बालिकाको मृत्युले धरान तनावग्रस्त

शुक्रबार, २७ फागुन २०७३, ११ : ५८ गोपाल दाहाल , Kathmandu
बालिकाको मृत्युले धरान तनावग्रस्त

श्रीमतीको मृत्युपछि धरान–१३ बस्ने जीतबहादुर राईले आफ्ना छोरीहरू अरूलाई नै पाल्न दिएका थिए । माइली छोरी अनुसा राईलाई धरान–१६का भूतपूर्व भारतीय सैनिक बलिमान राई र पदमकुमारी राईले ‘धर्मपुत्री’का रूपमा राखे ।

जीतबहादुरलाई १४ सय रुपैयाँ दिएर धर्मपुत्री बनाइएकी १३ वर्षीया अनुसाको फागुन १६ साँझ मृत्यु भयो । बलिमानले दाल, चामलमा लाग्ने घुन मार्न राखिएको विषादी खाएर अनुसाको मृत्यु भएको बताउँदै आएका छन् । उनका छिमेकीले भने पहिलादेखि घरेलु हिंसा र दुव्र्यवहार हुने गरेकाले उनको हत्या भएको भन्दै आन्दोलनरत छन् । छोरीको हत्या भएको भन्दै आन्दोलनरत बुबा जीतबहादुर भन्छन्, ‘पहिला राम्रोसँग पाल्छु, पढाउँछु भनेर मागे । राम्रै होला छोरीको भविष्य भनेर दिएँ तर पछि भेट्न जाँदा भेट्नै दिएनन् । अहिले यो अवस्था देख्नुप¥यो ।’

फागुन १७ गते बिहान धरान–१६ पुण्यमार्गका ६० वर्षीय बलिमान राई घर छेउकै भीमसेन फर्निचरमा पुगेर भने, ‘मलाई तुरुन्तै पाँच फिटको काठको बाकस बनाइदिनू ।’ उनको कुरा सुनेर फर्निचर सञ्चालक अचम्ममा परे र सोधे ‘किन ? के भयो र !’

आदिवासी जनजाति मानव अधिकारकर्मीहरूको संस्था लाहुर्निपको प्रतिवेदनअनुसार बलिमानले ‘घरमा काम गर्ने केटी हिजो साँझ मरी’ भनेर हल्कै जवाफ दिएपछि फर्निचर सञ्चालकलाई शंका लाग्यो । उनले अरू छिमेकीलाई सोधे । अघिल्लै दिन मृत्यु भएको कुरा कसैलाई थाहा थिएन । उनले कुरा गरेपछि एककान दुईकान गर्दै छिनमै टोलभर हल्ला फैलियो । स्थानीयहरू जम्मा भए, प्रहरीलाई खबर गरे । ‘बलिमानले फर्निचरवालालाई बढी पैसा दिने प्रलोभन देखाएर पाँच फिटको कफिन बक्स बनाउन अनुरोध गरेका थिए । के भएको भनेर सोध्दा सुरुमा बताउन आनाकानी गरेका थिए ।’ प्रतिवेदनमा उल्लेख छ । उता बलिमान बालिकाको शव दाहसंस्कार गर्ने तयारीमा थिए । पहिलादेखि अनुसालाई त्यस घरमा हुने गरेको व्यवहार देखेका छिमेकीहरू बलिमान र उनकी श्रीमती पदमकुमारीलाई केरकार गर्न थाले । अनुसाको शव अर्धनग्न अवस्थामा थियो, जीउमा पुराना चोटका खत थिए । जम्मा भएका छिमेकीहरूले बालिकाको हत्या भएको आशंका गरे । अघिल्लै साँझ मृत्यु भएकी अनुसाको बारेमा कसैलाई थाहा नदिनु र सुटुक्क दाहसंस्कार गर्न लाग्नुले उनीहरूको शंकामा बल पुग्यो । सबैले सोधपुछ गर्दा बलिमान उल्टै झर्किए र प्याच्चै भने, ‘अझै दुईचार जना मारे पनि पैसा खर्च गरेर निस्किन सक्छु ।’

