‘बजारको ब्रह्मलुट रोक्नुपर्छ’

मङ्गलबार, ०८ चैत २०७३, १२ : २१ शुक्रवार , Kathmandu
‘बजारको ब्रह्मलुट रोक्नुपर्छ’

खोटाङमा जन्मिएका नरेश कटुवाल करिअर बनाउन राजधानी छिरेको वर्षौं भयो । उनी डेढ दशकयता जुत्ताचप्पल उद्योगमा आबद्ध छन् । एनजे फुटवेयर प्रालिका प्रबन्ध सञ्चालक कटुवाल नेपाल जुत्ताचप्पल उद्योग व्यवसायी संघका अध्यक्ष हुन् । ४३ वर्षीय कटुवालसँग नेपालमा जुत्ताचप्पल उद्योगको अवस्था, बजार, नीतिगत समस्यालगायत विषयमा शुक्रवार साप्ताहिकका लागि दिलीप पौडेलले गरेको कुराकानीः
व्यवसायमा कसरी आउनुभयो ?
अध्ययनका लागि राजधानी छिरेको हुँ । परिवारको जिम्मेवारी पनि मेरो काँधमा थियो । सुरुसुरुमा ज्यालादारी काम गरेँ । ग्यास टेम्पोको काम पनि गरेँ । त्यसमा पनि सफलता नपाएपछि जुत्ताचप्पलको व्यवसाय गर्न  थालेँ ।

जुत्ताचप्पल उद्योगको अवस्था कस्तो छ ?
विगतको भूकम्प, नाकाबन्दी, राजनीतिक उतारचढाव, लोडसेडिङले धरासायी बनेका यहाँका उद्योग अहिले तंग्रिदै अघि बढेका छन् । नेपालमा साना घरेलु उद्योगलाई ध्वस्त बनाउन र नष्ट गर्न एउटा समूह लागेको छ । तर, हामी अहिले साना उद्योग बचाउन लागिपरेका छौँ । चीन र भारतबाट आएका जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्दै आएका छौँ । विदेशबाट जुत्ताचप्पल लिएर आउने र नेपाली भनेर बेच्ने गरेका छन् । यसले स्वदेशी उद्योगलाई निकै समस्यामा पारेको छ ।
यहाँको संघमा कति उद्योग आबद्ध छन् ?
यसमा ८० प्रतिशत लेडिज जुत्ताचप्पल उत्पादक आबद्ध छन् । आबद्ध उद्योगमध्ये एक सयभन्दा बढी लेडिज र करिब १० जेन्स रहेका छन् ।
यस क्षेत्रको मुख्य समस्या के हो ?
विदेशी जुत्ताचप्पल ल्याएर स्वदेशी ब्रान्डमा बिक्री गर्दा साना उद्योगलाई कठिनाई भएको छ । उद्योग विभागले दुई हजार रुपैयाँमा ब्रान्ड दर्ता दिन्छ र थप पाँच हजार तिरेपछि ब्रान्ड ल्याउन पाइन्छ । यो फितलो नीतिको फाइदा उठाउँदै पाँच सयमा आउने जुत्ताचप्पललाई विदेशी ब्रान्डको नाममा १८ सय, दुई हजार रुपैयाँमा बिक्री गरिरहेका छन् । यस्तो बेथितिलाई सरकारी निकायले रोक्नुप¥यो भन्ने हाम्रो माग हो । यसका लागि हामी आन्दोलित छौँ । नेपाली उत्पादनका नाममा ब्रह्मलुट रोक्नुपर्छ ।
स्वदेशी उत्पादनको बजार कस्तो छ ?
नेपाली जुत्ताको बजार निकै राम्रो छ । यहाँका उत्पादकले फाइदा लिने पर्याप्त अवसर छ । तर, भन्सार नतिरी ल्याएका जुत्ताचप्पलसँग प्रतिस्पर्धा हुन सकेको छैन । तयारी वस्तु आउँदा भन्सारले ठीक चेकजाँच गर्नुप¥यो भन्ने हाम्रो मुख्य माग हो ।
उद्योगमा जनशक्तिको अभाव भएको हो ?
नेपाली युवा रोजगारीको लागि विदेश गएका छन् । तर, हामीले भारत र बंंगलादेशबाट कामदार ल्याएर रोजगारी दिइरहेका छौँ । सरकारले तालिम प्रदान गरेर जनशक्ति तयार गरे स्वदेशमै पर्याप्त रोजगारी दिन सक्ने अवस्था छ ।
कच्चा पदार्थको अवस्था के छ ?
अहिलेको मुख्य समस्या जनशक्ति र कच्चा पदार्थ नै हो । यहाँ कच्चा पदार्थ नहुँदा विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । सरकारले कच्चा पदार्थलाई पनि तयारी वस्तुकै अनुपातमा कर लगाउँदा अप्ठ्यारो भएको छ । कच्चा पदार्थको भन्सार दर घटाउनुप¥यो भन्ने मुख्य माग हो ।
सरकारसँग मुख्य माग के छ ?
सरकारलाई ज्ञापनपत्र बुझाएका छौँ । तयारी जुत्ताको भन्सार दर बढाउनुप¥यो । स्वदेशी साना उद्योगलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुप¥यो । जुत्ताचप्पल उद्योगको करिडोर बनाउनुप¥यो । दक्ष जनशक्ति उत्पादनमा राज्यले सघाउनुपर्छ ।
यस क्षेत्रमा काम गर्न चाहनेलाई कस्तो अवसर छ ?
अहिले जनशक्तिको अभाव छ । नेपाली युवा रोजगारीका लागि विदेश गएका छन् । तर, हाम्रै जुत्ताचप्पल उद्योगमा भारतबाट जनशक्ति ल्याउनुपर्ने अवस्था छ । यहाँ काम ग¥यो भने एक जनाले मासिक ५० हजार रुपैयाँसम्म कमाउन सक्छ ।
उद्योग सञ्चालन गर्न कत्तिको अप्ठ्यारो छ ?
विगतको तुलनामा अहिले सजिलो भएको छ । सरकारले नीति बनाए पनि कार्यान्वयन नहुँदा जटिलता छ । मुलुकको अर्थतन्त्र आयातमुखी भएको छ । परनिर्भरता बढेको छ । कच्चा पदार्थमा विदेशको भरपर्नु पर्दा अप्ठ्यारो छ । जनशक्तिको अभाव छ । लगानी सुरक्षाको प्रत्याभूति हुन सकेको छैन । अस्वस्थ प्रतिस्पर्धा छ ।

 

Leave A Comment