‘जलेको चिम’ उत्कृष्ट

बिहिबार, २६ फागुन २०७३, ०२ : २३ शुक्रवार , Kathmandu
‘जलेको चिम’ उत्कृष्ट

शैली थिएटरले राजधानीमा आयोजना गरेको पाँच दिवसीय ‘आठौँ राष्ट्रिय बालनाटक महोत्सव’मा आकाशगंगा स्कुलको नाटक ‘जलेको चिम’ उत्कृष्ट भएको छ । एक बालकले विद्यालयको पढाइभन्दा स्व–अध्ययनबाट विज्ञानमा गरेको प्रगतिलाई नाटकमा देखाइएको छ । नाटकले पाँच हजार रुपैयाँसहित ‘आन्तोन चेखब उत्कृष्ट नाटक पुरस्कार’ पाएको हो ।
महोत्सवमा महेन्द्र आदर्श स्कुलको नाटक ‘अज्ञानताको पट्टी’का लागि कलाकार सुप्रिया नेपालले ‘बाल कोसेली उत्कृष्ट अभिनय पुरस्कार’ र युनाइटेड एकेडेमीका रोहन खड्काले नाटक ‘कुबेला’बाट ‘स्वर्गीय रेश्मीप्रसाद सापकोटा उत्कृष्ट अभिनय पुरस्कार’ पाए । दुवैले पुरस्कारसँगै जनही सात हजार रुपैयाँ दिइयो ।
महोत्सवमा निर्देशनतर्फ नाटक ‘कुमारीको घर’का लागि प्रभाकर न्यौपानेले पाँच हजार राशिको ‘स्वर्गीय चित्रबहादुर बुढाथोकी उत्कृष्ट निर्देशक पुरस्कार’ पाए । ‘शैली थिएटर प्रोत्साहन पुरस्कार’  ग्रिनिफिल्ड स्कुलको नाटक ‘डा. आलुकालु’ का लागि एलेक्स तामाङले प्राप्त गरे । यही नाटककी सम्झना पराजुलीले ‘शैली थिएटर पब्लिक च्वाइस पुरस्कार’ पाइन् । दुवैले जनही तीन हजार नगद पुरस्कार पाए ।
शैलीका कार्यक्रम संयोजक आर्यन न्यौपानेका अनुसार शैली थिएटरले महोत्सवमा सहभागी सम्पूर्ण कलाकारलाई तीनमहिने तालिममा विभिन्न छुट र सहुलियत दिनेछ । महोत्सवमा आयोजकको एकसहित उपत्यकामा रहेका विभिन्न विद्यालयका १५ बालनाटकको सहभागिता थियो ।
महोत्सव समापन कार्यक्रममा प्रमुख अतिथि कलाकार तथा निर्देशक रमेश बुढाथोकी, निर्देशक नवराज बुढाथोकी, पदम सापकोटा, निर्णायकद्वय डा. अशोक थापा र अशोक शिवाकोटीले विजेतालाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे ।

 

Leave A Comment