर्ष दाङबाट थालनी भयो । यसपालि दोस्रो शृंखला धनगढीमा गर्दैछौँ ।
  थारूहरूको बसोबास पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म छ । त्यसैले थारू मानक भाषाबारे सहभागीबीच मतऐक्यता बनाउन र खास गरी थारू साहित्यिक प्रकाशनको बजारीकरण गर्न मद्दत पु¥याउने उद्देश्यले पनि मेला आयाजना गरिएको हो । यो सकेसम्म प्रत्येक वर्ष गर्ने योजना छ ।

गएको वर्ष थारू साहित्यिक मेला के विषयमा केन्द्रित थियो ।
गत वर्ष थारू साहित्यिक मेलामा थारू कविता, आख्यानदेखि दाङ र कैलालीको थारू साहित्यको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । त्यस्तै, लावा डग्गर थारू साहित्यिक पत्रिकाको यात्रा र जंग्रार साहित्यिक बखेरीको साहित्यिक अभियान, थारू भाषामा मानकताको प्रश्न गरी छ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

यस वर्षको छलफल के विषयमा केन्द्रित छ ?
यसपालि हामीले कार्यपत्र प्रस्तुतिको फम्र्याट हटाएर अन्तरसंवाद कार्यक्रमलाई जोड दिएका छौँ  । बोझिलो कार्यपत्रभन्दा अन्तरसंवाद कार्यक्रमले सहभागीलाई बढी जाँगरिलो बनाउने हाम्रो ठहर छ । १० वर्षे जनयुद्धमा सबैभन्दा बढी थारू समुदायका व्यक्ति मारिए । तर, युद्ध साहित्यले थारू साहित्यमा प्रवेश पाएकै छैन । समयको वेगलाई पक्रिन नसक्ने हो भने त्यो साहित्य मक्किन्छ, कोरा कल्पनामा बग्छ । त्यसैले किन जन्मिएन त युद्ध साहित्य थारू भाषामा ? यसबारे जनयुद्धमा होमिएका नेताहरूलाई नै अन्तरसंवादमा उभ्याउँदैछौँ ।
साहित्यिक मेलामा कविता वाचन र वाचित कविताउपर समीक्षाले पनि विशेष स्थान पाउँदैछ । गजल लेखनमा बाढी आएको छ, थारू साहित्यमा । दशकअघि गजलसंग्रह प्रकाशन गरेका रामलाल जोशीले दशकपछि कसरी आख्यानमा पाइला टेकेर मदन पुरस्कार यात्रा तय गरे ? यी कुरा उनको मुखबाट सुन्न पनि गजलमा मात्रै सीमित थारू साहित्यकारहरू जरुर व्यग्र प्रतीक्षामा छन् भन्ने मलाई लाग्छ ।

थारूहरूको बसोबास छरिएको छ । मानकता कसरी ल्याउन सकिन्छ ?
धेरै साहित्य लेखिएको डंगौरा थारू भाषामा हो ।  नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले डंगौरा थारू भाषाको मानकताको प्रश्नबारे २०७३ साउनमा घोराहीमा गोष्ठी गराइसकेको छ । सोही गोष्ठीमा सहजकर्ता रहेका भाषाविद् पदम राईले थारू भाषाको मानकताबारे दिएको सुझावअनुसार केही पत्रिकामा शैली अपनाउँदा एक प्रकारको तरंग पैदा भएको छ । पदमले यसपालि गोष्ठी प्रस्तुतिको सार राख्दैछन् साहित्यिक मेलामा । उनले दिएका सुझाव मान्नैपर्छ भन्ने छैन, तर लेखनमा मानकता ल्याउन मेलाले बाटो खोल्नेछ ।

Leave A Comment