दुई साथीको कागजी दुनियाँ

आइतबार, ०६ चैत २०७३, १२ : ४९ सृजना खड्का , Kathmandu
दुई साथीको कागजी दुनियाँ

आफ्नो देश छाडेर विदेशिन खोज्ने युवाको लामो लर्कोमा पर्दैनन्, रमिता महर्जन र सचिन भट्ट । आफ्नै देशमा बसेर पनि केही काम गर्न सकिन्छ भन्ने सोच र आत्मविश्वास दुवैमा छ । उनीहरूको सोच र काममा त्यो कुरा प्रष्टै देखिन्छ ।  
रमिता र सचिनले व्यवस्थापन विषयमा स्नातक गरेका छन् । रमिताले हालसालै स्नातकोत्तरको लागि समेत तयारी गरिरहेकी छिन् । उनीहरू दुवैको एउटै उपनाम छ त्यो हो, ‘कागजप्रेमी’ । उनीहरू कागजलाई असाध्यै माया गर्छन् । कागजसँगै उनीहरूले आफ्नो सपना बुनेका छन् । त्यही सपनालाई विपना बनाउन आफ्नो अधिकांश समय उनीहरूले कागजसँगै बिताउँछन् । खेरगइरहेका हरेक कागज उनीहरूका लागि निकै महŒवपूर्ण छ । कागजी दुनियाँमा रमाउनुुलाई नै उनीहरूले आफ्नो कर्म बनाएका छन् ।
ललितपुरको भैसेपाटीमा उनीहरूले ‘लहना’ नामको हस्तकला उद्योग खोलेका छन् । त्यहाँ उनीहरूलाई सघाउने पाँच÷छ जना कामदार अरू पनि छन् । रमिता त्यहाँकी प्रोपाइटर हुन् भने सचिन जनरल म्यानेजर । सचिन भन्छन्, ‘मभन्दा रमितालाई निकै राम्रो क्राफ्ट बनाउन आउँछ ।’ यता रमिताले भने सचिनलाई मार्केटिङमा राम्रो दख्खल भएको व्यक्ति मान्छिन् ।
रमिता र सचिन कुनै बेला एउटै रिसर्च कम्पनीमा काम गर्थे । ‘एकदिन ‘कति दिन अरूको मात्रै काम गर्ने, आफैँ केही गरौँ न’ भन्ने सोच आयो,’ रमिता भन्छिन् ।
‘सुरुमा रमिताले कागजको काम गर्ने योजना सुनाउँदा म झसङ भएँ,’ सचिन भन्छन्, ‘अहिलेसम्म कसैले नगरेको काम के होला, कसो होला ? भन्ने चिन्ताले मलाई पिरोल्यो ।’
केही दिन कागजबाहेक अरू केही नसोचेको उनीहरू बताउँछन् ।  ‘केही दिन त चिया मात्र खाएर कागजसँगै खेल्यौँ, कागजसँगै सुत्याँै÷कागजसँगै उठ्यौँ,’ रमिता भन्छिन्, ‘कागज खेलाउँदाखेलाउँदै त्यही कागजलाई जीवन दिन सक्ने आँट हामीमा जुर्मुरायो ।’
मानिसहरूले कामै नलाग्ने भनेर फ्याँकेका कागजलाई उनीहरूले जीवन दिन थाले । तीन महिनासम्म रिसर्च बेसमा काम गरे, उनीहरूले । ‘बजारमा बिक्छ, बिक्दैन थाहा थिएन । नौलो काम चुनौती थियो । तैपनि, आत्मविश्वासका साथ अगाडि बढ्यौँ,’ दुवैले एकै स्वरमा भने ।
कागजबाट विभिन्न सामग्री बनाउने सोख आफूमा सानै बेलादेखि भएका रमिता बताउँछिन् । ‘टिचर्स डेमा टिचरहरूलाई आफैँ फूल बनाएर उपहार दिन्थेँ,’ रमिता भन्छिन् । पछि बिस्तारै उनलाई यसैमा लत बस्दै गयो । उनी स्नातकमा पढ्दा ‘आर्टिस्टिक बिज जंक’ नामक एउटा प्रतियोगिता भयो । त्यहाँ खेर गएका सामग्रीको प्रयोग गरी आफूमा भएको प्रतिभा देखाउनुपर्ने थियो । ‘त्यो बेला म सहभागी भएँ र हाम्रो गु्रप पहिलो पनि भयो,’ उनी भन्छिन्, ‘त्यसपछि मलाई यो क्षेत्रमा लाग्ने झनै हौसला मिल्यो ।’
कागजबाट उनीहरूले विभिन्न थरीका फूल, फोटो फ्रेम, गहना, ब्याग, पेन होल्डर, डस्टबिन, बास्केटलगायत ४० भन्दा बढी सामग्री बनाउन गरेका छन् । आफूले गरेको कामले वेस्ट म्यानेजमेन्ट गर्ने र इको फ्रेन्डली भएको उनीहरूको भनाइ छ ।  रमिता र सचिनले आफ्नो सीपलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने प्रयास गरिरहेका छन् । विभिन्न प्रदर्शनीमा उनीहरू सहभागी हुने गरेका छन् ।
२७ वर्षीया रमिता र ३६ वर्षीय सचिन आफूहरूले २० हजार रुपैयाँबाट मात्र काम थालनी गरेको बताउँछन् । ‘कुनै पनि सामान बनाउँदा त्यसको कच्चा पदार्थभन्दा मजदुरको ज्याला बढी लाग्छ । यो काम हेर्दा चानचुने लागे पनि यसमा निकै मेहनत गर्नुपर्छ,’ सचिन भन्छन् ।
उनीहरूले पत्रिकाबाट कतिपय सामग्री बनाउँछन् जो पत्रिकाले बनेका जस्तै लाग्दैनन् । सचिन भन्छन्, ‘जानीजानी पानीमा लगेर हाल्यो भने त बिग्रिहाल्छ तर सजावटका रूपमा आफ्नो घरमा राख्यो भने हामीले बनाएका सामान कहिल्यै बिग्रिदैनन् होलान् ।’
आफ्नो हस्तकला उद्योगलाई अगाडि बढाउन रमिता र सचिन लागिपरेका छन् । बजारको आवश्यकतालाई बुझेर तीन वा चार वटा प्रडक्टलाई प्राथमिकतामा राख्ने सोच पनि उनीहरूले बनाएका छन् ।
‘आजका युवा अरूको अन्डरमा काम गर्न रुचाउँदैनन् । आफैँ पनि केही गर्दैनन्,’ रमिता भन्छिन्, ‘सबैले आफूले जानेको काम गर्ने हो भने सरकारको मुख ताक्नुपर्दैन, युवाले बेरोजगार पनि बस्नुपर्दैन ।’

 

Leave A Comment