राजनीतिमा युवा आफैँ बाधक ?

आइतबार, ०६ चैत २०७३, १२ : ४१ रामकुमार डिसी , Kathmandu
राजनीतिमा युवा आफैँ बाधक ?

करिब दुई महिनाअघि नेत्रविक्रम चन्द ‘विप्लव’ निकट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अखिल(क्रान्तीकारी) को १५ औँ भक्तपुर जिल्ला सम्मेलन उद्घाटन सानो ठिमीस्थित सानोठिमी क्याम्सको गोलघरमा हुने कार्यक्रम थियो ।
‘स्ववियु निर्वाचन होला ? भएमा तपाईंहरू पनि भाग लिनुहुन्छ ?’ निर्वाचन  बुर्जुवाहरूको नौटंकी मान्ने पार्टीको विद्यार्थी संगठनका एक जना विद्यार्थी नेतालाई मैले सोधेँ ।  ‘पार्टीले जे गर् भन्छ, त्यही हुन्छ,’ उनको स्पष्ट जवाफ थियो ।
‘यत्रो वर्षपछि स्ववियु निर्वाचन हुँदैछ । विद्यार्थी राजनीति जोगाउन पनि तपाईंहरूले चुनावमा भाग लिनुप¥यो । यस्तो कुरामा पनि पार्टीको आज्ञाकारी किन बन्नुहुन्छ ?’ पंक्तिकारले ती विद्यार्थी नेतालाई अर्को प्रश्न थपेको थियो । विद्यार्थी नेताको सट्टा अर्का छेवैमा बसेका एक जना महाशय पो आक्रोशित हुँदै बम्किए, ‘तपाईंले भनेर हुन्छ ? पार्टीको भ्रातृ संगठन भएपछि पार्टीको आदेशअनुसार चल्नुपरेन ?’ उनी रहेछन्,  सम्मेलन उद्घाटन गर्न आएका पार्टीका केन्द्रीय स्तरका नेता । उनको कडा जवाफले त्रसित विद्यार्थी नेताले मलाई चुप लाग्न इसारा गरे ।

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को अधिवेशन आठ पटकसम्म सारियो । पार्टीका नेताहरूबीच भागबण्डाको कुरो नमिल्दा नेविसंघ करिब आठ वर्ष     नेतृत्वविहीनजस्तै भयो । आफ्नो संगठनलाई पंगु बनाइदिँदा पनि युवा विद्यार्थी नेता बोलेनन् ।
राजनीतिमा युवाहरूबाट आशा र भरोसा गर्नेहरूले उनीहरूबारे पुनर्विचार गर्न यी दुई दृष्टान्त काफी  नहोलान्, तर चिन्तित बनाउन भने पर्याप्त छन् ।
कतिपय विद्वान् उमेरभन्दा पनि मानिस उसको सोच र विचारले तन्नेरी वा वृद्ध हुने तर्क गर्छन् । त्यसैलाई पछ्याएर होस् या व्यंग्यस्वरूप नै किन नहोस्, कांग्रेसमा ६० वर्ष काटेकालाई पनि युवा नेता भन्ने गरिएको छ ।
आन्दोलनका प्रत्येक मोर्चामा युवा अगाडि हुन्छन् । लडने, भिड्ने, ज्यान फाल्ने कुरामा पनि युवा नै अग्र भागमा हुन्छन् । तर, सत्तामा जाने समय आएपछि युवाको पार्टीमा न उचित प्रतिनिधित्व हुन्छ, न सरकारमा जाने सवालमा नै ।
संसदको ठूलो दल नेपाली कांग्रेसको पदाधिकारीमा एक जना पनि युवा पुग्न सकेका छैनन् । केन्द्रीय समितिमा एकतिहाइजति पनि युवाको प्रतिनिधित्व छैन । त्यस्तै, दास्रो ठूलो दल एमालेमा  गोकर्ण विष्ट, घनश्याम भुसाल, शंकर पोखरेल, योगेश भट्टराईलाई युवा मान्ने हो भने जम्बो पदाधिकारीमा उनीहरूको केही बढी प्रतिनिधित्व छ । सरकारले भने १६ देखि ४० वर्षसम्मका उमेरकालाई मात्रै युवा मान्ने गरेको छ । सरकारी मापदण्डलाई आधार मान्दा यी कोही पनि युवा नेतामा पर्दैनन् । एमालेको केन्द्रीय सदस्यमा पनि एकतिहाइ युवाको प्रतिनिधित्व हुन सकेको छैन ।
