पिँधविनाको लोटा

सोमबार, १४ चैत २०७३, १२ : १८ शुक्रवार , Kathmandu
पिँधविनाको लोटा

सफलताले मानिसलाई कि त परिपक्व बनाउँछ कि अत्याउँछ । तर, ‘छक्का पञ्जा’को ऐतिहासिक व्यापारपछि दीपकराज गिरी भने परिपक्व हैन, अत्यासमा परेका छन् । दिनैपिच्छे फेरिने उनको बोलीले यही बताउँछ । सबैभन्दा पहिले उनले विकास आचार्यसँग मिलेर ‘निरञ्जना’ शीर्षकको फिल्म बनाउने घोषणा गरे । फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काले समेत अभिनय गर्ने खबर बाहिरियो । तर, घोषणा गरेको चर्चा सेलाउन नपाउँदै फिल्मको नाम नै परिवर्तन भएको खबर आयो । फिल्म ‘छ माया छपक्कै’ शीर्षकमा बन्ने चर्चा चल्यो । फिल्मको नाम परिवर्तन भएको खबर पुरानो हुन पाएको थिएन, होलीको दिन अचानक फिल्मको नाम मात्र हैन, निर्देशक नै परिवर्तन भएको घोषणा भयो । होलीको दिन बिहानै गिरीले फिल्म ‘छक्का पञ्जा २’ शीर्षकमा बन्ने र निर्देशकमा दीपाश्री निरौला नै दोहोरिने घोषणा गरे । यता, पत्रकारले नाम परिवर्तन भएको खबर लेखिसक्न पाएका थिएनन्, फिल्मको नामको पछाडि फेरि थपिएको घोषणा आयो । आजका दिनमा फिल्म ‘छक्का पञ्जा फेरि’ नाममा बन्ने खबर छ । यतिमात्र हैन, फिल्मको रिलिज मिति पनि फेरिएको फेरियै छ । फिल्म पहिला भदौ १६ मा रिलिज हुनेवाला थियो, अहिले फेरिएर असोज ११ मा पुगेको छ ।  थाहा छैन, गिरीले फेरि केही दिनपछि के घोषणा गर्ने हुन् ? बोलीको ठेगान नहुनेलाई पिँधविनाको लोटा भन्ने उखान छ । कतै गिरी आफूलाई यस्तै साबित गरिरहेका त छैनन् ?

Leave A Comment