जब्बर पर्खाल

सोमबार, २३ फागुन २०७३, १२ : ४६ ईश्वर दाहाल , Kathmandu
जब्बर पर्खाल

नेता बन्नु चानचुने कुरो होइन । तर, नेता बनिसकेपछि नेताजस्तो कर्म नगर्नु सबैभन्दा सजिलो कार्य हो । अक्सर मानिसले नेता बन्न जीवनमा धेरै मूल्य चुकाउँछन् । जब नेता बन्छन्, चुकाएको मूल्य उठाउन थाल्छन् र गडबडी सुरु हुन्छ ।
हाम्रा नेताजीले पनि जीवनका सप्तरंग भोग्न पाएनन् । कठोर संर्घष र पौरखले नै उनी राजनीतिमा जमेका हुन् । पारिवारिक बिछोड, भूमिगत जीवन, जेल र मुद्दाका लामा फेहरिस्त उनीसँग पनि छन् ।
डाक्टरलाई डाक्टर र इन्जिनियरलाई इन्जिनियर बनिसकेपछि चैन छ । नेताबाहेक अन्य पेशा र व्यवसायमा आबद्धहरूले सम्बन्धित पेशामा चिन्तन–मनन गरे पुग्छ । तर, नेतालाई यस्तो छुट छैन । ऊ कहिले इन्जिनियर बन्नुपर्छ त कहिले समाजशास्त्री । समाज र सभ्यताले निर्धारण गरेका जेजे सीप, ज्ञान र पद्धति छन्, तिनीहरूको धेरथोर ज्ञान र कला नेताहरूले ठम्याउनैपर्छ । त्यसैले हाम्रा नेताहरू डनको संरक्षकदेखि सन्तको चेलासम्म बन्न बाध्य छन् । सर्वहाराको बाँसुरी बजाएर उद्योगी–व्यापारीहरूको तालमा नाच्न अभिशप्त छन् ।
नेताजीले पनि नेताका रूपमा टिकिराख्न आवश्यक सम्पूर्ण कलालाई आफ्नो बुताले भ्याएसम्म प्रयोग गर्दै आएका छन् । परिवर्तित समयले के–के ल्याउँछ, के–के ? जति सिके पनि सिकेर नसकिने । नेताजीलाई कहिलेकाहीँ दिक्क पनि लाग्छ । तर, नेता बनिराख्नु छ ।
सामाजिक सञ्जालले गफाडीदेखि गँजडीसम्म र दूधेबालकदेखि जुँगामुठेसम्मलाई छोइसक्दा पनि नेताजीलाई छुन सकेको थिएन । आफ्ना समकालीन नेताहरू फेसबुक र ट्वीटरमा आक्रामक ढंगले सहभागी हुन थालेपछि नेताजीको चित्तले के मान्थ्यो ? फेरि नेताजी प्रतिस्पर्धामा अति नै विश्वास राख्ने मान्छे । स्कुलमा साथीहरूले पढाइमा जित्दा उनलाई हार स्विकार्न मुश्किल पथ्र्याे । रिजल्टमा जित्नेहरूले जीतको खुशी मनाउन पाउँदा नपाउँदै उनी जितौरेहरूलाई रामधुलाई दिन्थे र पछार्थे । पढेर साथीहरूले राम्रो रोजगारी र सम्मान पाएपछि नेताजीले आफ्नो हार हुँदैछ भन्ने महसुस गरे । साथीहरूले पढेर जितेपछि उनले पनि गरेर जित्ने संकल्प लिए र राजनीति सुरु गरे । सबैभन्दा बढी हार वा जीत झेल्नुपर्ने राजनीतिमा छिरेपछि त उनीसामु भयंकर अग्निपरीक्षाहरू आइपरे । तर, उनले कहिल्यै हार मानेन् । अथक मेहनतले जितेरै छाडेँ । मतमा विश्वास गर्ने प्रतिस्पर्धीलाई लात प्रयोग गरेर हराए । जनमा भर पर्ने सहकर्मीलाई डन लगाएर ङ्याके । परिश्रममा विश्वास राख्ने कार्यकतालाई कमिसनमा डुबाएर कारिन्दा बनाइराखे । भोटमा भर पर्नुपर्ने मतदातालाई नोटमा भर पर्ने बनाए र चुनाव जित्दै आए । यसरी उनले आजसम्म जित्दै आएका थिए ।
सामाजिक सञ्जालमार्फत आफूलाई पछि पार्न थालेका सहकर्मीलाई अन्य कुनै विकल्पबाट पछार्न सकिन्छ कि भनेर नेताजीले दुईचार दिन खूब सोचे । तर, यसको कुनै पृथक् समाधान निकाल्न सकेनन् । पढाइमा जित्ने साथीलाई गोदाइमार्फत हराएजस्तो सामाजिक सञ्जाल प्रयोग गर्ने समकालीन नेताहरूलाई हराउने अर्काे विकल्प सुल्झिएन ।
