त्यो बिर्सन नसक्ने होली

शुक्रबार, २७ फागुन २०७३, १२ : ३० शुक्रवार , Kathmandu
त्यो बिर्सन नसक्ने होली

केही हास्यकलाकारले आफ्ना अविस्मरणीय होलीबारे शुक्रवारलाई बताएका छन् ।  

रक्षा श्रेष्ठ
गत वर्ष ‘भद्रगोल’ को टिमसँग होली खेलियो । त्यो मेरा लागि यादगार रह्यो । जीवनमा पहिलो पटक म रङमा डुबेर रमाएकी थिएँ । त्यसअघि त घरमै पानीसँग मात्र खेलिन्थ्यो । नाचगानमा पनि खूब गरियो पोहोर । सबै मिल्ने÷मिल्ने साथीहरू भएकाले होला, निकै रमाइलो भएको थियो ।
विल्सनविक्रम राई
ठूलो बेलाभन्दा बच्चा बेलाको होलीको साह्रै याद आउँछ ।  चार÷पाँच कक्षा पढ्दाताका एकपटकको होलीमा घरमा मलाई रङ किनिदिनुभएन । लुगामा हाल्ने ‘निर’ घरमा थियो । अहिले त्यसलाई ‘उजाला’ भनिन्छ क्यारे । त्यो लगेर साथीहरूसँग होली खेलेको थिएँ । त्यही कारणले घरमा कुटाइ पनि खाएको थिएँ ।
हरि निरौला

सोलुखुम्बुमा हुँदाको कुरा हो । ९ कक्षामा पढ्थेँ । त्यो बेलामा रङहरू खेल्ने खासै चलन थिएन । त्यहाँ रङ पनि पाइँदैनथ्यो । साथीहरूको घरमा होली खेल्न गएको थिएँ । उनीहरूले धतुरो खुवाइदिएछन् । मलाई त दुईतीन दिनसम्म लाग्यो ।                   
दीपकराज गिरी
त्यो बेला म भर्खर–भर्खर फिल्म लाइनमा आएको थिएँ । साथीभाइसँग मिलेर होली खेल्ने योजना बनाइयो । त्यतिबेला दाँतमा रङ दल्ने चलन निस्कियो । होली खेल्नका लागि मान्छे चिन्न नपर्ने । जो पनि आउने, समाएर दाँतमा रङ लगाइदिने । कुनै कुनै एकदमै कडा खालको रङ हुँदोरहेछ, जाँदै नजाने । मेरो दाँतमा लागेको रङ त्यस्तै परेछ । एक हप्तासम्म हाँस्नै नहुने भएको थियो ।
जितु नेपाल
होली आएपछि स्कुल बेलाको याद आउँछ ।  त्यो बेला सिन्धुपाल्चोकमा गाडी चल्न थालेको थियो । हामी केटाकेटी प्लास्टिकमा पानी भरेर गाडीको सिसामा हान्थ्यौँ । एक पटक एक जनालाई लाग्यो । हामी हान्नेजति डराएर भाग्याँै, नहान्ने एक जना साथीलाई मान्छेहरूले समातेछन् ।
किरण केसी
२०/२२ वर्ष अगाडिको कुरा हो, बाटोमा हिँडिरहेकी केटीसँग होली खेल्न खोज्दा बेस्सरी कुटाइ खाएको थिएँ  । त्यो होली कहिल्यै बिर्सन सक्दिनँ । होली भनेको जबर्जस्तीले हैन, स्वेच्छाले खेल्ने हो भनेर पाठ पनि सिकेँ ।
दीपाश्री निरौला
सानो बेलामा एक पटक साथीहरूको लहैलहैमा लागेर होलीमा भाङ खाएकी थिएँ । साथीहरूले ‘केही हुँदैन, खा’ भने । मैले खाइदिएँ । घरमा आएर रुने÷कराउने गरेछु । मलाई केही पनि थाहा छैन त्यो बेलामा मैले केके गरेँ । ‘मेरी छोरीलाई कसले भाङ खुवाएको, त्यसलाई छोड्दिनँ’ भन्दै बुबा मुर्मुरिनुभएको थियो रे ।

 

Leave A Comment