आपत्कालीन गर्भनिरोधक विधि

मङ्गलबार, २४ फागुन २०७३, ०३ : ११ शुक्रवार , Kathmandu
आपत्कालीन गर्भनिरोधक विधि

डा. सुमनराज ताम्राकार
प्रेमी–प्रेमीकाले यौनसम्पर्क गर्दा कन्डम प्रयोग गर्न झन्झट मान्ने, प्रयोग गरिहाले पनि हतारमा सावधानी नअपनाउँदा कन्डम फुट्ने हुनाले गर्भरहन सक्छ । यसो भएमा पार्टनरको बीचमा झगडा पर्न एवं सम्बन्ध बिग्रन पनि बेर लाग्दैन । यसो हुन नदिन आपत्कालीन गर्भ निरोधका विधि अपनाउन सकियो भने यस तनावलाई कम गर्न सकिन्छ । तर, धेरै युवायुवतीलाई यसबारे त्यति जानकारी हुँदैन ।
एक सर्वेक्षणअनुसार करिब ६२ प्रतिशत युवक तथा २७ प्रतिशत युवतीले डेटिङका बेला यौनजन्य गतिविधि गर्ने गरेको पाइन्छ । जसअनुसार ४० प्रतिशत युवक तथा नौ प्रतिशत युवतीले डेटिङका बेला यौनसम्पर्क गर्ने गर्छन् ।
नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन पाइने प्रावधान छ । असुरक्षित यौनसम्पर्क गरेको पाँच दिन अर्थात् आपत्कालीन गर्भ निरोधका लागि उपयुक्त समय घर्किसकेपछि सल्लाह लिने गर्छन् । यस्तो अवस्थामा सुरक्षित गर्भपतनको बाटो देखाइ दिनुको विकल्प हुँदैन । गर्भ रहने क्रममा डिम्ब निष्कासन, यौनसम्पर्क, वीर्य स्खलन, डिम्ब निषेचन तथा डिम्बारोपणको तारतम्य मिल्नुपर्दछ । तर, कन्डम फुट्नाले, कन्डमलगायत अस्थायी साधन अपनाउन अल्छी गर्नाले, नियमित रूपमा पिल्स चक्की खान बिर्सिनाले अनिच्छित गर्भ रहन सक्छ ।
गर्भ रहन नदिनका लागि गरिने उपायहरूलाई आकस्मिक परिवार नियोजन विधि अर्थात् मेडिकल भाषामा ‘इमर्जेन्सी कन्ट्रासेप्सन’ भनिन्छ । आजकाल आपत्कालीन गर्भ निरोधका लागि प्रोजेस्टेरोन नामक हार्मोन मात्र भएको पिल्स चक्की पनि पाइन्छ । यसअघि इस्ट्रोजेन र प्रोजेस्टेरोन दुवै हार्मोन भएको पिल्स चक्की पाइन्थ्यो ।
इमर्जेन्सी कन्ट्रासेप्सनअन्तर्गत युज्पे विधिमा दुवै हार्मोन भएको ओभरल नामक पिल्स चक्की शारीरिक सम्पर्क भएको सक्दो चाँडो दुई चक्की खानुपर्छ । त्यसको १२ घण्टापछि पुनः थप दुई चक्की ओभरल खानुपर्दछ । त्यसै गरी लेभोनोरजेस्ट्रेल (प्रोजेस्टेरोन मात्र) भएको इक्सी नामक पिल्स चक्की दुई मात्रा १२ घण्टाको अन्तरालमा खानुपर्छ । इक्सीको पहिलो मात्रा असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टाभित्र खाइसक्नुपर्छ । यो १२ घण्टाको फरकमा दुई पटक वा एकै मात्रा गरेर पनि खान सकिन्छ ।
यस्ता खाले हार्मोनयुक्त औषधि असुरक्षित यौनसम्पर्क अगाडि वा शारीरिक सम्पर्कको ७२ घण्टाभित्र खाइसक्नुपर्ने भए पनि विश्व स्वास्थ्य संगठनका अनुसार परिवार नियोजनका साधन फेल खाएको परिस्थितिमा पाँच दिनसम्म पनि यी साधनहरू प्रयोग गर्न सकिन्छ । नेपालमा पनि इकोन नामक आकस्मिक गर्भ निरोधक चक्की असुरक्षित यौनसम्पर्कको १ सय २० घण्टासम्म खान सकिन्छ । जुन एक प्याकेटमा दुई चक्की हुन्छ ।
