घरेलु काममा जाने महिलाको संख्या बढ्दो

शनिबार, ०५ चैत २०७३, १२ : ३३ रुद्र खड्का , Kathmandu
घरेलु काममा जाने महिलाको संख्या बढ्दो

घरेलु कामदारका रूपमा नेपाली महिला वैदेशिक रोजगारीमा जान हुन्छ या हुँदैन ? यतिखेर नेपाली श्रम बजारमा चर्को रूपमा उठेको प्रश्न हो । घरेलु कामदारका रूपमा महिलालाई खाडी मुलुक पठाउँदा एकातिर आर्थिक र शारीरिक शोषण हुने खतरा । नपठाउँदा महिला अवैध तरिकाले बाहिरिने जोखिम उस्तै छ ।
यस्तै, अलमलबीच तत्कालीन सरकारले २०७२ वैशाख ८ गते घरेलु कामदार महिलासम्बन्धी निर्देशिका ल्याए पनि अझै उक्त निर्देशिका कार्यान्वयन नहुँदा महिला अवैध तरिकाले विदेश जाने गरेको पाइएको छ । खास गरी उक्त निर्देशिकामा उल्लेख गरिएको रोजगारदाताले प्रतिमहिला कामदार राखेबापत एक हजार डलर सम्बन्धित देशको नेपाली नियोगमा धरौटी राख्नुपर्ने व्यवस्थाका कारण महिलालाई अवैध बाटो खोज्न बाध्य पारेको तथ्य भेटिएको हो ।
उक्त निर्देशिकापछि खाडी मुलुक र मध्यपूर्वका रोजगारदाताले प्रतिमहिला एक हजार डलर धरौटी राख्न नमानेको बताइन्छ । घरेलु महिला कामदार सरोकार समाजका महासचिव डिबी तामाङ उक्त निर्देशिका लागू भएयता संयुक्त अरब इमिरेट््सले मात्र महिलालाई घरेलु कामदारको रूपमा बोलाएको छ । ‘संयुक्त अरब इमिरेट्सले माग गरेको संख्या पनि निकै कम छ,’ उनले भने, ‘अन्य मुलुकुले त वैधानिक तरिकाबाट महिलालाई बोलाउनै छाडे ।’
विभिन्न स्रोतका अनुसार यतिखेर खाडी मुलुक र मध्यपूर्वका विभिन्न देशमा नेपाली महिलाको माग अत्यधिक छ । सोही मागका अनुसार हरेक महिना कम्तीमा पाँच÷सात हजार महिला घरेलु कामदारको रूपमा बाहिरिने गरेको विभिन्न संघ, संस्थाको तथ्यांक भेटिन्छ । घरेलु कामदारको रूपमा जाने अधिकांश महिलाले यतिखेर अवैध बाटो प्रयोग गर्ने गरेका छन् ।
सरकारले नै वैध बाटो बन्द गरेपछि यतिखेर कतिपय महिला सरकारको नयाँ निर्णयको पर्खाइमा छन् भने कतिपय महिला अवैध बाटो हुँदै घरेलु कामदारको रूपमा खाडी मुलुक पस्न थालेका छन् । कतिपय महिला श्रम स्वीकृति लिँदा फरक काम देखाउने र खाडी मुलुकमा पुगेपछि घरेलु कामदार बन्न थालेको पाइएको छ । सरकारको निर्णय सरसर्ती हेर्दा महिलालाई सुरक्षित राख्ने भन्ने नै देखिए पनि त्यसबाट महिला सुरक्षित रहुनुको साटो झन् जोखिममा पर्ने खतरा देखिएकाले त्यसबारे ठोस निर्णय गर्नुपर्ने बेला आएको बताउनेहरू प्रशस्तै छन् ।
खास गरी भारतसँगको खुला सीमानाले गर्दा महिला सहजै भारत पस्ने र त्यहाँबाट घरेलु कामदार बन्न खाडी मुलुक जाने घटना वृद्धि भएकाले सरकारी निर्णयले महिला झन् बढी जोखिममा पर्न थालेको तर्क गर्न थालिएको छ । काठमाडौँ प्रहरी कार्यालयका डीएसपी सिद्धिविक्रम शाह पछिल्लो समयमा वैदेशिक रोजगारीको क्रममा दैनिक १० वटा उजुरी पर्ने क्रम जारी रहे पनि पीडितलाई सहायता प्रदान गर्न निकै गाह्रो परिरहेको बताउँछन् । ‘अधिकांशले ललाइफकाइ विदेश लैजाने गरेको भन्ने खालका उजुरी दिने गरेका छन्,’ शाहले भने ।
घरेलु कामदारको रूपमा खाडीलगायत मुलुकमा पुगेका महिला आर्थिक, शारीरिक शोषणमा परेका घटना बढेको भन्दै श्रम तथा रोजगार मन्त्रालयले दुई वर्षदेखि घरेलु कामदारको रूपमा महिलालाई वैदेशिक रोजगारीमा पठाउन रोक लगाएको छ । महिलालाई घरेलु कामदारमा रोक लगाइएपछि अधिकारकर्मीहरूले सरकारले नै महिला र पुरुषमा विभेद गरेको गुनासो गर्दै आएका छन् ।
सरकारले कामकाजी महिलालाई सुरक्षित राख्न नसकेर कानुनले व्यवस्था गरेको महिलाको स्वतन्त्रतापूर्वक हिँड्डुलको अधिकारलाई वञ्चित गरेको उनीहरूले गुनासो गर्दै आइरहेका छन् । देशमै एकथरी व्यक्तिहरू घरेलु कामदारमा जाने महिलालाई सुरक्षित राख्ने उपाय नभेटिएसम्म ह्वारहर्ती महिला पठाउन नहुने ठान्छन् भने अर्कोथरी व्यक्ति सरकारले महिलालाई घरेलु कामदारमा पठाउन  रोक्दा त्यसले झन् जोखिम बढाएको र महिलाले अवैध बाटो प्रयोग गर्ने क्रम बढेको आवाज उठाउँदै आएका छन् । महिला तथा बालबालिका मन्त्रालयकी सहसचिव राधिका अर्याल वैदेशिक रोजगारीको आँडमा महिलामाथि बेचबिखनका घटना वृद्धि भइरहेको बताउँछिन् । उनका अनुसार अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा गएका महिला अलपत्र हुँदा झनै त्यस्ता महिलालाई कसरी उद्धार गर्ने भन्ने समस्या सिर्जना भइरहेको छ ।
घरेलु कामदारको रूपमा वैदैशिक रोजगारीमा जान नपाएपछि कतिपय महिला चोरीको बाटो प्रयोग गर्न बाध्य भएको र जसले झन् जोखिम बढाएको अधिकारकर्मी महिलाले आवाज उठाउँदै आएका छन् । घरेलु कामदारमा महिला पठाउन श्रम तथा रोजगार मन्त्रालयले ‘पर्ख र हेर’ को रणनीति अपनाएको बेला घरेलु कामदारको रूपमा महिला कहिले जान पाउँछन् भन्नेबारे अझै यकिन हुन सकेको छैन ।
वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङ सरकारले भने जस्तो गरी म्यानपावरले महिलालाई घरेलु कामदारको रूपमा पठाउन नसकिने बताउँछन् । ‘खाडी मुलुकमा पुगेका महिलामाथि कुनै परिवारले अत्याचार गर्छ भने त्यसमा म्यानपावरको के दोष हुन्छ ?’ गुरुङले भने । हालसम्म श्रम स्वीकृति लिएर विभिन्न देशमा १ लाख ७८ हजार महिला रोजगारीका लागि पुगेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । तर, नेपालमा पासपोर्ट लिएका करिब पाँच लाख महिला कहाँ छन् ? भन्ने बारेमा भने सरकारी अधिकारीले कुनै भेउ पाउन सकेका छैनन् । पासपोर्ट लिनुको कारण वैदेशिक रोजगारीमा जानुलाई मानिए पनि हालसम्म देशभरिबाट सात लाख बढी महिलाले पासपोर्ट लिएको परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन् ।

