मुकुन्डोमा रङ पोत्ने पासाङ

आइतबार, ०६ चैत २०७३, १२ : ४६ सृजना खड्का , Kathmandu
मुकुन्डोमा रङ पोत्ने पासाङ

भक्तपुर सूर्यविनायकको गणेश मन्दिर जाने बाटोमा काठका रंगीचंगी मुकुन्डैमुकुन्डोले भरिएको एउटा पसल छ । दिनभरि त्यही पसलमा विभिन्न रङसँग मस्त र व्यस्त देखिन्छन्, सिन्धुपाल्चोकका पासाङ लामा । उनको अगाडि थुप्रै रङका बट्टा राखिएका हुन्छन् । ब्रसको सहायताले उनी तिनै रङसँग खेल्छन्, मुकुन्डोलाई रंगिन बनाउँछन् । ‘जिन्दगीलाई रंगिन बनाउने उद्देश्यका साथ मेरो ब्रस चल्छ । मैले मुकुन्डोलाई मात्र होइन आफ्नो जीवनलाई रंगिन बनाइरहेको हुन्छु,’ उनी भन्छन् ।

लामाले लगाएको प्यान्टमा अनेकन रङ पोतिएका छन् । उनको प्यान्ट कुन रङको हो ठम्याउनै गाह्रो पर्छ । ‘हुन त खैरो रङको प्यान्ट हो । सबै रङ पोतिएर यो पनि रंगिन भएको छ,’ उनी भन्छन्, ‘रङसँग खेल्ने मान्छे न परे म । जति सफा लुगा लाए पनि एकैछिनमा रंगीचंगी हुने हो ।’
हरेक दिन बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म काठका मुकुन्डो अर्थात् उडन मास्कमा रङ भर्छन् उनी । लहरेपिपलबाट ती मुकुन्डा बनेका हुन्छन् । गणेश, भैरव, हनुमान, बुद्ध  र विभिन्न जनावरका रंगहीन ती मास्कमा रङ भरेर त्यसलाई हेर्दै लोभलाग्दो बनाउँछन् लामा । ‘मेरै हातले रङ भरेका धेरै मास्क अमेरिका, जापान कहाँकहाँ पुगिसके म भने जहाँको त्यहीँ छु,’ हाँस्दै लामा भन्छन् ।
उमेरले ४० काटेका लामाको तीन जनाको परिवार छ– उनी, श्रीमती र छोरा । उनकी श्रीमती साइली गलैँचा बुन्ने काम गर्छिन् । श्रीमान्–श्रीमतीले दुःखै गरेर भए पनि छोरालाई नजिकैको बोर्डिङ स्कुलमा पढाएको लामा बताउँछन् । ‘आफूले पढ्न नपाए पनि छोरोले पढोस् भन्ने हाम्रो चाहना हो,’ उनी भन्छन् ।
लामा जातिका भएकाले भारतको एउटा गुम्बामा केही समय बिताएको उनी बताउँछन् । ‘बिहे गरेपछि हस्तकलातिर लागियो,’ उनी भन्छन्, ‘आठ वर्षजति थान्का चित्र कोर्न काम गरेँ । जति काम गर्न सक्यो त्यति नै पैसा आउँथ्यो, त्यसैले त्यसमा रस बस्दै गयो । अहिलेको काम पनि त्यस्तै छ, उही हातको खेल । तलब यति नै आउँछ भन्ने छैन । जति खट्न सक्यो उति नै पैसा कमाइन्छ ।’
कुनै पनि काम सानो वा ठूलो हुँदैन भन्ने सोच लामाको छ । ‘मेहनत ग¥यो भने दुई छाक खान धौधौ पर्दैन,’ उनी भन्छन्,  ‘कामप्रति कुनै गुनासो छैन । सन्तुष्टै छु ।’ परिवारसँग बसेर  दुई छाक आनन्दले खान पाउँदा नै आफू सन्तुष्ट भएको लामा बताउँछन् । सजावटका लागि प्रयोग गरिने उडन मास्कमा आफूले ग्राहकको रोजाइ र खोजाइ अनुसारको रङ भर्ने उनी बताउँछन् । ‘कसैकसैले यस्तै खाले बनाउनुप¥यो भन्दै फोटो ल्याउँछन् । मैले फोटो हेर्दै त्यस्तै उतारिदिन्छु,’ उनी भन्छन् ।
एउटा ठूलो काठको मुकुन्डोमा रङ लगाएबापत हजार रुपैयाँजति पाउने उनी बताउँछन् । ‘ठूलाको हजारको हाराहारीमा, साना र मझौला मुकुन्डोमा रङ भर्दा तीन सयदेखि छ सयसम्म कमाइन्छ,’ उनी भन्छन्, ‘घरखर्च, कोठा भाडा र छोराको फिस तिर्दैमा सकिन्छ पैसा । यसलाई के कमाइ भन्नुु !’ एउटा मुकुटमा रङ भर्न उनलाई एकदेखि दुई दिन लाग्छ । कुनैकुनै मुुकुन्डोमा भने तीन दिनसम्म पनि लाग्ने उनी बताउँछन् ।
सामान्य नेपाली अक्षर चिन्ने लामाले हस्ताकला क्षेत्रमा १५ वर्ष बिताइसके । ‘हस्तकलाको क्षेत्रमा काम गरेकै १५ वर्ष बितिसक्यो । काम गर्दै जाँदा यसको महŒव बुझिने रै’छ,’ उनी भन्छन्, ‘यत्रो वर्ष त बितिसक्यो अबका दिन पनि यही बुरुस र रङसँगै जिन्दगी बिताउनेछु ।’

 

Leave A Comment