वैदेशिक रोजगारी : किन बढे आत्महत्या गर्ने महिला ?

मङ्गलबार, २४ फागुन २०७३, ०१ : ४६ रुद्र खड्का , Kathmandu
वैदेशिक रोजगारी : किन बढे आत्महत्या गर्ने महिला ?

पछिल्लो समयमा वैदेशिक रोजगारीको क्रममा आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिनाको संख्या बढिरहेको पाइएको छ । सरसर्ती हेर्दा विदेशमा आत्महत्या गर्नेको संख्या महिलाको तुलनामा पुरुषको बढी छ । तर, पुरुषको तुलनामा निकै कम संख्यामा महिला वैदेशिक रोजगारीमा जाने र सोही अनुपातमा हेर्ने हो भने आत्महत्या गर्ने महिलाको संख्या बढी पाइएको हो । त्यस्तै, विदेशमा मृत्यु हुने महिलाको संख्यामध्ये करिब एक तिहाइ कारण आत्महत्या देखिएको छ ।
वैदेशिक रोजगारीको क्रममा धेरै महिलाले आत्महत्या गर्नुलाई विज्ञहरूले विदेशमा हुने शोषण र नेपालबाट सोचेजस्तो वातावरण त्यहाँ नपाउनुलाई कारणको रूपमा लिने गरेका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डकी निर्देशक निर्मला थापा कामका लागि विदेश पुगेका ठूलो संख्याका महिलाले आत्महत्या गर्नुको कारण शारीरिक र आर्थिक शोषण हुनुलाई ठान्छिन् । ‘पुरुषको तुलनामा विदेशमा धेरै महिलाले आत्महत्या गर्नुको कारण खोज्न अहिलेसम्म गहिरो अध्ययन भएको छैन,’ उनले भनिन्, ‘तैपनि, सरसर्ती हेर्दा महिलामाथि हुने अत्याचार नै प्रमुख कारण हो भन्न सकिन्छ ।’
अन्तर्राष्ट्रिय श्रम संगठनले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २००८÷०९–२०१४÷१५ सम्म वैदेशिक रोजगारीको क्रममा ८५ जना महिलाले ज्यान गुमाउँदा २९ जनाले आत्महत्याको बाटो रोजे । सोही अवधिमा कामका लागि विदेश पुगेकामध्ये ४ हजार २ सय ३५ पुरुषले ज्यान गुमाउँदा आत्महत्या गर्नेको संख्या ४ सय ५१ थियो । त्यस अवधिमा ४ सय २२ पुरुषले विदेशी भूमिमा आत्महत्या गरे ।
 वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब ४४ लाख वैदेशिक रोजगारीमा जाँदा महिलाको संख्या १ लाख ५३ हजार छ । त्यस्तै, सन् २०१४÷१५ मा श्रम स्वीकृति लिएर ५ लाख १२ हजार वैदेशिक रोजगारीमा जाँदा महिलाको संख्या १९ हजार थियो । धेरै पुरुष कामदारको निधन हुने देशमा मलेसिया र साउदी अरेबिया अग्रस्थानमा आए पनि महिला कामदारको निधन हुने देशमा कुवेत (२४ जना), मलेसिया (१७) र युनाइटेड अरब इमिरेट्स (१६ जना) अग्रस्थानमा देखिएका छन् । कुवेतमा धेरै नेपाली महिला घरेलु कामदारको रूपमा कार्यरत छन् । कुवेतमा धेरै महिलाको निधन भएकाले घरेलु कामदारको रूपमा जाने महिला शोषित भइरहेको अनुमान गरिएको छ । त्यस्तै, कतारमा पाँच, साउदी अरेबियामा तीन, ओमानमा एक श्रमिक महिलाको निधन भएको छ । आईएलओको प्रतिवेदनअनुसार वैदेशिक रोजगारीमा हुने कुल मृत्युमध्ये पुरुषको आत्महत्या दर १७ प्रतिशत छ भने महिलाको आत्महत्या दर २४ प्रतिशतभन्दा बढी छ । विदेशमा महिलाले आत्महत्या गर्ने क्रम बढेपछि वैदेशिक रोजगारीमा पठाउनुअघि पर्याप्त सीप र सचेतना दिनुपर्ने आवाज उठेको छ । वैदेशिक रोजगारी भनेको के हो ? भन्नेबारे नबुझेका महिलालाई सामान्य जानकारी दिन सकेको खण्डमा मात्र समस्या घटाउन टेवा पुग्ने बताइएको छ ।
 
वैदेशिक रोजगारीको क्रममा आत्महत्या गर्ने महिला र पुरुषको संख्या
वर्ष (सन्मा)    महिला    पुरुष    जम्मा
२००८/०९    १    ८    ९
२००९/१०    ४    २१    २५
२०१०/११    २    ६०    ६२
२०११/१२    ५    ६१    ६६
२०१२/१३    ५    ७६    ८१
२०१३/१४    ९    ८७    ९६
२०१४/१५    ३    १०९    ११२
कुल     २९    ४२२    ४५१
स्रोतः अन्तर्राष्ट्रिय श्रम संगठन प्रतिवेदन, २०१४/१५

कुन देशमा कतिले आत्महत्या गरे ? (सन् २००८ देखि २०१५ सम्म)
देश              महिला        पुरुष
मलेसिया         ३             १४१
साउदी अरेबिया   १           ५९
कतार    –        ५४
संयुक्त अरब ईमिरेट्स   ७    १९
कुवेत                   ११      ७
कोरिया    –          ११
लेबनान              ६    २
ओमान              ४
बहराइन             ३
इजरायल           १    –
जापान              १
रुस                  १
पपुवान्युगिनी       १
जम्मा              २९    ३०३


‘विदेशमा महिला शोषित छन्’
निर्मला थापा

निर्देशक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड
वैदेशिक रोजगारीमा गएका महिला मृत्युको कारणमध्ये आत्महत्या प्रमुख देखिए पनि यसबारे अझै बोर्डको तर्फबाट गहिरो अध्ययन भएको छैन । विभिन्न संस्थाको अध्ययनमा देखिएअनुसार र सरसर्ती हेर्दा घरेलु कामदाको रूपमा विदेश जाने महिलामाथि शोषण धेरै भएका कारण आत्महत्या गरेको अनुमान लगाउन सकिन्छ । स्वदेशमा वैदेशिक रोजगारी भनेको निकै आकर्षक ठानेर गएका महिलाले विदेशमा सोचेभन्दा फरक पाउँदा आत्महत्या गरेका हुन सक्छन् । कतिपयले विदेशबाट फर्केर आउनुभन्दा आत्महत्या गर्नु नै सहज ठान्छन् । फेरि, वैदेशिक रोजगारीमा जाने महिला स्वदेशदेखि नै जोखिममा परेका हुन्छन् । विदेशमा पनि त्यो क्रम नरोकिएपछि उनीहरू आत्महत्या गर्ने मनस्थितिमा पुगेका हुन सक्छन् । कतिपय महिलाले घरको समस्या र पुरुषको व्यवहारका कारण पनि आत्महत्या गर्छन् । पत्नी वैदेशिक रोजगारीमा जाँदा कतिपय पुरुषले घरमा अर्की श्रीमती भिœयाएका हुन्छन् । त्यसले गर्दा पनि कतिपय महिलाले आत्महत्याको बाटो रोज्छन् ।

 

Leave A Comment