निर्देशिका संशोधन तयारी
घरेलु कामदारको रूपमा खाडी र मध्यपूर्वका विभिन्न देशमा जाने महिला असुरक्षित भएपछि कडा पारिएको नियमअनुसार गन्तव्य मुलुकबाट माग नआएपछि श्रम तथा रोजगार मन्त्रालयले विद्यमान घरेलु कामदारसम्बन्धी निर्देशिकालाई सहज बनाउने तयारी गरेको छ ।
२०७२ वैशाख ८ गते श्रम तथा रोजगार मन्त्रालयले तयार पारेको उक्त निर्देशिकामा उल्लेख गरिएका शर्तलाई रोजगारदाताले स्वीकार नगर्दा यतिखेर वैध प्रक्रियाको साटो अवैध तरिकाले ती मुलुकमा घरेलु कामदारका रूपमा नेपाली महिला जाने गरेका छन् । कडा पारिएको शर्तले गर्दा अप्ठ्यारो भएको भन्दै रोजगारदाताले वैध तरिकाबाट घरेलु कामदारको रूपमा नेपाली महिला मगाउनुको साटो अवैध बाटो रोजेपछि मन्त्रालयले उक्त निर्देशिकालाई दोस्रो पटक संशोधन गर्ने तयारी गरेको हो ।
करिब दुई वर्षअघिको निर्देशिकामा उल्लेख गरिएको घरेलु कामदारको रूपमा महिला बोलाउने रोजगारदाताले प्रतिमहिलालाई काममा लगाएबापत एक हजार डलर सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगमा धरौटी राख्नुपर्ने व्यवस्था थियो । त्यस्तै, नेपालबाट महिला मगाउने स्थानीय एजेन्सीले थप १० हजार डलर धरौटी राख्नुपर्ने उक्त निर्देशिकामा उल्लेख छ ।
 रोजगारदाताका कारण महिला समस्यामा पर्दा धरौटी राखिएको रकम प्रयोग गर्न सकियोस् भनेर तत्कालीन समयमा तयार पारिएको निर्देशिकामा उल्लेख गरिए पनि पछिल्लो समयमा त्यहाँका रोजगारदाताले वैध तरिकाले महिलालाई बोलाउन छाडेपछि मन्त्रालय निर्देशिका संशोधन गर्न बाध्य हुनु परेको बताइएको छ । ‘घरेलु कामदारको रूपमा जाने महिलाको हितका लागि बनाइएको निर्देशिकाका कारणले उल्टै महिला समस्यामा पर्न थालेपछि रोजगारदाताले प्रतिमहिला राख्नुपर्ने एक हजार धरौटीको व्यवस्था हटाउन थालिएको हो,’ मन्त्रालय स्रोतले भन्यो ।
प्रतिमहिला एक हजार डलर धरौटी राख्नुपर्ने भएपछि खाडी मुलुक र मध्यपूर्वका रोजगारदाताले अवैध तरिकाले महिलालाई लैजान थालेको बताइएको छ । ‘पछिल्लो समयमा अवैध तरिकाले महिला भारत, श्रीलंका हुँदै खाडी र मध्यपूर्वका विभिन्न देशमा पुगेको भेटिनु त्यहाँका रोजगारदाताले अवैध बाटो प्रयोग गरेको प्रमाण होे,’ मन्त्रालयका अर्का अधिकारीले भने ।
निर्देशिकाका कारण रोजगारदाताले वैध तरिकाले महिला नबोलाउने बरु त्यसको साटो अवैध हुने क्रम बढेपछि सबैको सल्लाहमा प्रतिमहिला एक हजार डलर नलिने व्यवस्था गर्न लागिएको उनले बताए । महिला बोलाउने स्थानीय एजेन्सीको धरौटी भने १० हजार डलरबाट वृद्धि गरेर १५ हजार डलर पु¥याउने तयारी भइरहेको स्रोतको भनाइ छ ।