अन्त्यमा, नेताजीले बढो भारी मन लगाएर फेसबुक र ट्वीटर अकाउन्ट खोले । नेताजीको मन भारी बनाउने एउटै कारण थियो, सामाजिक सञ्जालको लेखापढी । सामाजिक सञ्जालको प्रतिस्पर्धामा उत्रन लेखापढी गर्नुपथ्र्याे । लेखापढी गर्न जानेको भए त नेताजी, नेताजीभन्दा पनि कुनै गाउँको मास्टरजी बन्थे । लेखापढी गर्न गाह्रो लाग्ने भएकाले नै उनले कलेज हापेर राजनीति सुरु गरेका थिए । उबेलै हापेको कर्म आज बाध्यतावश गर्नुपर्ने भएपछि मन ढुंगो नभएर कसरी फूलको थुंगो होस् ?
कलेज पढ्दै गरेकी कनिष्ठपुत्रीमार्फत नेताजीले सामाजिक सञ्जालको कखरा सुरु गरे र आफूलाई अभ्यस्त बनाउँदै लगे । सिकेपछि के जानिँदैन ? नेताजीले पनि फोटो र स्ट्याटस पोस्ट गर्न जाने । बिस्तारै सामाजिक सञ्जालको लतले उनलाई गाँज्दै लग्यो ।
पछिल्लो समय निर्वाचन घोषणापछि नेताजीहरूको सामाजिक सञ्जालको वाल भरिभराउ हुन थाले । चुनाव लक्षित चिन्तन, मनन, योजना, आरोप र गालीहरूले वालहरूमा उच्च स्थान पाउन थाले । नेताजी पनि किन पछि पर्थे ? उनले पनि समयको माग र आवश्यकताअनुसार नारा, विचार र तर्कसहित आफ्नो सहमति र विमति पोस्ट गर्न थाले ।
एक साँझ नेताजीलाई बडो साŒिवक विचारले गाँज्यो । लोकतन्त्र र राष्ट्रियतासँग सम्बन्धित विचारलाई उनले पोस्ट गरे । भजनमण्डलीहरूको कमेन्ट र लाइक बर्सिन थाल्यो । नेताजी प्रफुल्ल भए, आफ्नो आदर्श र चिन्तनले समर्थन पाएकोमा ।
एउटा जन्ड वालेले सहमति बर्सिरहेको वालमा विमति दर्ज गरायो । उसले लेख्यो– ‘सय मुसा खाएपछि बिरालो तीर्थयात्रामा निक्लन्छ भन्थे, हो रहेछ ।’
वालेको कमन्टले नेताजीलाई चसक्क भो । तर, उनले खासै अनर्थ मानेनन् । किनकि, बदनाम गर्नेभन्दा गुनगान गर्नेहरूको संख्या उच्च थियो । आखिर लोकतन्त्रमा कदर हुने भनेको बहुमतकै हो । बहुमत आफूसँग भएपछि सानो फरक मतको किन चिन्ता लिने ?
तर, वालेले गोरेटो खनिदिएपछि भकाभक मोटर बाटो निर्माण हुन थाल्यो । हेर्दाहेर्दै चिल्लो राजमार्ग नै निर्माण हुन थालेपछि नेताजी भयानक चिन्तामा परे ।
एउटा वालेले लेख्यो– ‘बिरालो तीर्थयात्रामा निक्लिएको होइन, ब्वाँसोले जपतप सुरु गरेको हो ।’ अर्काेले लगत्तै थप्यो– ‘हुँडाहरूको शाकाहारी रूप सुहाउँदो रहेनछ । हुँडारले मासु खाएकै राम्रो ।’ अर्काे झन् उग्र रूपमा प्रस्तुत भयो– ‘हुँडार होइन, अजिंगर भनौँ न साथी हो अजिंगर । स्कुल, पुल, बाटो र अस्पतालको भवन सर्लक्कै निलेर पचाउने अजिंगर ।’
नेताजीलाई खलखल पसिना आयो । केही क्षण त उनी प्रतिरक्षामा उत्रिए । तर, वालेहरूको चर्काे प्रहारसामु उनको केही लागेन । प्रतिरक्षामा उत्रिएपछि त नेताजीको जन्मकुण्डली नै वालेहरूले सार्वजनिक गर्न थाले ।   नेताजीको मुटुको धड्कन बढ्यो । सोचे– आज प्रेसरमा ठूलै गडबडी आउन सक्छ । उच्च रक्तचापको औषधिको थप मात्रा सेवन गरे । जिन्दगीमा कहिल्यै नफसेका, बरु फसाउन माहिर नेताजीलाई पहिलोपल्ट फसियो भन्ने महसुस भयो ।  
उनले कनिष्ठपुत्रीलाई बोलाए र भने, ‘छोरी, यो फेसबुक र ट्वीटर बन्द गर्नुप¥यो ।’
‘ड्याडीले के भनिस्या’ ?’ छोरी अलमलिएजस्ती भई ।
‘फेसबुक र ट्वीटर बन्द गर्देऊ भनेको ।’
‘डिएक्टिभेट गर्ने भनिस्या ?’ छोरीले आश्चर्य मान्दै भनी, ‘किन नि ? त्यत्रो फलोअर भएको अकाउन्ट किन बन्द गर्ने ?’
‘तिमी कुरो बुझ्दिनौ । छिटो बन्द गर्देऊ ।’
छोरीले अकाउन्ट डिएक्टिभेट गरिदिई ।
नेताले लामो श्वास तान्दै सोचे– राजनीतिको त्यत्रो पर्खाल उक्लिएको मानिसलाई जाबो सामाजिक सञ्जालको पर्खालले हत्तु बनायो । यो पर्खाल त हुनुसम्म जब्बर रहेछ, गाँठे !

 

Leave A Comment