उनको त्यस्तो अभिव्यक्तिले भीड उत्तेजित भयो । घरका भाँडाकुँडा र कुर्सी जलाउन थालियो । घरै जलाउने अवस्था भएपछि इलाका, अञ्चल र जिल्लाबाट प्रहरी परिचालन गरियो । नेपाली कांग्रेस कार्यकर्ता उर्मिला प्रधानको नेतृत्वमा स्थानीय राजनीतिकर्मी, समाजसेवी, छरछिमेकीको २६ सदस्यीय संघर्ष समिति गठन भयो । संघर्ष समितिले पनि हत्याको आशंका गर्दै दोषीलाई कडा कारबाही माग गर्दै आन्दोलन ग¥यो । विभिन्न विद्यालयका विद्यार्थीहरूले धरान बजारमा ¥याली प्रदर्शन गरे । दैनिक जसो प्रहरी र स्थानीय आन्दोलनकर्ताबीच झडप भयो । भीड नियन्त्रण गर्न प्रहरीले पटक–पटक अश्रुग्यास प्रहार ग¥यो । बालिकाको पोस्टमार्टमपछि शवलाई प्रहरीकै नियन्त्रमा लगेर दाहसंस्कार गरियो । स्थानीयवासी भन्छन्, ‘प्रहरीले दाहसंस्कार छिटो गर्न परिवारलाई दबाब दियो । अघिपछि बन्दुक तेस्र्याएर शव लगियो । बालिकाका बाबु र काकाबाहेक हामीलाई मलामी जान पनि दिएन ।’ इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढकेन्द्र खतिवडा भने आन्दोलनकारीले बलिमानकै घर भएको ठाउँमा शव लान खोजेकाले आफूले हस्तक्षेप गरेको बताउँछन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागीय प्रमुख डा. शिवेन्द्र झा, डा. विकास साह, डा. दीक्षान्त पोखरेल र डा. सन्तोष कोइरालाको टोलीले पोस्टमार्टम गरेको थियो । रिपोर्टमा बलात्कार भएको नदेखिए पनि उनको यौनांगको बनावट र आकारले यसअघि शारीरिक सम्पर्क भएको संकेत देखाएको छ । त्यस्तै, शरीरमा नयाँ पुराना स–साना खत देखिएको उल्लेख छ भने टाउको पछाडि सानो चोट देखिएको छ । बायाँ हातमा ब्लेडले काटेको खत र बायाँ स्तनमा रातो डाम पनि देखिएको उल्लेख छ । डीएसपी खतिवडा भने बालिकाको भिसेरा परीक्षणका लागि काठमाडौँ पठाइएकाले त्यसको रिपोर्ट आएपछि मात्र पोस्टमार्टम रिपोर्ट पूरा हुने बताउँछन् । अहिले बलिमान र पदमकुमारी प्रहरीको नियन्त्रणमा छन् । हत्या भएको भन्दै आन्दोलन गर्ने १० जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । न्याय माग्दै आन्दोलन गर्ने छिमेकीहरूले प्रहरी आर्थिक प्रलोभनमा परेर बलिमानको पक्षमा लागेको आरोप लगाउँदै आएका छन् । बलिमानको घरबाट पहिला पनि घरेलु हिंसाका कारण काम गर्ने मान्छे भागेको छिमेकी बताउँछन् । संघर्ष समितिकी कोषाध्यक्ष शिव बान्तवा भन्छिन्, ‘धनीको छोरीको घटना भएको भए सबै तात्थे, गरिबको पक्षमा न कानुन सक्रिय हुन्छ, न मिडिया, न प्रहरी प्रशासन ।’

डीएसपी खतिवडा भने आफूले उजुरी दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाएको र कानुनअनुसार नै अघि बढ्ने बताउँछन् । भन्छन्, ‘स्थानीय, संघर्ष समिति र रिपोर्टको अनुसन्धान गरेरै काम गर्छौं ।’

 

Leave A Comment