कुन्तीका प्रिय १० सुर

सोमबार, ०७ चैत २०७३, ०१ : ०५ रामकुमार डिसी , Kathmandu
कुन्तीका प्रिय १० सुर

गायिका कुन्ती मोक्तानका धेरै गीत चर्चित छन् । उनले आफूलाई मन पर्ने आफ्ना पाँच र अरूका पाँच गीतबारे शुक्रवारलाई बताएकी छिन् ।
आफ्ना ५
१ कहिलेकाहीँ मलाई पनि हेरिदेऊ है    
नेपालमा रेकर्ड भएको यो मेरो पहिलो गीत हो । यसमा शब्द र संगीत शिलाबहादुर मोक्तानको छ । यो क्लासिकल खालको गीत हो । रेडियो नेपालमा रेकर्ड भएको यो गीत मेरा लागि ‘लक्की’ पनि छ । यसैले हो, मलाई नेपालमा गायिका भनेर चिनाएको ।

२ रुँदै छु म गैरी खेतमा
यो गीतमा नेपालीपन राम्रोसँग समेटिएको छ । बुद्धवीर लामाले लेख्नुभएको गीतमा परदेशमा गएका आफ्ना प्रिय मान्छेको स्वदेशमा बसेर सम्झिएको कथा छ । अहिले अधिकांश नेपाली विदेशिएका छन् । एकअर्काबाट छुट्टिएर बस्नु पर्दाकोे पीडा सबैले भोग्नुपरेको छ । शिलाबहादुर मोक्तानले यसमा संगीत पनि मन छुने खालको भर्नुभएको छ ।

३ पन्छीमा डाँफे राम्रो
यो राष्ट्रिय गीत हो । मीरा राणा र मैले यो गीत गाएका छौँ । रत्नशमशेर थापाले यसको शब्द असाध्यै राम्रो लेख्नुभएको छ । शिवशंकरले गरेको संगीत पनि असाध्यै राम्रो छ । राष्ट्रिय गीत भएकाले मलाई यो गीत सधैँ गुनगुनाइरहन मन लाग्छ । स्रोताले पनि यो गीत असाध्यै रुचाइदिनुभयो ।

४ खुट्टा तान्दै गर
बुद्धवीर लामाले लेखेको यो गीतमा शिलाबहादुरले संगीत दिनुभएको छ । प्रगतिपथमा अघि बढ्दै गरेकोलाई खुट्टा तान्ने हाम्रो प्रवृत्ति हो । यो गीतले भने त्यस्ताहरूलाई बेवास्ता गरेर अघि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ । हरेस खान हुन्न, अघि बढ्नुपर्छ भन्ने भाव भएकाले पनि यो गीत मलाई धेरै मन पर्छ ।

५ चोली राम्रो पाल्पाली ढाकाको
यो गीत पनि मलाई असाध्यै मन पर्छ । बुद्धवीर लामाले लेख्नुभएको यो गीतका शब्द सामान्य भए पनि मनमा बस्ने खालका छन् । यसमा शिलाबहादुरले संगीत दिनुभएको छ । संगीत पनि राम्रो छ ।

 अरूका ५
१ लौ सुन म भन्छु
यो गीतमा गोपाल योञ्जनले अति मार्मिक शब्द लेख्नुभएको छ । उहाँले गर्नुभएको संगीत पनि मन छुने खालको छ ।  नारायणगोपालको स्वरको जादु यहाँ पनि छ । म उहाँको फ्यान भएकाले पनि यो गीत असाध्यै मन पर्छ । यो गीतमा रियाज गर्न पनि मज्जा आउँछ ।

२ जहाँ छन् बुद्धका आँखा
बुद्ध जन्मेको देशमा बुद्ध बारेको गीतका शब्द जति मार्मिक छन्, भक्तराज आचार्यको स्वरले त्यसमा झनै ओज थपिदिएको छ । यो गीत जतिपल्ट सुन्दा पनि सुनिरहूँ जस्तो लाग्छ ।

३ पोहोर साल खुशी फाट्दा
राजेन्द्र थापाले लेखेको यो गीतमा अम्बर गुरुङले असाध्यै राम्रो संगीत भर्नुभएको छ । अरुणा लामाको जादुमयी स्वरले गीतलाई थप बलियो बनाएको छ । मलाई यो गीतका शब्द, संगीत र स्वरले असाध्यै मन छुन्छ ।

४ उकाली ओरालीहरूमा
तारादेवीको स्वरको म फ्यान हुँ । उहाँको स्वर भएकाले पनि यो गीत मलाई निकै मन पर्छ । चाँदनी शाहले लेखेको यो गीतका प्रत्येक शब्दले मायाको वर्णन गरेका छन् । मायाले नै सबैलाई बाँध्नुपर्छ भन्ने भाव गीतमा छ । यसको संगीत पनि राम्रो छ । रोमान्टिक खालको भएकाले पनि यो गीत मलाई मन पर्छ ।

५ साँझपख एकान्तमा
यो पपगीत मलाई असाध्यै मन पर्छ । नवीन के. भट्टराईले डुबेर गाउनुभएको छ । उहाँ आफैँले गरेको संगीतले पनि मन छुन्छ । मनोज आचार्यले लेख्नुभएको यो गीत गाउन असाध्यै अभ्यास गर्नुपर्छ ।

 

 

Leave A Comment