चलचित्रले पार्ने सुनको अण्डा र गन्दै बसेका पत्रकारहरू

मङ्गलबार, २४ फागुन २०७३, ०३ : २८ माधव ढुङ्गेल , Kathmandu
चलचित्रले पार्ने सुनको अण्डा र गन्दै बसेका पत्रकारहरू

बक्स अफिसको अतिशय चर्चाले चलचित्रलाई सुनको अण्डा पार्ने पोथीका रूपमा विकास गर्न खोज्दैछ । निर्देशकलाई जे बेचेर हुन्छ, निर्माताका निम्ति नाफा निकालिदिने ठेकेदारका रूपमा विकास गर्दैछ । र, दुर्भाग्यको कुरा, चलचित्र पत्रकारहरू चाहिँ अण्डा गन्नमै रमाइलो मानिरहेका छन् ।
पत्रपत्रिकामा चलचित्रको चर्चा गर्दा कमाइको कुरालाई महŒवका साथ उठाइन्छ । व्यावसायिक पाटोको चर्चा बढी नै हुन्छ । बक्स अफिसको विश्लेषणले धेरैको दिमाग खाएको, खियाएको छ ।
चलचित्रको आर्थिक पाटोलाई निर्माताहरूले त महŒव दिने नै भए । उनीहरूको लगानीको प्रश्न छ । कमाइ राम्रो गर्न सकिएन भने अर्को चलचित्र बनाउनका लागि आर्थिक अभावको समस्या देखिन सक्छ । उनीहरूले चासो राख्नु, अभिलेख राख्नु वा बजारको अध्ययन र अनुसन्धान गर्नु आवश्यक हुन्छ । तर, मिडियाले पनि आर्थिक कारोबारलाई नै महŒव दिनु चाहिँ कति जायज छ ?
मिडियाले चलचित्र र दर्शकका बीचमा रहेर सञ्चार सम्प्रेषणको काम गर्छ । चलचित्र र दर्शकका बीचको संवादलाई थप व्यवस्थित र अर्थपूर्ण बनाउनमा सहयोग गर्छ । चलचित्रले हासिल गरेका उपलब्धिलाई स्थापित गर्ने, त्यसका कमी–कमजोरीलाई औँल्याउने वा त्यसले सिर्जनाका क्षेत्रमा गरेका प्रयासलाई चिनाउने काम गर्छ ।
हाम्रोमा त्यो अलि भिन्न किसिमले हुँदै आयो । कहाँको प्रभावले हो तर बेग्लै प्रकारको पत्रकारिताको विकास भयो । हाम्रा अधिकांश मिडियाले कि त चलचित्रको विज्ञापन गर्छन् कि नायक–नायिका वा अन्य व्यक्तिसँग उनीहरूको प्रेम सम्बन्धको खोजी गर्छन् । त्यसभन्दा भिन्न कुरा उठाए भने त्यो हुने छ– बक्स अफिस । कुन चलचित्र हिट भयो, कुन चलचित्रले कति कमायो, कुन डुब्यो ?
चलचित्रलाई सिर्जनाका रूपमा हेर्ने अभ्यास हाम्रोमा भएन । यदि चलचित्रलाई सर्जकहरूले सचेततापूर्वक गरेको काम हो, सिर्जना हो भनेर हेरिन्थ्यो भने मिडियाको प्राथमिकता यस्ता कुरामा पर्ने थिएन । चलचित्रमा काम कसरी भएको छ, कुन स्तरमा भएको छ, कुन विषयलाई कसरी उठाएको छ र त्यसको औचित्य तथा सान्दर्भिकताका बारेमा कुरा हुन्थे । बहस, चर्चा ज्यादा अर्थपूर्ण क्षेत्रमा केन्द्रित हुन्थे । सोच र सिर्जनाको माध्यमका रूपमा चलचित्र कलालाई ग्रहण गरिन्थ्यो जहाँ हिट हुनु वा नहुनुले धेरै अर्थ राख्दैन ।
हाम्रातिर ‘हिट’ को कुरा ज्यादा हुन्छ । हिट हुनु र उत्कृष्ट हुनुलाई एउटै जस्तो मानेर चर्चा गरिन्छ । तर, इतिहासलाई हेर्दा यो सही हो भन्ने लाग्दैन । राम्रा सिर्जना जति सबैले ‘हिट’ हुने अवसर पाउँदैनन् र हिट भएका सबै चलचित्र वा सिर्जना राम्रै हुन्छन् भन्ने पनि छैन ।
हिट वा चर्चित हुने कारण अनेक हुन सक्छन् । कुनै सिर्जनालाई हिट बनाउने काममा मिडियाको भूमिकालाई नजरअन्दाज गर्न सकिन्न । मिडियामैत्री व्यक्तिलाई वा शक्तिशालीलाई आफ्नो सिर्जनामाथि चर्चा गराउन जति सजिलो छ, सबैका लागि त्यो सहजता प्राप्त हुँदैन । काम राम्रो हुँदैमा मिडियाको आँखा पर्छ नै भन्ने पनि छैन । मिडियाका आँखा पर्न अनेक कुरा मिल्नुपर्छ । जससँग ती कुरा मिल्छन्, चर्चामा त्यही नै बढी आउँछ । जो चर्चामा बढी आउँछ, त्यही हिट हुन्छ ।
