कुटुम्बको भलो चाहनुपर्छ

शनिबार, ०५ चैत २०७३, १२ : २१ शुक्रवार , Kathmandu
कुटुम्बको भलो चाहनुपर्छ

मित्रता समाप्त भएपछि नीच व्यक्तिहरूसँगको प्रेमभाव पनि समाप्त हुन्छ । उससँगको मित्रताबाट उपलब्ध प्रतिफल र सुख पनि नष्ट हुन जान्छन् । नीच मानिसले मित्रको निन्दा गर्दछ र मित्रलाई नष्ट गर्ने प्रयत्न पनि गर्दछ । दुष्ट मानिस अरूबाट सामान्य अपराध भइहालेछ भने पनि शान्त भएर बस्ने गर्दैन । यसैले यस्तो नीच वा दुष्ट मानिससँगको संगतलाई बुद्धिमान् मानिसले टाढै छाडिदिनु राम्रो हुन्छ ।
जसले आफ्ना नातेदार, दीन–दुःखी तथा रोगी र अशक्तउपर दया र कृपा गर्दछ, त्यस्तो मानिसका सुख साधनहरूको अभिवृद्धि हुन गई उसलाई लौकिक कल्याण तथा अनन्त सुख प्राप्त हुनेछ । आफ्नो भलो होस् भन्ने चाहना गर्ने मानिसले आफ्ना कुल कुटुम्ब र नातेदारहरूको उन्नति गराओस् ।
जतिसुकै धेरै परिमाणमा दाउरा र काठ बाले तापनि आगो कहिल्यै तृप्त रहँदैन । अर्थात्, आगोमा जति–जति दाउरा थप्यो, उति उति आगो पनि बढ्दै जान्छ । निभ्न थाल्दैन । खोलाको पानी जतिसुकै धेरै भएर मिसिए पनि समुन्द्र भने पानीले तृप्त कहिल्यै बन्दैन । मृत्यु (काल) ले पनि जतिसुकै धेरै प्राणीको प्राण हरण गर्ने गरे तापनि कहिल्यै अघाउँदैन ।
सम्भोग गर्ने साधन (लिंग वा योनी) र पेटलाई धैर्य साथ जोगाउनुपर्दछ । अर्थात्, कामवेग र भोकको ज्वालालाई धैर्य गरी सहँदै जानुपर्दछ । आँखाले राम्ररी हेरेर हातले चिजबिज समाएर बाटो पनि राम्रोसँग हेर्दै हिँड्ने गर्नाले हातखुट्टाको रक्षा हुन्छ । यसैगरी परस्त्री आदिलाई हेर्ने र दुर्वाच्य निन्दित कुराहरू सुन्ने मन आदिबाट आँखा र कानलाई जोगाउनुपर्छ ।
भर्तृहरि

Leave A Comment