काल–जमाना

शनिबार, १२ चैत २०७३, १० : ४० ईश्वर दाहाल , Kathmandu
काल–जमाना

नेताजी हात जोड्दै साइँलाबाको आँगनमा आइपुगे ।
‘आराम हुनुहुन्छ, साइँलाबा ?’ सुकिलो ज्यानको नेताजीले सुकिलै स्वरमा सोधे ।
‘ठीकै छ, बाबु । अहिलेसम्म बाँच्चेकै छ ।’ थोतो मुखलाई हाँसोले भरिलो बनाउने यत्न गर्दै साइँलाबाले हात जोडे ।
‘धेरै पछि भेट भो, साइँलाबासँग । अझै फुर्तिलो नै हुनुहुँदो रहेछ ।’ नेता ङिच्च हाँसे ।
‘के गर्नु त, बाबुहरू काठमाडौँतिर बस्नुहुन्छ । हाम्ले गाउँ छाड्न सकेनौँ । बाबुहरूका पँखेटा लागे । उड्नुभो । हाम्रा गोडामा ताकत आएनन्, गाउँ छाड्न सकेनौँ ।’
साइँलाबाको भनाइले नेताको मन खुम्चियो । तर, नेता न हुन्, मनको अमिलो अनुहारमा आउन दिएनन् । अनुहारको हाँसोलाई निरन्तर नै राखे ।
‘भनेपछि अव चुनाव आयो, हैन त बाबु ?’ साइँलाबाले नेतालाई थोरै खिस्याएको शैलीमा सोधे ।
‘हो साइँलाबा, हो ।’ नेताले साइँलाबाको अनुहारमा हेरे र चिन्तितजस्ता देखिए ।
‘रेडियोले चुनाव आउँदैछ भन्ने त सुन्या थेँ । तर, रेडियोले भन्दैमा विश्वास गर्न पनि नसकिने । हुन्छ भन्या कुरा कहिले चाहिँ भाथ्यो र पत्याउनु ? नयाँ नेपाल बन्छ भनेर भन्याभन्यै गर्थे । जनताका सुखका दिन आउँछ भनेर जतातातै सुनिन्थ्यो । तर, हिँड्दैछ पाइला मेट्दैछ भो । पहिला–पहिला पनि चुनाव हुन्छ भन्थे । फेरि, केही दिनपछि नहुने भो भन्ने सुनिन्थ्यो । यसपाला पनि त्यस्तै होला जस्तो लाग्थ्यो । तर, अब चैँ चुनाव हुने भएछ ।’
‘तपाईंलाई चुनाव हुन्छ भन्ने कसरी विश्वास भयो साइँलाबा ?’ नेताले बडो जिज्ञासु शैलीमा सोधे । नेताको सोधाइले साइँलाबाको चाउरी परेको अनुहारमा चमक देखियो । आँखामा रमरम व्यंग्यको रङ पोतियो । दिल खोलेर हाँस्दै साइँलाबाले भने, ‘बाबुलाई हाम्रा आँगनमा देखेपछि, मलाई अब चैँ चुनाव हुन्छ भन्ने पूरापर विश्वास भो ।’ साइँलाबालाई एकक्षण आफ्नै हाँसोले रोक्यो र हाँसोमा ब्रेक लाउँदै उनले थप भने, ‘हाम्रा लागि त बाबु, चुनाव आएको बुझ्नका लागि बाबुहरूसँग भेटघाट हुनुपर्छ । मेरा लागि त, बाबुहरूसँग भेट भयो भने चुनाव आयो, नत्र जसले जे–जे भने पनि चुनाव आएको म मरिकाट्टे पत्याउँदिनँ  ।’
यतिबेरसम्म आफूलाई सम्हालिरहेका नेताले आफूलाई थेग्न सकेनन् । मनको सन्ताप अनुहारमै देखियो । लामो निश्वास छाड्दै उनले निराशाको लवजमा भने, ‘के गर्ने त साइँलाबा ? काल–जमाना नै फेरियो । पैलेपैलेको जस्तो फुर्सद नै निकाल्न सकिँदैन । अति व्यस्त होइन्छ  । हजुरहरूसँग भेट्न त मन लाग्छ नि ? लागेर के गर्नु । कहिल्यै समय मिल्दैन ।’
साइँलाबा मुसुक्क मुस्काए । अक्सर साइँलाबा मुस्काउँदैनन् । हाँसे ‘फुल’ हास्छन्, नत्र हाँस्दै हाँस्दैनन् । बाल्यकालबाटै साइँलाबालाई चिनेको नेताले साइँलाबाको मुस्कान रहस्य नबुझ्ने कुरै थिएन । साइँलाबाको मुस्कानले उनलाई त्रसित बनायो ।
