दहीकै भरमा जिन्दगी

आइतबार, २२ फागुन २०७३, १२ : ५० शुक्रवार , Kathmandu
दहीकै भरमा जिन्दगी

–रचना श्रेष्ठ
‘ल आउनुुस् खानुस् जुजुधौ । भक्तपुरको मीठो–मीठो जुजुधौ ।’
यो सुरिलो भाका हाल्दै खर्पनमा जुजुधौ बोकी आफ्नो घरबाट निस्कन्छन्, ५५ वर्षीय तीर्थबहादुर चक्रधर । उनी भक्तपुर, सुकुलढोकामा बस्छन् । दिनहुँ आफ्नो निवासबाट खर्पनमा दही बोकेर हिँड्दैहिँड्दै उनी सानोठिमी पुग्छन् । उनले सधैँजसो दही बेच्ने गरेको ठाउँ हो, सानोठिमी । ‘कति त बाटोमा आउँदाआउँदै बिक्छन्,’ उनी भन्छन्, ‘बाँकी सानोठिमीमा खर्पन बिसाउँछु र त्यहीँ बेच्छु ।’
सानोठिमीसम्म पुग्न छिटो हिँडे एकदेखि डेढ घण्टा नत्र दुई÷तीन घण्टा लाग्ने उनी बताउँछन् । ‘थकाइ लाग्छ । चर्केको घाममा हिँड्नुपर्छ । खलखल पसिना चुहिन्छ । खर्पन बिसाउँदैबिसाउँदै बाटोमा थकाइ मार्दै बल्लतल्ल ल्याइपु¥याउँछु,’ उनी भन्छन् ।
काठको डन्डी, डोरी र बाँसबाट बनेको छ उनको खर्पन । जसमा उनले पानीको बोटल, सानो बोर्ड र १० वटा नाङ्लाभरि माटाका सानो कचौरामा दही, कार्टुन, बोरा, प्लास्टिक, काठको चम्चा यी सबै सामान अटाएका छन् ।
बाबुबाजेदेखिको गरिखाने भाँडो नै दही भएको उनी बताउँछन् ।  उनले पनि यसै कामलाई निरन्तरता दिएका छन् । ‘बाबुबाजेदेखि गर्दै आएको काम दुई छाक हातमुख जोड्ने बाटो भएको छ,’ उनी भन्छन् । दुई दशकदेखि उनी यस काममा सक्रिय छन् । ‘मैले जुजुधौ यसरी बाटामै बसेर बेच्न थालेको ठ्याक्कै २० वर्षजति भयो । सानै उमेरदेखि बेच्न थालेको हुँ,’ उनी भन्छन्, ‘यसै कामबाट परिवारको पेट भरेको छु । छोराछोरीलाई पनि दही बेचेरै एक–एक पैसा जोहो गरी पढाउँदै छु । छोरीले एसएलसी दिई, छोरो चाहिँ डाक्टर पढ्दैछ ।’
सानै उमेरमा काम सुरु गरेकाले खर्पन बोक्दा सुरुमा गाह्रो भएको चक्रधर सुनाउँछन् । ‘काँधमा बाँसको नोल राखेर अड्याउनुपर्ने । शरीरको वजनभन्दा भारी हुन्छ यो । दुईतिर मालसामान राखी सन्तुलन मिलाएर बोक्नुपर्छ । साह्रै गाह्रो हुन्थ्यो,’ उनी भन्छन्, ‘यस्तो काँध दुख्थ्यो कि कसैले छोए पनि थचक्क बस्थेँ । दुखेर निद्रै पर्दैनथ्यो त्यतिबेला ।’ आफूले एक कक्षा पनि नपढेको चक्रधर बताउँछन् । ‘एक कक्षा पनि नपढेको मान्छे यति पनि दुःख नगरे के खाने, के लगाउने ?’ उनी भन्छन् ।   
प्रायः उनले सानोठिमीस्थित सरकारी कार्यालयको वरिपरि रहेका रूखमुनि ओत लिएका हुन्छन् । ‘कोही कामको सिलसिलामा त कोही घुमघाम गर्न यतातिर आउँछन् । मानिसहरूको निकै चहलपहल हुने गर्छ यहाँ,’ उनी भन्छन्, ‘नजिकै क्याम्पस पनि भएकाले कलेजका विद्यार्थीको हुल नै आएर जुजुधौको खान्छन् ।’ तर, यति नै व्यापार हुन्छ भन्ने अड्कल चाहिँ छैन उनलाई । ‘कहिले चार हजारसम्म कमाइन्छ त कहिले पाँच सयको बिक्न पनि गाह्रो हुन्छ,’ उनी भन्छन्, ‘एक कचौरा दही ३० रुपयाँमा बेच्छु । कहिलेकाहीँ त ४० जना ओहोरदोहोर गर्दा पनि एक कचौरा बिकाउन मुस्किल हुन्छ ।’
बस्नका लागि कुर्सी छैन । दिनभरि उठेरै व्यापार गर्छन्, चक्रधर । मान्छे उनको छेउबाट गुज्रिँदा ‘आउनुस् खानुस् जुजुधौ’ भन्दै कराउन थाल्छन् । ‘चुप लागेर बसे त कोही पनि आउँदैनन् । कराउनैपर्छ । न बोली व्यापार नै हुँदैन,’ उनी भन्छन्, ‘नबोले त कसैले फर्केर नि हेर्दैनन् ।’ धेरै करायो भनेर कतिपयले आफूलाई गालीसमेत गर्ने गरेको उनी बताउँछन् ।
चक्रधरले तीनटा भैँसी पालेका छन् । आफैँेले जुजुधौ तयार पार्ने उनी बताउँछन् । ‘श्रीमतीले भैँसीको स्याहार गर्छिन्, जुजुधौ बनाउन मद्दत गर्छिन्,’ जुजुधौ बनाउने तरिका बताउँदै उनी भन्छिन्, ‘जुजुधौ बनाउन निकै समय लाग्छ । दूधलाई  निकै बेरसम्म उमाल्नुपर्छ । अनि, खुवाजस्तै बनाउनुपर्छ । त्यसपछि भुसमा माटाको भाँडा राख्ने । उमालेको दूधलाई भाँडामा हाल्ने । अलि–अलि नरिवल छर्ने । माथिबाट सिरक, डस्ना, बोराले केही घण्टा छोप्नुपर्छ । यसरी रातमा जुजुधौ बनाइयो भने भोलिपल्ट ११ बजेतिर बेच्न ल्याउँछु ।’

Leave A Comment