होलीः रङ र धुनको पर्व

शुक्रबार, २७ फागुन २०७३, १२ : ०० अजित तिवारी , Kathmandu
होलीः रङ र धुनको पर्व

होली आउनु साताअघि नै विराटनगरमा रङ–अबिरका छिटा देख्न पाइन्छ । मारवाडी समुदायले साताअघि नै यहाँ अबिर यात्रा नै निकाल्छ । होली पर्वको एक दिनअघि ‘महामूर्ख’ सम्मेलनको आयोजना हुन्छ । सबै समुदायका मानिस सहभागी हुने महामूर्ख सम्मेलनको उपाधि पनि गजबकै हुन्छ ।
    तरकारी र भाँडाकुँडाको नाम जोडेर उपाधि पाउँदा सबै गद्गद् हुन्छन् । सद्भाव र भाइचाराको पर्व होलीमा जो–कोही पनि रमाउँछन् । मुखौटा, टोपी, दाह्रीजुँगा खरिद गरेका विराटनगरका जितेन्द्र बोथराले यसपालिको होलीमा साथीसंगीलाई तर्साउन गजबको योजना बनाएका छन् । ‘अनुहारभरि अबिर पोतेर पिच्कारीले हिर्काउने योजना बनाएको छु । जुंगादाह्री र टोपी लगाएर मुखभरि अबिर दलेर साथीहरूलाई डराउनेछु,’ उनले भने, ‘साथीसंगीसित यसपालिको होली बबाल गरिन्छ ।’
विराटनगरको हाटखोला बस्ने असिम अधिकारीले होलीका लागि चार वटा पिच्कारी ठिक्क पारिसकेका छन् । घरपरिवार र साथीभाइसँग मिलेर रङअबिर दलेर होली मनाउने उनी बताउ“छन् । होली पर्व मनाउनका लागि विराटनगरमा बालबालिकालाई नै लक्षित गर्दै विभिन्न प्रकारका सामग्री बिक्रीका लागि राखिएका छन् । १० रुपैयाँदेखि दुई सय रुपैयाँसम्मका पिच्कारी, टोपी, मुखौटा, दाह्रीजुंगा, अबिर, रङ, बाँसुरी र बैलुन बिक्रीका लागि राखिएका छन् । पिच्कारी पसले रामशंकर दुबेका अनुसार पिच्कारी र पिस्टोलजस्तो देखिने पिच्कारी बालबालिकाको पहिलो रोजाइ बन्छ । ‘बालबालिकाहरू रङ र अबिरभन्दा पिच्कारी तथा मुख र टाउकोमा लगाउने पहिरन नै बढी प्रयोग गर्छन्,’ दुबेले भने, ‘सुगन्धित अबिर र रङ पनि उनीहरू प्रयोग गर्न रुचाउ“छन् ।’
माछा, मासु, मालपुवा, दालपुरीलगायत मीठा परिकार खान पाइने भएकाले होलीका दिन बालबालिका भरसक घर वा छिमेकमै रमाउन चाहन्छन् । विराटनगर गुदरीबजारका विनय चौधरीले होली पर्व बालबालिकाका लागि रमाइलो हुने भएकाले उनीहरू मस्तसँग मनाउने गरेको सुनाए ।
होलीअघि विद्यालय बन्द हुने दिन स्कूलमै अबिर र रङ छ्यापाछ्याप गरेर मनाउने चलन पनि छ । नजिकिदै जाँदा विराटनगरका विद्यालयमा होलीको रौनक बढेको छ । विद्यालयहरूमा समेत आयोजना हुने होली मिलन समारोहमा विद्यार्थीहरू साथीसँग रमाउने गरेका छन् ।
    डम्फु र मदिना बजाउँदै घरघर डुलेर विराटनगरवासीले होली मनाउँछन् । छतछतमा बसेका युवाको हुलले बाटोमा होली मनाइरहेकामाथि रङ र अबिर फ्याँक्दै होलीको मज्जा लिन्छन् । चोकचोकमा डम्फु र मदिना बजाउँदै होलीका गीतसंगीतमा पूरै विराटनगरवासी रमाउँछन् । विराटनगरका वैष्णवहरूले पनि भजनकीर्तन गाएर होली मनाउँछन् । नगरको प्रमुख चोकमा पलेटी कसेर ‘जोगिरा सररर...’ भन्दै होली मनाउनेको जमात बढ्दोछ ।
    विराटनगर पाञ्चालीका सागर दुलालले रङ र अबिर दलेर होली साथीसंगीसित मनाउन पाउँदा आनन्द आउने बताए । होलीमा देखिएका विकृति हटाउनुपर्ने उनको भनाइ छ । होलीमा मादक पदार्थ सेवन गरेर तीव्र गतिमा सवारीसाधन चलाउन नहुने उनी बताउँछन् ।

होली परिक्रमा
    होलीको पूर्वसन्ध्यामा सम्पन्न हुने १५ दिने मध्यमा परिक्रमा धनुषा, महोत्तरी र भारतको केही भाग छुँदै घुमिन्छ । परिक्रमाले फागुन महिनालाई उल्लास एवं भक्तिमय बनाउँछ ।
    लोकसंस्कृतिका आधारित धार्मिक झाँकी, भजन, कीर्तन एवं भक्तिमय कार्यक्रम परिक्रमाको विशेषता हो । धनुषाको कचुरीस्थित मिथिला बिहारी मठबाट निस्कने मिथिला बिहारीको डोलाको नेतृत्वमा आएका हजारौँ नरनारीले जानकीको दर्शन गरी यस धार्मिक यात्राको शुभारम्भ गर्छन् । १ सय ५ किलोमिटर लामो यात्रा तय गर्न १५ दिन लाग्छ । भनिन्छ, प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा चार शिवालयको निर्माण गरिएको थियो । कलानेश्वर जलेश्वर क्षीरेश्वर र सप्तेश्वरमा निर्माण गरिएका यी चार शिवालयलाई आधार मानी यो यात्रा गरिन्छ ।
    जनकपुरबाट शुभारम्भ भएको यात्रा कलना, फुलहर, महोत्तरीको मटिहानी जलेश्वर, मडई, धु्रवकुण्ड, कञ्चनवन हुँदै धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः भारतको करुणा, बिसौल हुँदै कलना पुग्छन् र फागुपूर्णिमाको अघिल्लो साँझ जनकपुर आइपुग्छन् । पूर्णिमाको विहान जनकपुरको अन्तगृह परिक्रमा गरी १५ दिवसीय यो यात्रा सम्पन्न हुन्छ । परिक्रमामा सहभागीहरू महोत्तरीको कञ्चनवनमा होली खेल्छन् ।

 

 

Leave A Comment