त्यस्तै, जनयुद्ध लडेर आएको माओवादीमा पनि युवाहरूको प्रतिनिधित्व दयनीय नै छ । माओवादी युद्ध लड्दा युवाको योगदान अतुलनीय थियो । तर, शान्ति प्रक्रियापश्चात् युवाको पार्टीमा प्रतिनिधित्व भने एकदमै न्यून देखिन्छ । तत्कालीन एमाओवादीको पदाधिकारीमा जनार्दन शर्मा र वर्षमान पुन मात्रै युवा थिए । उसको केन्द्रीय समितिमा पनि एकतिहाइ पनि युवाको प्रतिनिधित्व थिएन । हालको माओवादी केन्द्रमा युवा प्रतिनिधित्व थोरै बढेको चाहिँ देखिन्छ ।
विगतमा भने राजनीतिमा युवाको प्रतिनिधित्व अलि बढी देखिन्छ । बीपी कोइराला कांग्रेस सभापति भइसकेर देशको गृहमन्त्री हुँदा ३६ वर्षका थिए । उनी देशको प्रधानमन्त्री हुँदा ४५ वर्षका मात्रै थिए । एमालेका नेता मदन भण्डारी ३५ वर्षमा महासचिव भएका थिए । तर, अहिलेका नेविसंघ र अखिलका अध्यक्षको उमेर कोइराला र भण्डारी पार्टीको मुख्य पदमा पुग्दाभन्दा बढी छ ।
नेपालको जनसंख्याको बनावट हेर्दा पनि युवाहरू नै धेरै छन् । युवाहरूको संख्याको अनुपातमा पार्टीमा प्रतिनिधित्व गराउने हो भने झण्डै ४० प्रतिशत युवा नेतृत्वमा आउने अवस्था छ । तर, यसबारे युवा नेता भनिनेहरूले आफ्ना पार्टीभित्र उचित प्रतिनिधित्वको कुरा उठाएको सुनिएको छैन । न उनीहरूले यस विषयमा पार्टीभित्र दबाब नै दिने गरेका छन् ।
धेरै वर्ष पार्टीको प्रमुख पदमा रहिसकेका प्रौढ या बुढा नेता नै पटक–पटक दोहोरिन्छन् । युवाले उनीहरूलाई चुनौती दिने आँट पनि गर्दैनन् । बुढा नेताले पार्टीभित्र आ–आफ्नो गुट बनाउने र युवा नेताले एउटा गुटमा सहभागी भएर आफ्नो भविष्य सुनिश्चित गर्ने प्रवृत्ति अहिले पनि हाबी छ ।
सांगठनिक नेतृत्वको सावालमा मात्रै होइन, युवाहरू विचार तथा दृष्टिकोणबाट नेतृत्व दिने कुरामा पनि निकै कमजोर छन् । नयाँ संविधान घोषणासँगै देश विकास, समृद्धिको बाटोमा जाने धेरैको आशा थियो । तर, अहिले देश झन्–झन् अँध्यारो बाटोमा जाँदैछ । मधेशकेन्द्रित दलहरू नयाँ संविधानप्रति असन्तुष्ट छन् । उनीहरू आन्दोलित छन् । प्रमुख दल उनीहरूलाई समेटेर अगाडि बढ्न सकेका छैनन् । यस्तो बेलामा बुढा नेताभन्दा युवा नेताबाट केही नयाँ दृृष्टिकोण आउँछ कि भन्ने धेरैको आशा थियो तर त्यसो हुन सकेन् । युवा नेताहरूले केही कदम अघि बढेर समस्या समाधानका लागि साझा धारणा बनाएर पाका नेतालाई दबाब दिनुपर्ने हो । तर, उनीहरूको भूमिका पिछलग्गुभन्दा माथि उठ्न सकेको छैन ।
