विवादका उस्ताद कपिल

सोमबार, १४ चैत २०७३, १२ : १६ शुक्रवार , Kathmandu
विवादका उस्ताद कपिल

हालै भारतीय हास्यकलाकार कपिल शर्माले आफ्नो प्रेमिकाको एउटा फोटो सामाजिक सञ्जालमा साझा गरे । आफ्नो व्यक्तिगत जीवन र प्रेमिकाबारे खासै बोल्न नरुचाउने यी कमेडियनले अचानक प्रेमिकालाई श्रीमती बताउँदै फोटो पोस्ट गरेका थिए । ‘कपिल शर्माले बिहे गरे’ भन्दै विभिन्न समाचारमाध्यममा उनी छाउन थाले । प्रशंसकहरूबाट बधाईको ओइरो लाग्यो । बिहेको खबर आएको केही घण्टापछि कपिलले आफ्ना सहकर्मी सुनील ग्रोवर र चन्दन प्रभाकरसँग कुटपिट गरेका समाचार बाहिरिए । अस्ट्रेलियामा कार्यक्रम गरेर भारत फर्किने क्रममा रक्सी खाएर कपिलले सुनील र चन्दनसँग हदैसम्म अभद्र व्यवहार गरेको कुरा चारैतिर फैलियो । साथीहरूसँगको यही विवादलाई लुकाउन कपिलले आफ्नो बिहेको हल्ला फिँजाएको भन्ने धेरैको भनाइ छ ।
यसरी पहिलो पटक कपिल विवादमा फसेका होइनन् । यी लोकप्रिय कमेडियन बेला–बेलामा विवादमा फसिरहन्छन् । उनका केही विवादः
–मुम्बईमा अफिस खोल्दा बृहणमुम्बई नगर निगम (बीएमसी) का अधिकारीले कपिलसँग पाँच लाख भारु घुस मागेका थिए । यसो हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीट गर्दै कपिलले लेखेका थिए– ‘पाँच वर्षमा १५ करोड रुपैयाँ आयकर भर्दा पनि मबाट घुस मागिँदैछ । के यही हुन् राम्रा दिन ?’ कपिलको यो ट्वीटले बबाल मच्चाएको थियो ।
–आफूलाई सधैँ आममानिस बताउने कपिलका जोक्स आममानिससँग जोडिएका हुन्छन् । तर, आफ्नो कमेडी सोमा गर्भवती महिलामाथि जोक्स बनाउँदा उनी विवादमा तानिए । यसका लागि उनले धेरै आलोचना खेप्नुप¥यो । महाराष्ट्रको एउटा गैरसरकारी संस्थाले त उनीविरुद्ध उजुरी नै हालेको थियो ।
–सन् २०१५ मा मराठी फिल्म फेस्टिभलका क्रममा कपिलले रक्सीको मातमा मोनाली ठाकुर र तनिष्ठा मुखर्जीलगायत कलाकारसँग अभद्र व्यवहार गरेका थिए ।
–केही महिनाअघि मिडियासँग कुरा गर्दा उनलाई पत्रकारले एउटा प्रश्न गरेका थिए– ‘तपाईंलाई तपाईंको सोबाट सलमान खान र शाहरूख खानमध्ये कसले रिप्लेस गर्न सक्छ ?’ पत्रकारको प्रश्न झर्न नपाउँदै कपिलले शाहरूख खानको नाम लिएका थिए । त्यसपछि सलमानले आफ्नो फिल्मको प्रमोसनका लागि कपिलको सोको साटो ‘कमेडी नाइट्स बचाओ’ रोजे । भनिन्छ, यो कुराले कपिललाई दुःखी बनाएको थियो ।
–गत वर्ष कपिलले उत्तर प्रदेशमा एउटा कार्यक्रम गर्दा ठूलै रकम लिएका थिए । यसपछि उनको धेरै आलोचना भएको थियो । उत्तर प्रदेशको एउटा कार्यक्रममा जान उनले ६५ लाख भारु लिएका थिए ।
–एउटा अवार्ड कार्यक्रममा कपिलले प्रियंका चोपडाका लागि तीन घण्टा कुर्नुप¥यो । तीन घण्टापछि प्रियंका आउँदा कपिलले रिसाएर भुइँमा आफ्नो कानका इयररिङ फ्याँकेका थिए । यसपछि उनको र प्रियंकाको सम्बन्ध बिग्रिएको थियो ।
–‘द कपिल शर्मा सो’ का क्रममा कपिलले नर्समाथि जोक्स गरेका थिए । यसपछि अमृतसरको सिभिल हस्पिटल र गुरुनानक देव हस्पिटलका नर्सले उनीविरुद्ध जुलुस निकालेका थिए । कपिलले सोमार्फत नर्सहरूको छवि बिगार्ने काम गरेको आरोप हस्पिटलका नर्सले लगाएका थिए । यस गल्तीका लागि कपिलले भारतका सम्पूर्ण नर्ससँग क्षमा माग्नुपर्ने माग नर्सहरूको थियो । नत्र आफूहरूले उनीविरुद्ध उजुरी हाल्ने धम्कीसमेत उनीहरूले दिएका थिए ।

 

Leave A Comment