‘ठीक भन्नुभो, बाबु, तपाईंले सोह्रै आना ठीक भन्नुभो । हुन त तपाईंजस्ता जानेबुझेका मानिसले ठीक नभने अरू कसले भन्न सक्छन् ? काल–जमाना फेरिएकै हो । यसो कहिलेकाहीँ गम्छु– मलाई पनि काल–जमाना फेरिएकै जस्तो लाग्छ । ऊ बेलाको पञ्चेतीकालमा पनि पार्टीका नेता आउँथे । विचराहरूसँग आजै मरिन्छ कि भरे मरिन्छ भन्ने भय हुन्थ्यो । ज्यान बचाउनका लागि रातबेला हाम्रा घराँ छिर्थें । प्रायः सधँैजसो भोकभोकै आइपुग्थे । उनीहरूसँग के हुन्थ्यो र खानु, खान पनि । त्यही एउटा ज्यान र देशमा प्रजातन्त्र ल्याउँछु भन्ने आँटबाहेक उनीहरूसँग केही हुँदैनथ्यो । उनीहरू हामीजस्तै थिए र हामीलाई पनि उनीहरू आफूजस्तै लाग्थे । खोले–सातु जे छ, खान्थे । गुन्द्री–सुकुल जे छ, सुत्थे । पार्टीका कुरा गर्थे । गरिबगुरुबाको शासन ल्याउने कल्पना गर्थे । उनीहरूसँग न अघिपछि लाएर हिँड्नेहरू थिए, न त शक्ति र सम्पत्ति नै थियो । उनीहरूका जेजति थिए, हामी गाउँले जनता नै थियौँ । हामीजस्ता पार्टीलाई माया गर्ने गाउँले कार्यकर्ता नै बिचराहरूको जिउने आधार थियो । हिजोआज बाबुहरू नेता हुनु भाछ । तर, आज बाबुहरूसँग के छैन ? यी यसरी अघिपछि लाग्ने साथीभाइको भीड छ । केन्द्रमा आफ्नो लागि गरिदिने नेता छन् । गारोसारोमा भरथेग गर्ने ठेकेदार, व्यापारी छन् । यत्रो फेरबदल भइसकेपछि त काल–जमाना बदलिइगो नि, बाबु ।’ साइँलाबाले नेताको अनुहारमा हेरे, जसरी बाण हानिसकेको शिकारीले मृगलाई लाग्यो कि लागेन भनेर हेर्छ । साइँलाबाको अनुहार सन्तुष्ट देखियो । सायद बाण लागेको निष्कर्ष निकाले ।
नेता नराम्रो गरी छटपटिए । साइँलाबाको कुरालाई कसरी प्रतिवाद गर्ने भन्ने उनको दिमागमा आएन । साइँलाबाले नेताको अनुहारमा पुलुक्क हेरे र भने, ‘एउटा कुराले चैँ काल–जमाना बदलियो कि बदिलिएन भन्ने अलमल पार्ने गर्छ । हामी हिजो जाँ थ्यौँ, आज पनि त्यँै छौँ । आफूलाई यसो नियाल्दा काल–जमाना बदलिएन कि जस्तो लाग्छ, बाबु ।’
साइँली आमाले बुढ्यौली हात थरथर कमाउँदै चिया ल्याएर राखिदिइन् । नेताले चियाको गिलास टिपे । तर, चियाको स्वाद पत्ता लाउन सकेनन् । नेतासँग आएका ठिटाहरू भने नेताको निन्याउरो अनुहार हेरेर छक्क परे । नेतालाई यति आलसतालस परेको उनीहरूले कहिल्यै देखेका थिएनन् । त्यत्रा सचिव, सहसचिव, व्यापारी र मन्त्रीहरूलाई ठेगान लाउने नेता आज यसरी मर्लान्त देखिँदा उनीहरू चकित पर्नु स्वाभाविकै थियो । त्यत्रा–त्यत्रा टेन्डर मिलाउने नेता एउटा वृद्धका अगाडि अक्क न बक्क भएका थिए ।
‘साइँलाबा, तपाईंले भनेका कुरा सप्पै सही हुन् । तर, के गर्ने ? राजनीतिमा टिक्न यसो दायाँबायाँ नगरेर पनि नहुनी । बडो बेफुर्सदी भइयो ... के गर्ने ?’ नेताले आखिरीमा बेफुर्सदीको प्रसंग उप्काए ।
‘हो, बाबु हो,’ साइँलाबाले नेताको कुरामा सही थाप्दै भने, ‘यसो बाबु गाउँ झर्दा पनि गिटी, बालुवाखानीकै कामले तपाईंलाई भ्याइ नभ्याइ हुन्छ । अनि, हाम्रा आँगनाँ बाबु कसरी आउनु ? बरु यो चुनाव चाहिँ वर्षैपिच्छे आइदिराखे बाबुहरूसँग भेटघाट भइरन्थ्यो ।’
भोट माग्न आएका नेताले भोटको कुरै गर्न सकेनन् । हात जोडेर साइँलाबासँग बिदा भए । घरमाथिको डिलमा उक्लँदै गर्दा केटाहरूलाई भने, ‘हेर केटा हो, काल–जमाना धेरै बदलियो । यो राजनीति गर्न पनि धेरै गाह्रो भो ।’ केटाहरूले नेताको कुरामा पूर्ण सहमति जनाए ।

 

Leave A Comment