‘हिट’ भन्ने अवस्था आफैँ हुनेभन्दा पनि बनाउने कुरा ज्यादा हो । हिट बनाउनका लागि प्रयास गर्नुपर्ने हुन्छ । मिडियामा लेख्नु र छपाउनुपर्ला, अन्तर्वार्ता दिनु र दिलाउनुपर्ला, विज्ञापन गर्नुपर्ला, स्क्यान्डल मच्चाउनुपर्ला, विवादित विषय सार्वजनिक गर्नुपर्ला । जसरी हुन्छ, चर्चाको केन्द्रमा राखिरहन सक्नुपर्ला । हिट बनाउने काम शक्ति केन्द्रहरूको हो, मुख्यतः मिडियाको हो । यो काम शक्ति हुनेले मात्रै गर्न सक्छन् । त्यस्तो शक्ति राजनीतिक हुन सक्छ, आर्थिक हुन सक्छ वा अन्य कुनै पनि प्रकारको हुन सक्छ ।
चलचित्र र समाजलाई जोड्ने मिडियाकर्मीसँग चलचित्रलाई हेर्ने सौन्दर्यशास्त्रीय दृष्टि स्पष्ट भएन भने कुरा ठीक ठाउँमा पर्दैन र यही कुरा हाम्रातिर हुँदै आएको छ । चलचित्रको चर्चा गर्न बसेको मिडियाकर्मी कमाइको चर्चा गर्न थाल्छ । कसले कति कमायो ? माथि भनिएझैँ प्रेम प्रसंग र निजी जीवनको चर्चातिर लाग्छ । यसका लागि चलचित्रको ज्ञान चाहिँदैन, अनुभव चाहिँदैन र चाहिँदैन कुनै पनि प्रकारको विचारधारा वा चलचित्रसम्बन्धी खास दृष्टिकोण ।
मिडियाले जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य नगरिदिएपछि समाजले बिस्तारै चलचित्रप्रति खास प्रकारको धारणा बनाउन थाल्छ, जो अधिकांशतः गलत प्रकारको हुन्छ । चलचित्रको मूल्यांकन गर्दा बक्स अफिसलाई महŒव दिनु यस्तै प्रकारको त्रुटि हो । चलचित्र भनेको मनोरञ्जन हो, टाइम पास हो भन्ने धारणा यस्तै प्रकारका भ्रम हुन्, जसको शिकार हामी भइराखेका छौँ ।
यसले कसैलाई राम्रो गरेको छैन । वर्षौंसम्म चलचित्र विधाको पत्रकारिता गर्दा पनि न त पत्रकारको सौन्दर्यात्मक क्षमतामा विकास भएको छ, न निर्देशक वा कलाकारले कुनै पृष्ठपोषण प्राप्त गरेका छन्, न चलचित्रलाई हेर्ने सामाजिक दृष्टिकोणमा सुधार आएको छ, न चलचित्र साक्षरता नै बढेर गएको छ । चलचित्र प्रदर्शनको कुरा छोडौँ, निर्माण हुन थालेको समेत ५० वर्ष बित्दा पनि चलचित्रलाई हेर्ने नेपाली समाजको हेराइ आलोकाँचो र गैरजिम्मेवार नै छ । निर्देशकहरू व्यावसायिक सफलताको मोहनीबाट मुक्त हुन सकेका छैनन् ।
पैसाका लागि चलचित्र बनाउँछु भन्ने निर्देशक र पैसाका लागि होटल सञ्चालन गर्ने मालिकहरू उस्तै हुन् । नाफा कमाउन होटल चलाउनेले उपभोक्ताको स्वास्थ्यको ख्याल गर्न थाल्यो भने अपराध हुन्छ । यिनीहरूबाट मूल्यको अपेक्षा गर्दा मानवीय मूल्य होइन, बजार मूल्य मात्रै हात लाग्छ ।
र, नेपाली चलचित्र क्षेत्रमा ‘उत्कृष्ट’ भनिएका निर्देशकहरू पनि व्यावसायिकताको होडमा दौडिराखेका छन् । दिमागमा पैसा छ, हातमा पटकथा । यिनीहरूकै चर्चामा चलचित्र पत्रकारहरू लागिपरेका छन् । पैसा कमाउने चलचित्रको प्रचार गर्दै उनीहरू भन्छन्, ‘स्वदेशी चलचित्र उद्योगको विकास । विदेशी चलचित्रको बजारमाथि स्वदेशी चलचित्रले कब्जा जमाउँदैछ ।’
अर्थशास्त्रीहरूले गर्नुपर्ने तर्क चलचित्र पत्रकार वा समीक्षकले गरिराखेका छन् । यस्ता चलचित्रले समाजमा उपभोक्तावादलाई कसरी हुर्काएका छन्, अलगाव र मूल्यहीनतालाई कसरी मलजल गरिराखेका छन्, चलचित्र कलाप्रतिको समझलाई नै कसरी विद्रूपीकरण गरिराखेका छन् भन्ने कुराको चर्चा गर्ने, छलफल चलाउने काम कसको हो ?
बक्स अफिसको अतिशय चर्चाले चलचित्रलाई सुनको अण्डा पार्ने पोथीका रूपमा विकास गर्न खोज्दैछ । निर्देशकलाई जे बेचेर हुन्छ, निर्माताका निम्ति नाफा निकालिदिने ठेकेदारका रूपमा विकास गर्दैछ । र, दुर्भाग्यको कुरा, चलचित्र पत्रकारहरू चाहिँ अण्डा गन्नमै रमाइलो मानिरहेका छन् ।

 

Leave A Comment