कांग्रेसका प्रदीप पौडेल, एमालेकी रामकुमारी झाँक्री, माओवादी केन्द्रका गणेशमान पुनलगायत युवा नेतामाथि धेरैको आशा छ । तर, उनीहरू भूमिकाविहीन छन् । काम गरेर देखाउने ऊर्जाशील समयमा उनीहरू निष्क्रियजस्तै छन् । पौडेलको पार्टीमा खास जिम्मेवारी छैन । झाँक्रीको अवस्था पनि फरक छैन । उनी प्रायः राजनीतिक घटनाक्रमबारे समाजिक सञ्जालमा टिप्पणी गर्दै बस्छिन् । त्यस्तै, मन्त्री भइसकेका गणेशमान पुन  अहिले गुमनामजस्तै छन् ।
पार्टीहरूबीच चल्ने वार्ता र अन्तरक्रियामा प्रायः बुढा नेता मात्रै जान्छन् । युवा नेताहरू त्यस्तोमा चासो नै देखाउँदैनन् । र, सहभागी हुन, संयोजन गर्न पहल नै गर्दैनन् ।
गत १८ फागुनमा त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति तोक्यो । विद्यार्थी संगठन र स्ववियु निर्वाचनलाई नेता उत्पादन गर्ने स्कुलका रूपमा बुझिन्छ । तर, विद्यार्थीले क्याम्पसमा तालाबन्दी, तोडफोड र आगजनी गरेपछि त्रिविका एकतिहाइ क्याम्पसमा पनि स्ववियु निर्वाचन हुन सकेन । धेरैले सोचेका थिए, करिब आठ वर्षपछि हुन लागेको निर्वाचनमा विद्यार्थीले उत्साहपूर्वक भाग लिएर लोकतान्त्रिक तरिकाले नेतृत्व चयन गरी राजनीतिक पार्टीका बुढा नेतालाई समेत गतिलो पाठ पढाउलान् । तर, विद्यार्थी संगठनका अराजक क्रियाकलापले निर्वाचन भाँडियो । सभ्य र भव्यतापूर्वक निर्वाचन गराएर उदाहरणीय बन्छन् भन्ने धेरैको आशमा उनीहरूले चिसो पानी खनाइदिए । उनीहरूको हर्कतले क्याम्पसमा राजनीति र युनियनको औचित्य छैन भन्नेहरूको तर्कलाई बल पु¥यो ।  
चौतर्फी निराशा र नकारात्मकता हुँदा पनि कालो बादलभित्र केही चाँदीको घेरा भने बाँकी नै छ । अहिलेको सरकारमा माओवादी केन्द्रबाट जनार्दन शर्मा ऊर्जा र  कांग्रेसबाट गगन थापा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । ऊर्जामन्त्री शर्माले विद्युत प्राधिकरणमा कुलमान घिसिङजस्तो कुशल व्यवस्थापक ल्याएपछि अहिले देशले उज्यालो देख्न पाएको छ । दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको देशमा अहिले निकै कम मात्रामा मात्रै विद्युत कटौती भइरहेको छ । त्यस्तै, स्वास्थ्यमन्त्री थापाले पनि स्वास्थ्य क्षेत्रममा व्यापक सुधारको थालनी गरेका छन् । उनी थुप्रै स्वास्थ्य नीति जनताको अनुकूल हुने गरी परिर्माजन गर्दै छन् । सरकारमा यी दुई मन्त्रीले गरेको कामबाट युवा पुस्ताले अवसर पाए केही गर्छन् भन्ने आशालाई मर्न दिएका छैनन् । त्यस्तै, विगतमा सरकारमा गएका युवा नेताहरू गोकर्ण विष्ट, लालबाबु पण्डितहरूले गरेका काम पनि प्रशंसित थिए ।

Leave A Comment