इजरायलबाट ६० जना केयरगिभरको माग
इजरायल सरकारले केयरगिभरका लागि ६० जना कामदारको माग गरेको छ । केयरगिभरको मागपछि वैदेशिक रोजगार विभागले इच्छुक व्यक्तिलाई फारम भर्न सूचना जारी गरेको छ ।
इजरायलमा वृद्धवृद्धा तथा बालबालिकाको हेरचाह गर्न अघिल्लो वर्ष नै तीन सय कामदार लैजाने नेपाल र इजरायली अधिकारीबीच सम्झौता भए पनि दुवै देशको ढिलाइले एक वर्षपछि उक्त कार्यक्रमले निरन्तरता पाएको हो । मासिक एक लाख रुपैयाँभन्दा बढी पारिश्रमिक पाइने भएकाले इजरायली रोजगारी युवायुवतीका लागि आकर्षक मानिन्छ । अघिल्लो वर्ष ५९ जना इजरायल गइसकेका छन् । केयरगिभरका लागि ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष जाने गरेका छन् ।
केयरगिभरका लागि फारम भर्ने अन्तिम मिति चैत ९ गतेसम्म तोकिएको छ ।

वैदेशिक रोजगारीमा महिलालाई सुरक्षित राख्ने उपाय
–सचेतना वृद्धि
–राम्रा रोजगारदाताको खोजी
–रोजगारदातालाई जिम्मेवार बनाउने कानुनको आवश्यक
–महिला शिक्षा
–सीप सिकाइ
–भाषामा प्रष्ट
–पर्यटक भिसालाई कडाइ
–परिवारलाई जानकारी

 

Leave A Comment