इमर्जेन्सी कन्ट्रासेप्सनकै रूपमा असुरक्षित यौनसम्पर्कको ७२ घण्टाभित्र माथि उल्लेखित पिल्स चक्की खान भ्याइएन भने पाँचौँ दिनभित्र पाठेघरमा राखिने कपर टी राख्न सकिन्छ । यसै उद्देश्यका लागि हार्मोन नभएको मिफेप्रोस्टोन औषधि पनि छ । जुन असुरक्षित यौनसम्पर्क भएकै महिनाको महिनावारीको २७ औँ दिनसम्म खान सकिन्छ ।
असुरक्षित यौनसम्पर्कको केही घण्टाभित्र यी औषधिको सेवन गरेमा डिम्बासयबाट डिम्ब निस्कन नदिने वा ढिलाई गर्ने, शुक्रकीट र डिम्बबीच निषेचन हुन नदिने तथा डिम्ब र शुक्रकीटबीच निषेचित भइसकेको भए पनि पाठेघरको भित्री तहमा बस्न नदिने विश्वास गरिएको छ । कपर टी ले शुक्रकीट र डिम्बलाई मार्नुको अलावा निषेचित भइसकेको डिम्बलाई पनि प्रतिकूल असर पु¥याउने अनुमान छ ।
प्रोजेस्टेरोन मात्र भएको पिल्स चक्की ८९ प्रतिशत प्रभावकारी छ भने दुवै हार्मोनको मात्रा हुने युज्पे विधिको प्रभावकारिता केवल ७४ प्रतिशत मात्र छ । यसरी साधन पिच्छे यसको प्रभावकारितामा भिन्नता पाइन्छ । समग्रमा पिल्स चक्कीको प्रभावकारिता ७५ प्रतिशत छ । यी साधनको प्रयोगले असुरक्षित यौनसम्पर्कका कारण गर्भ रहन सक्ने सम्भावनालाई ७५ प्रतिशतले घटाउँछ ।
कतिपय केसमा आपत्कालीन गर्भ निरोधक औषधि खाँदाखाँदै पनि गर्भ बस्छ । गर्भे शिशुमा कुनै हानि नदेखिन पनि सक्छ । तर, गर्भ रहिसकेको अवस्थामा यी औषधिको प्रयोगले फाइदा पु¥याउँदैन । मस्तिष्कघात, माइग्रेन वा रगतको विकार समस्या भएका महिलामा प्रोजेस्टेरोन मात्र भएको पिल्सको प्रयोग राम्रो हुन्छ । छारेरोग तथा क्षयरोग विरुद्वको रिफाम्पिसिन औषधि सेवन गरिरहेकी महिलालाई पिल्सको मात्रा बढी चाहिन्छ ।
एकै पटक धेरै मात्रामा हार्मोन पिल्स चक्की बाध्यतावश खानु पर्दा वाकवाकी लाग्ने, उल्टी हुने, पेट दुख्ने, आलस्य हुने, टाउको दुख्ने, चक्कर लाग्ने, स्तन भारी हुने हुन्छ । साधारणतया यी साधनको प्रयोगपश्चात् केही समयसम्म अस्थायी तवरले महिनावारीमा गडवडी आउन सक्छ । रगतको मात्रा पनि बढ्ता र अलि पीडादायी हुन सक्छ । यदि डिम्ब निष्कासन हुनु अगाडि नै यी हार्मोनयुक्त पिल्स सेवन गरेको खण्डमा हल्का रगत देखिने वा महिनावारी अलि ढिला हुन सक्छ ।
आपत्कालीन गर्भ निरोधक औषधि परिवार नियोजनको प्राथमिक उपाय नभई अरू उपाय असफल हुँदाको अवस्थामा एउटा विकल्प हो । सामान्यतयाः यी पिल्स चक्कीसँगै उल्टी रोक्ने औषधिको जरुरत पर्दैन । तर, यदि यी औषधि खाएको दुई घण्टाभित्र उल्टी भएमा सक्दो चाँडो अर्को मात्रा खानुपर्छ । आपत्कालीन गर्भ निरोधका साधनहरूले कुनै यौनजन्य संक्रमणबाट भने बचावट गर्दैन । यदि आपत्कालीन गर्भ निरोधका प्रयोगको तीन हप्तासम्ममा पनि महिनावारी खुलेन भने गर्भ रह्यो कि भनेर जाँच गराउनुपर्दछ ।

 

Leave A Comment