रणजित् मल्लसम्बन्धी भ्रम

शनिबार, ०५ चैत २०७३, ०२ : २० प्रा. दिनेशराज पन्त , Kathmandu
रणजित् मल्लसम्बन्धी भ्रम

वि.सं. १८२६ मार्ग १ गते भक्तपुर विजय हुँदा त्यहाँका राजा रणजित् मल्ल ७५ वर्षका थिए भनी भाषावंशावलीमा लेखिएको छ (वि.सं. २०२५ मा ललितपुरबाट जगदम्बा प्रकाशनद्वारा प्रकाशित नयराज पन्त, देवीप्रसाद भण्डारी, गौतमवज्र वज्राचार्य र दिनेशराज पन्तको श्री ५ पृथ्वीनारायण शाहको उपदेशको ८९९ पृ.) । भाषावंशावलीको आधारमा इतिहासका पुस्तकहरूमा पनि रणजित् मल्ल त्यसबेला ७५ वर्षका थिए भनी लेखिँदै आएको थियो । रणजित् मल्लको जन्म वि.सं. १७५९ मार्ग १७ गते भएको प्रमाण पाइएकोले (वि.सं. २०२३ मा काठमाडौँबाट संशोधन–मण्डलद्वारा प्रकाशित पूर्णिमा ९ पूर्णाङ्कमा छापिएको भोलानाथ पौडेलको भूपतीन्द्र मल्ल भन्ने लेख, त्यस पूर्णाङ्कको २८ पृ., वि.सं. २०६५ मा काठमाडौँबाट आगम प्रकाशनद्वारा प्रकाशित भोलानाथ पौडेलको भक्तपुरको राजकुलोका ७९–८० पृ.) भक्तपुर विजय हुँदा रणजित् मल्ल ७५ वर्षका नभई ६७ वर्षका देखिन आउँछन् । पूर्णिमा ९ पूर्णाङ्कमा छापिएको हाम्रो वक्तव्यमा (त्यस पूर्णाङ्कको ९५ पृष्ठमा) र वि.सं. २०२५ मा जगदम्बा प्रकाशनद्वारा प्रकाशित नयराज पन्त, देवीप्रसाद भण्डारी, गौतमवज्र वज्राचार्य र दिनेशराज पन्तको श्री ५ पृथ्वीनारायण शाहको उपदेशको वक्तव्य, विषयसूची, शुद्धिपत्र तथा टिप्पणीका ११८–११९ पृष्ठमा यस विषयमा सप्रमाण लेखिएको छ । यसो भए तापनि अशुद्ध कुरा पनि लेखिइरहेका छन् । यसको उदाहरणको रूपमा ललितपुरबाट हिमाल मिडिया प्रा.लि.द्वारा प्रकाशित हिमाल ५३१ पूर्णाङ्कमा छापिएको ज्ञानमणि नेपालको भक्तपुर सर भन्ने लेखमा भक्तपुरका राजा रणजित मल्ल पृथ्वीनारायणका मीतबाबु थिए, ७५ वर्षका मीतबाबुलाई गद्दीच्युत गर्ने पक्षमा उनी थिएनन् (हिमाल ५३१ पूर्णाङ्कको १० पृ.) भनी लेखिएकोलाई देखाउन सकिन्छ । शुद्ध कुरा छापिएको ५० वर्ष बित्दा पनि अशुद्धै कुरा दोहोरिनुबाट हाम्रो देशको विद्याको क्षेत्रमा रहेको दारिद्र्य प्रकट हुन्छ ।

 

Leave A Comment