पोखरामा बाक्लिँदै चिनियाँ रेस्टुरेन्ट

शनिबार, ०५ चैत २०७३, ०२ : २८ मनोज घर्तीमगर , Kathmandu
पोखरामा बाक्लिँदै चिनियाँ रेस्टुरेन्ट

आजभोलि पोखरा लेकसाइडमा चिनियाँहरूको चहलपहल बढेको छ । प्याराग्लाइडिङ, अल्ट्रालाइटमा उड्न र छोटो दूरीको पदयात्रा गर्न रुचाउने चिनियाँहरू पोखरामा आजभोलि प्रशस्तै भेटिन्छन् । चिनियाँको बढ्दो आगमनसँगै पोखरामा चिनियाँ रेस्टुरेन्ट व्यापारीबीच प्रतिस्पर्धा सुरु भएको छ । त्यति मात्र नभई रेस्टुरेन्ट व्यापारमा चिनियाँ आफैँ लगानीमा गर्न अघि बढेका छन् ।
पोखरामा चिनियाँ रेस्टुरेन्टको सुरुवात गर्ने व्यक्ति हुन्, हुँ चीन । चीनले सन् १९९२ मै ‘सठ्होमे रेस्टुरेन्ट’ खोलेका थिए, लेकसाइडको गौरीघाटमा । ‘पहिले चिनियाँ भाषामा रेस्टुरेन्टको नाम राखेपछि त मान्छे नै पस्थेनन्,’ हुँ चीनले पुराना दिन सम्झिए, ‘बिस्तारै चिनियाँको आगमन बढ्दै गयो । अहिले चिनियाँ र नेपाली बराबरै आउँछन् हाम्रो रेस्टुरेन्टमा ।’
चीनले रेस्टुरेन्ट खोलेको लामो समयसम्म पोखरामा अरू चिनियाँ रेस्टुरेन्ट खासै खुलेनन् । पछि बिस्तारै चिनियाँ रेस्टुरेन्ट खुल्ने क्रम बढ्यो । अहिले होडै चलेको छ । सन् २००६ मा चिनियाँ नागरिक चानच्याङ सोङले लेकसाइडमै ‘जान दा सी रेस्टुरेन्ट’ सञ्चालनमा ल्याए । भूकम्पपछि मन्दी आएको व्यापार अहिले बिस्तारै उकालो लाग्न थालेको सोङ बताउँछन् । व्यापारबाट आफू सन्तुष्ट भएको उनी बताउँछन् । ‘भूकम्पपछि चाहिँ अलि गाह्रो भएको थियो । अहिले चिनियाँ पर्यटक आउन थालेपछि व्यापार राम्रै छ,’ उनी भन्छन् ।
पहिला एकाध चिनियाँ रेस्टुरेन्ट भएको लेकसाइडमा अहिले ‘जान दा सी रेस्टुरेन्ट’, ‘सठ्होमे’, ‘पेङ फिङ लाइ’, ‘याङ सिङ बेइजिङ’, ‘सिचुआन कुइसाइन’, ‘लाओ पेइ’, ‘ताङ रेन चान टिङ’, ‘पिस चाइनिज’, ‘लाँ ख्वाँ’, ‘द पोखरा चाइनिज रेस्टुरेन्ट’, ‘ओल्ड लान हुवे’, ‘चाइना टाउन’, ‘चाइनिज गार्डेन रेस्टुरेन्ट’लगायत २१ वटा रेस्टुरेन्ट रहेका छन् । घुम्न आएका चिनियाँहरूले कम्पनी दर्ता गरी बिजनेस भिसामा होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न थालेका हुन् । अधिकाश चिनियाँ पर्यटक अंग्रेजी बोल्न जान्दैनन् । यही कारणले पनि पोखरा घुम्न आएका चिनियाँ पर्यटक चिनियाँ व्यवसायीले नै चलाएको होटल तथा रेस्टुरेन्टमा जाने गरेका छन् ।
चिनियाँ आफैँले होटल तथा रेस्टुरेन्ट व्यापारमा हात हाल्दा रैथाने व्यवसायीलाई चुनौती बढेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन पोखराका अध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन् । ‘अहिले यहाँका सबैको मेनुमा चाइनिज खानेकुरा छ । व्यापारमा उनीहरूले आफैँ लागि पर्दा लामो समयदेखि यो व्यापारमा रहेकालाई चुनौती बढेको छ,’ उनी भन्छन् ।
चिनियाँ पर्यटन व्यवसायीले ‘ओभरसिज चाइनिज एसोसिएसन पोखरा’ नामको संस्था बनाएका छन् । ‘संगठित हुनु आवश्यकता हो । यसले चिनियाँ व्यवसायीबीच सहयोग आदान–प्रदान गर्ने भावनाको विकास गर्छ,’ ओभरसिज चाइनिज एसोसिएसन अफ पोखराका अध्यक्ष चानच्याङ सोङ भन्छन् । २० सदस्य रहेको एसोसिएसनमा सबैजसोले व्यापारमा लगानी गरेका छन् । अध्यक्ष व्यवसायी चानच्याङ सोङका अनुसार पोखरेलीहरू चिनियाँ खानपानमा बिस्तारै आकर्षित हँुँदैछन् । लेकसाइडमा खुलेका चिनियाँ रेस्टुरेन्टमा खान जाने पोखरेलीहरू बढेका छन् । धेरैजसो पोखरेलीले चिनियाँ खान मन पराएको र केही त नियमित ग्राहक बनेको उनी बताउँछन् ।
दोभासे स्याङ साओ ह्वाका अनुसार नेपालमा विदेशी व्यवसायीलाई रेस्टुरेन्ट र होटलको दर्ता प्रक्रिया सहज भएकाले पनि पोखरामा चिनियाँ लगानी गर्न हौसिएका हुन् । केरुङ र खासाबाट बाटो खोलिएमा र काठमाडौँबाट पोखरा आउने बाटो सजिलो र छरितो भए चिनियाँ पर्यटक पोखरामा धेरै आउने र चिनियाँले लगानी गरेको व्यवसाय फस्टाउने उनको भनाइ छ । ‘मुख्या कुरा नेपालको बाटोघाटो ठीक छैन,’ उनी भन्छन्, ‘नत्र नेपाल अनि पोखरामा अझ धेरै चिनियाँ पर्यटक आउँछन् । लगानीकर्ता पनि बढ्छन् ।’

Leave A Comment