परीक्षा अभिभावकको पनि हो

सोमबार, ०७ चैत २०७३, ०१ : ०९ शुक्रवार , Kathmandu
परीक्षा अभिभावकको पनि हो

–नन्दिता शर्मा लुइँटेल
चैत महिना, परीक्षाको महिना । नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीकोे परीक्षा यही महिनामा पर्छ । देशभरिका धेरै बालबालिका कक्षा १० को माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई दिँदैछन् । यसकारण यो महिना हरेक विद्यार्थीका लागि विशेष महिना हो ।
परीक्षाको बेला हरेक विद्यार्थीले अभिभावकको साथ र सहयोग  चाहन्छन् । यो बेलामा आफ्ना छोराछोरीलाई कस्तो वातावरण बनाउने ? भन्ने प्रश्न धेरै अभिभावकको मनमा उब्जिन सक्छ । स्वाभाविक रूपमा परीक्षाको बेलामा अभिभावकले आफ्ना छोराछोरीलाई अघिपछिभन्दा बढी समय दिनुपर्छ । साथै, उनीहरूको इच्छा र चाहनालाई बुझेर व्यवहार गर्नुपर्छ । घरको वातावरण सकेसम्म शान्त हुनुपर्छ । कोही अभिभावक बच्चालाई ‘पढ्–पढ्’ मात्रै भन्छन् । आफू भने गफ गर्ने, ठूलो आवाजले टीभी खोलेर हेर्ने गर्छन् । जुन एकदमै गलत हो । त्यसले बालबालिकामा नकारात्मक असर पार्छ । त्यस्तै, आफू घुम्न गएर छोराछोरीलाई ‘भोलि तिम्रो जाँच छ, पढेर बस्नु है’ भन्दा उनीहरूलाई नमज्जा लाग्छ सक्छ । त्यसैले बालबच्चाको परीक्षाको बेलामा अभिभावक सकेसम्म उनीहरूको साथमा रहँदा नै प्रभावकारी हुन्छ ।
छोराछोरीले ध्यान दिएर पढुन् भन्ने चाहना राख्ने अभिभावकले अघिपछि गर्ने रमाइलोमा कटौती गर्नुपर्छ । उनीहरूले परीक्षाको बेलामा टेलिभिजन हेर्ने, गफ गर्ने, भोजभतेर जाने कि नजाने ? भनेर निकै गम्भीर भएर सोच्नुपर्छ । अभिभावकले आफ्नो रमाइलोमा कटौती गर्दा ‘उहाँहरूले मेरो लागि आफ्नो इच्छा मार्नुभयो, मैले राम्रोसँग पढ्नुपर्छ’ भन्ने सोच्छन् । तर, यसो भन्दैमा उनीहरूलाई ‘पढ्–पढ्’ मात्र भनेर बन्धनमा मात्र पनि राख्नु हुँदैन । समय तालिका मिलाएर केही समय फ्रेस पनि हुन दिनुपर्छ ।
कतिपय बच्चा परीक्षाको बेलामै बिरामी पर्छन् । त्यतिखेर उनीहरूलाई ‘एक्जामोफोबिया’ हुन सक्छ । धेरै अभिभावकले परीक्षा बिगारेर आएका छोराछोरीलाई गाली गर्छन् । तर, परीक्षा बिगारिहाले भने पनि ‘ठीकै छ, अर्को चोटि राम्रो गर’ भनेर सान्त्वना दिनुपर्छ ।
छोराछोरी पढ्नका लागि भनेर छुट्टै कोठा कमैले बनाइदिन्छन् । संयुक्त परिवारमा बसेकालाई यस्तो बेलामा निकै मर्का पर्छ । यस्तो बेलामा परिवारका सदस्यले उनीहरूको मर्का बुझेर शान्त वातावरणको निर्माण गरिदिनुपर्छ ।
हरेक विद्यार्थीका अभिभावक पढेलेखेका मात्रै हुन्छन् भन्ने छैन । परीक्षाको बेला शिक्षित अभिभावकले मात्र आफ्ना छोराछोरीलाई सघाउन सक्छन् भन्ने पनि छैन । उनीहरूले लेखेको अक्षर हेरेर ‘आहा कति राम्रो’ मात्र भन्दा पनि छोराछोरी मक्ख पर्छन् ।
बालबालिकाले प्राप्त गर्ने हरेक सफलतामा अभिभावकको ठूलो हात  हुन्छ । आमाबाले आफ्ना छोराछोरीलाई परीक्षाको बेलामा मात्र ‘पढ्–पढ्को वातावरण बनाउनु हुँदैन । अरू, बेलामा पनि पढाइमा उनीहरूलाई ध्यानाकर्षण गराउन समय–तालिका बनाइदिनुपर्छ ।

( त्रिभुवन विश्वविद्यालय, मनोविज्ञान केन्द्रीय विभागकी सहप्राध्यापक लुइँटेलसँग सृजना खड्काले गरेको कुराकानीमा आधारित ।)

 

Leave A Comment