‘कोही त पैसै नदिई भाग्छन्’

सोमबार, २३ फागुन २०७३, ०३ : २१ शुक्रवार , Kathmandu
‘कोही त पैसै नदिई भाग्छन्’

बा.१.ज ४६५१
चालकः राजन श्रेष्ठ

के छ गुरुजी हालखबर ?
एकदम ठीकठाक ‘भनौँ न’ (यो उनको थेगो हो ) ।
के गर्दै हुनुहुन्छ ?
अहिले टिप छैन, त्यत्तिकै मोबाइलमा गेम खेलर टाइमपास गरिरा’छु ।
कुन गेम ?
क्यान्डी क्रस ।
रमाइलो लाग्छ खेल्न ?
अँ, भुल्ने बाटो नि एउटा !
घर कता प¥यो ?
धादिङ ।
अहिले कता बसिन्छ ?
काठमाडौँ, लगनटोल ।
ट्याक्सी चलाउन थालेको कति भयो ?
सातआठ वर्षजति भयो भनौँ न ।
कहाँ सिक्नुभा’को चलाउन ?
ड्राइभिङ सेन्टरमा सिकेको । तर, खासै सिकिएन । पैसा मात्रै खेर गयो । त्यसपछि आफन्तसँग गाडी मागेर सिक्थेँ । यताउता गरेर सिक्नमै थुप्रै खर्च लाग्यो ।
ट्याक्सी चलाएर परिवार पाल्न सकिन्छ ?
त्यो चाँहि अलि गाह्रो गाह्रो नै छ । मेरी श्रीमती पनि सानोतिनो व्यापार–व्यवसाय गर्छिन् । दुवै मिलेर परिवार पालिएको छ भनौँ न ।
कति हुन्छ आम्दानी ?
सोचेजति हु्ँदैन । महिनामा १०÷१२ हजार हुन्छ भनौँ न ।
पहिले के गर्नुहुन्थ्यो ?
पसलतिर काम गर्थें ।
यो लाइनमा कसरी आइयो ?
खै, साथीहरूले कमाएको देखेर आएको । यसमा पनि त्यति हुँदैन रहेछ । गर्न थालेपछि बुझियो भनौँ न ।
अनि ट्राफिक नियम कतिको पालना गरिन्छ ?
पालना गरिन्छ नि । तर, कहिलेकाहीँ त्यस्तै पर्न जान्छ । आफ्नो लाइनबाट हिँडिराखेको छ भने पनि कतातिरबाट ट्राफिकले समातिहाल्छ ।
अप्ठ्यारा के छन् यस पेशाका ?
धेरै छन् नि । पार्किङको समस्या छ । जहाँ बसे पनि ट्राफिक आएर लखेटिहाल्छ ।
कस्ता–कस्ता खाले प्यासेन्जर आउँछन् ?
राम्रो पनि आउँछन्, नराम्रो पनि भनौँ न । कोही त पैसा नै नदिई भाग्ने खालका पनि हुन्छन् ।
कुन समयमा मान्छेको चाप बढी हुन्छ ?
चाडपर्वको समयमा, बिहेभोज हुँदा पनि बढी चाप हुन्छ । अनि, साँझपखतिर । त्यतिबेला गाडीहरू प्याक नै हुन्छ । सजिलो गरी जाऔँ न भन्नेहरू ट्याक्सी चढ्छन् ।  
उपत्यका बाहिर नि जानुभा’छ ?
टिप आयो भने गइन्छ भनौँ न ।
अहिलेसम्म कहाँ–कहाँ गइयो ?
धेरै त होइन । मनकामनासम्म गएको छु ।
दिनमा कति टिप भ्याइन्छ ?
कहिले पाँच÷सात त कहिले १०÷१२ सम्म भ्याइन्छ । लङ रुट प¥यो भने थोरै हुन्छ । सर्ट रुटमा अलि बढी टिप भ्याइन्छ भनौँ न ।
कति घण्टा ड्युटी गरिन्छ ?
बिहान ६ देखि बेलुकी ८ बजेसम्म ।
ट्याक्सी आफ्नो कि साहूको ?
आफ्नै हो । तर, किस्ता तिर्दै छु । कमाएको जति तिर्नमै ठिक्क भा’छ ।
कतिमा किन्नु भा’को ?
साढे नौ लाखजतिमा ।
कहिले ?
दुई वर्षअघि ।
पहिले साहूको चलाइन्थ्यो ?
हजुर ।
के फरक छ त साहूको र आफ्नोमा ?
आफ्नो–साहूकोमा उस्तै–उस्तै हो भनौँ न । साहूकोमा भाडा तिर्ने हो आफ्नोमा किस्ता । सजिलो भनेको जतिखेर भन्यो त्यति खेर निस्किन पाइन्छ ।

प्रस्तुतिः रचना

 

Leave A Comment